शेयर जारी नगरेका बीमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने

शेयर जारी नगरेका बीमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ७, २०७९

सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ । 

यसमा सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरी नसकेका इजाजतपत्र प्राप्त बीमकहरू  एकआपसमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ । तर, मर्जरमा गएका बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित  बीमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै, बीमा समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर, उक्त कम्पनीहरू मर्जरमा गएपछि बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिएबमोजिम कायम गर्नुपर्ने व्यवस्था छ । 

मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरूले गाभ्ने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बीमा समितिको स्वीकृति नलिई आफूखुसी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ ।