१५ असारदेखि हिमालयन हाइड्रोपावरको आईपीओ खुल्ने

१५ असारदेखि हिमालयन हाइड्रोपावरको आईपीओ खुल्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ७, २०७९

हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । 

उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्नेछ । यसमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूले र बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा १९ असारसम्म आवेदन दिन सकिने र सो अवधिमा सबै शेयर बिक्री नभएमा २९ असारसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । यो आईपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्युअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।