शिष्टताको बाटो बिराउँदै लोकगीत

शिष्टताको बाटो बिराउँदै लोकगीत

यमबहादुर दुरा  |  लोकरञ्जन  |  जेठ १०, २०७६

लोकगीत मानव अभिव्यक्तिको एउटा सुन्दरतम् माध्यम हो । असली लोकगीतको शब्द, लय र भावमा सुन्दरताको भुमरी भेटिन्छन् । यहीँनेर लोकगीतको सुन्दरता र भव्यता छ ।  लोकगीतले दिने यस किसिमको सौन्दर्यात्मक आनन्द (Aesthetic joy) का कारण आम नागरिक लोकगीतप्रति आकर्षित हुन्छन् । 

लोकगीतको परम्परागत प्रवृत्तिलाई हेर्ने हो भने शिष्टता, मर्यादा र विनयशीलताकको खानी हो । ‘मै गीत गाउँ कि सुनखानीमा पितलु मिसाऊँ कि’, ‘म त हजुर डढेलोको ठुटोजस्तो, मेरो माया पुर्नेको जूनजस्तो’ । यी त्यस्ता लोकगीतका त्यस्ता हरफ हुन्, जसमा शिष्टता, मर्यादा र विनयशीलता छचल्किन्छन् । नेपाली लोकगीतको मूल प्रवृत्ति यही हो ।  

तर, समयको यो विन्दुमा आइपुग्दा नेपाली लोकगीतको स्वभावमा धेरै परिवर्तन आएको छ । विगतमा मूलतः आत्मिक सुख र आनन्दको सुन्दर माध्यम बनेको लोकगीत अहिले व्यापारिक वस्तु बन्न थालिसकेको छ । यससँगै लोकगीतमा शिष्टता, मर्यादा र विनयशीलता क्षयीकरण हुँदै गएको बहुसङ्ख्यक लोकगीत अनुरागीहरूले अनुभूत गर्दै आएका छन् । 

दोहोरीगीतको शैली हेर्दा सीधै जोरी खोज्ने, सोभैm लान्छु–लैजान्छु भन्ने, सीधै दागा धर्ने, खसालेर बोल्ने, अश्लील र अशिष्ट शब्दावली प्रयोग गर्नेजस्ता प्रवृत्तिको बाढी देखिन्छ । यसबाट सामाजिक शिष्टता, मर्यादा र विनयशीलतामा क्षयीकरण भइरहेको छ ।

यति बेला, नेपाली लोकगीत प्रश्नहरूको घेरमा छ । लोकगीत प्रश्नहरूको घेराबन्दीमा रहेको बेला यसबारे विभिन्न टीका–टिप्पणी हुन थालेका छन् : लोकगीत विकृतिग्रस्त हुन थाल्यो, लोकगीतमा अश्लीलता बढ्न थाल्यो, लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो, लोकगीतले बाटो बिरायो, आदि ।

यद्यपि, नेपाली लोकगीत हिजोको आजै विकृतिग्रस्त बनेको भने पक्कै होइन । लोकगीतको मुहान विगतदेखि नै विकृत बन्दै आएको देखिन्छ । देशको राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालबाट बज्ने लोकगीतहरूलाई दृष्टान्तका रूपमा लिन सकिन्छ । रेडियो नेपालले एकतिर देशको कुना–कन्दरामा प्रचलित मौलिक लोकभाकाहरूलाई उजागर गर्ने गर्‍यो भने अर्कोतिर सुन्न असहज लाग्ने गीतहरू लोकगीतका नाममा प्रसारण गर्ने काम पनि गर्‍यो । 

यसभन्दा अघिका कालखण्डहरूलाई हेर्ने हो भने लोकगीतमा उतारचढाव आएका छन् । सन् १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिबाट नेपालको राष्ट्रिय स्वाभिमानमा ठुलो चोट लाग्यो । त्यसपछि लोककविहरूको रचनाकारिता भक्तिमार्गतिर मोडिएको देखिन्छ । 

राणाकालमा चेतनाका गीत र कवितामा प्रतिबन्ध लागेपछि त्यस समयका रचनाहरू श्रङ्गारिक धारतिर प्रवाहित भएको देखिन्छ । यद्यपि, सबै श्रङ्गारिक गीत वा रचनाहरू विकृतिग्रस्त हुन्छन् भन्ने कदापि होइन । 
अहिलेको सूचना क्रान्तिको युगमा दुनियाँले धेरै ठुलो फड्को मारेको छ । मानिसका अभिव्यक्ति शैली र प्रवृत्तिहरूमा व्यापक परिवर्तन आएको छ । अहिलेका दोहोरी गीत र लोकगीतसम्बन्धी म्युजिक भिडियोहरूमा प्रदर्शित अभिव्यक्ति शैलीमा भयानक परिवर्तन आएको छ । 

अहिलेका दोहोरीगीतको शैली हेर्दा सिधै जोरी खोज्ने, सोझै लान्छु–लैजान्छु भन्ने, सिधै दागा धर्ने, खसालेर बोल्ने, अश्लील र अशिष्ट शब्दावली प्रयोग गर्नेजस्ता प्रवृत्तिको बाढी देखिन्छ । यसबाट सामाजिक शिष्टता, मर्यादा र विनयशीलतामा क्षयीकरण भइरहेको छ । 

