सोमबारको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

सोमबारको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ७, २०७९

सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरेका हुन् । यसको पहिलो नम्बरमा अमेरिकाको एसपीपी अघि नबढाउने, सबै सरकारी निकायहरूले कूटनीतिक पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने, सहसचिव विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय उल्लेख छ ।

यस्तै, जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरी जाँचबुझ अघि बढाउने, कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।