यसका पछाडि विभिन्न कारक तत्त्वहरू छन् । विश्वव्यापीकरणको लहरसँगै आएको खुलापनले यस्तो प्रवृत्तिलाई थप बल दिएको छ । त्यसमा पनि, हरेक कुरालाई बिकाऊ वस्तु (कमोडिटी गुड्स) को रूपमा बेच्ने पुँजीवादी परिपाटीले लोकगीतलाई पनि बिकाऊ वस्तुकै रूपमा देख्छ । सोही अनुसारको व्यवहार भइरहेको छ । 

सहरमा खुलेका दोहोरी रेष्टुरेष्टले ग्राहक पल्काउन सस्तो मायाप्रेमका गीतलाई प्राथमिकता दिएका छन् । विभिन्न महोत्सवमा हुने दोहोरी गीत पनि विकृतिको स्रोत बनेको छ, जहाँ कलाकारहरूले भीडलाई तताउन र उत्तेजित पार्न सोही अनुसारका गीत गाउँछन् । यसबाट पनि लोकगीतको शिष्टता र मर्यादामा धक्का पुगेको छ । 

यहाँनेर, फ्रयाक्फर्ट स्कुलका थिङ्क ट्याङ्क थियो डोर अडोर्नो (सन् १९०३–१९६९) र म्याक्स होर्खामर (सन् १८९५–१९७३) ले ‘कल्चर इन्डष्ट्री’ शब्दावली प्रयोग गरेर हाम्रा सांस्कृतिक अवयवहरू कसरी व्यापारिक वस्तु बन्दैछन् भन्ने सम्बन्धमा दिएका व्याख्यान सान्दर्भिक हुन आउँछ । 

हाम्रा सांस्कृतिक अवयवहरू व्यापारिक वस्तु बनेका छन् र आमसञ्चार माध्यम त्यसलाई  अझ फराकिलो घेरामा विस्तार गर्नमा सहयोगी भूमिका खेलेका छन् भन्ने उनीहरूको निष्कर्ष छ ।

अहिले हाम्रा लोकगीतहरू पनि निर्धक्क किसिमले व्यापारिक वस्तु बनिसकेका छन् । व्यापारको नियम नै हो—जसो गर्दा ती व्यापारिक वस्तु बिक्छन्, सोही अनुकूलका ट्रिक अपनाएर वस्तु बेचिन्छ । 
संस्कृतिलाई वस्तुको रूपमा हेर्ने बेच्ने काम भइरहेको छ । लोकगीतको अनुहारमा औद्योगिक पुँजीवादको प्रतिविम्ब देखिन थालेको छ  ।

परम्परागत रूपमा सिधा घोचपेच, अश्लील शब्द र अशिष्ट व्यवहार लोकगीतमा उचित मानिँदैनथ्यो । तर, अहिले त्यही भएको छ । यसले लोकगीतको मर्ममाथि सिधा प्रहार गरेको छ । 

विष्णुनारायण भात खण्डे (सन् १८६०–१९३६), पण्डित विष्णु दिगम्बर पलुस्कर (सन् १८७२–१८३१) जस्ता चर्चित भारतीय सङ्गीतज्ञ भारतको साङ्गीतिक परम्पराको गहिरो अध्ययन गरे । उनीहरूले भारतको विभिन्न भागको भ्रमण गरी आ–आफ्नै ढङ्गले लोकगीतका विभिन्न पक्षको अध्ययन गरे ।

उनीहरूले के पाए भने उच्चघरानाका मानिसहरूले लोकगीतका कलाकारसँग दूरी राख्थे । उनीहरूले आफ्ना छोराछोरीलाई लोकसङ्गीत सिक्न पनि दिँदैनथे ।

उनीहरूले लोकगीतसँग जोडिएको एउटा रोचक तथ्य फेला पारे । उनीहरूले के पाए भने उच्चघरानाका मानिसहरूले लोकगीतका कलाकारसँग दुरी राख्थे । उनीहरूले आफ्ना छोराछोरीलाई लोक सङ्गीत सिक्न पनि दिँदैनथे ।

यसो हुनुको कारण थियो, तत्कालीन समयमा लोकगीतमा व्यक्त भएका सस्तो मायाप्रेमका प्रसङ्ग र अश्लील गीतहरू । त्यसपछि ती अध्येताको ध्यान लोकगीतका विकृतिहरू मेट्नतिर केन्द्रित भयो ।

हाम्रा सांस्कृतिक पहिचानको रूपमा रहेको लोकगीतले पनि प्रत्यक्ष वा परोक्ष रूपमा यस्तै नियति भोगिरहेको छ । लोकगीतलाई व्यापारिक वस्तु बन्न दिनुहुन्न भन्न सकिने अवस्था छैन । 

यद्यपि, यसमा अधिकतम शिष्टता र मर्यादा कायम गर्नतिर ध्यान दिनै पर्छ । यसो गर्दा लोकगीत र सङ्गीत उद्योग दुवैका लागि हित कर हुनेमा द्विविधा छैन ।