तराजुदेखि घन्टसम्मको हुटहुटी: दलहरुको असन्तुष्टि उरालेर देश चालाउने 'दिवास्वप्न'

लोकसंवाद टिप्पणी

तराजुदेखि घन्टसम्मको हुटहुटी: दलहरुको असन्तुष्टि उरालेर देश चालाउने 'दिवास्वप्न'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ८, २०७९

टेलिभिजनका पर्दामा प्रस्तोताका रुपमा प्रश्नको बर्षा गरेर चर्चा कमाएका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्न पुगे । रविले पार्टी घोषणा गरेलगत्तै दुई वटा प्रश्न सामाजिक सञ्जालमा प्रश्न र आलोचनाका रुपमा आइरहेका छन् । 

पहिलो, राजनीतिले 'स्वतन्त्र' लाई पनि स्वतन्त्र हुन दिने रहेन छ ?
दोस्रो, देश बनाउने 'रिजन'ले हैन 'भिजन'ले हो ? 

हो, साँच्चै जब देशको राजनीतिले सही दिशा समात्न सक्दैन तब विभिन्न गैरराजनीतिक व्यक्तिहरु राजनीतिक धारमा समय समयमा देखा पर्ने गर्छन् । नेपालमा लामो समयदेखि राजनीतिक दलहरुलाई जनताले जिताए पनि सधैं पुरानै ढर्रा, पार्टीहरुले आफ्ना आफन्त र कार्यकर्ताको भरण पोषण, भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण, बेथितिको डंगुर थुप्रिँदै गएको  भनेर सर्वत्र आलोचना हुने गरेको पूर्णतया वेवास्ता गर्दै आएका छन् । 

यही अवस्थालाई मौकाका रुपमा प्रयोग गर्दै काठमाडौँ महानगरपालिकाको मेयरमा यसपटक बालेन साह विजयी भए भने धरान र धनगढीजस्ता सहरमा समेत स्वतन्त्र उम्मेदवारले बाजी मार्न सफल भइसकेका छन् । यो देखेर यतिबेला स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रमको बढी नै आएको छ । तर स्वतन्त्र उम्मेदवारी घोषणा भइरहँदा मंगलबारबाट भने ‘कुन पार्टीको स्वतन्त्र ?’ भन्ने अवस्था सिर्जना हुन पुगेको छ । 

किनकि रवि लामिछानेले घोषणा गरेको राजनीतिक दलको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । अब भने मानिसहरुलाई स्वतन्त्र पार्टीको कि पार्टी बाहिरको स्वतन्त्र भन्ने दिनको प्रारम्भ भएको छ । केही मान्छेहरु यहाँ पार्टी बनाएर स्वतन्त्र बन्ने भए भने केही मान्छेहरु स्वतन्त्र बन्न पार्टी छाड्दैछन् । 

अर्को प्रमुख कुरा भनेको देश 'रिजन' ले हैन 'भिजन' ले चल्छ भन्ने हो । देश 'भिजन' अनुसार नचल्ने हो भने देशको गन्तव्यमा  नचल्ने निश्चित छ  । त्यसैले कसैले देश चलाउँछु भन्छ भने त्यो त्यसमा अब १ वर्षमा कहाँ पुर्‍याउने ?,  ५ वर्षमा कहाँ र १० वर्षमा कहाँ लैजाने भन्ने सामान्य जानकारी राख्नु पर्ने हुन्छ । देशलाई गति दिनेको लागि   दिशा र राजनीतिक 'भिजन' अनिवार्य शर्त मानिन्छ । तर रविको पार्टी  घोषणा सभामा  'पार्टीको राजनीतिक भिजन'  प्रष्ट गर्न नसकेको भनि आलोचना सुरु भइसकेको छ । 


लामिछानेले २१ सदस्यसहितको पार्टी दर्ता प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले चुनाव चिन्ह घन्टी पनि सार्वजनिक गरेका छन् । ‘अब भ्रष्टहरूको दिमागमा 'घण्टी' बजाउँछौँ । यो सुशासनको घण्टी हो । भ्रष्टहरूका लागि एउटा 'जनाऊ घण्टी' हो । अर्को विकास र सुशासनको यात्राको घण्टी हो । सुरुवात हो’ निर्वाचन चिन्ह सार्वजनिक गर्दै उनले भने । देशभरबाट समानुपातिक भोटका लागि पार्टी घोषणा गर्न समेत जनाउ दिएर 'समानुपातिक भोट' काे बलमा शक्तिमा उदाउने लक्ष्य राखेको संकेत गरेका छन् । 

‘यो आम निर्वाचन हो । हामी बहुदलीय व्यवस्थामा छौँ । लोकतान्त्रिक व्यवस्थामा छौँ । स्वतन्त्र रुपमा उम्मेदवार हुनेलाई मेरो असाध्यै सम्मान छ । कहीँ न कहीँ, कसै न कसैले युद्ध छेड्नु पर्थ्यो । तपाईंले छोड्नु भएको युद्धमा मेरो साथ छ । समर्थन छ ।’

उनले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, ‘राइट टु रिकल एन्ड राइट टु रिजेक्ट’ को व्यवस्था, डिजिटल डेमोक्रेसीको अभ्यास, पार्टीमा परिवारवाद निषेध गर्ने तथा पार्टीलाई भ्रातृ संगठन र कार्यकर्ता रहित बनाउने घोषणा गरे । 

लामिछानेले आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता रहेको बताएका छन् । उनले आम निर्वाचनका लागि पार्टीभित्र ‘प्रारम्भिक निर्वाचन’ गरेर उम्मेदवार छनौट गरिने, कसैको चाकडी गरेको भरमा कुनै पनि उम्मेदवारले टिकट नपाउने बताए ।

उनले भने, ‘हामी प्रारम्भिक निर्वाचन अर्थात प्राइमरी गर्नेछौं । अर्थात तपाईंले कसलाई आम निर्वाचनमा उठाउने हो भन्ने कुरा सदस्यहरुले पार्टीभित्र प्रारम्भिक चुनाव गरेर चुन्ने छन् । तल्लो तहको सदस्यता लिएको मान्छेको भोट नलिएर कोही नेता हुन पाउँदैन ।’

उनले आफ्नो पार्टी युवाको पार्टी बन्ने र ५० प्रतिशत प्लस १ युवा अनिवार्य रहने बताए । 

उनले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, ‘राइट टु रिकल एन्ड राइट टु रिजेक्ट’ को व्यवस्था, डिजिटल डेमोक्रेसीको अभ्यास, पार्टीमा परिवारवाद निषेध गर्ने तथा पार्टीलाई भ्रातृ संगठन र कार्यकर्ता रहित बनाउने घोषणा गरे । 

आफ्नो पार्टीका यी विशेषता बताइरहँदा यी सबै कुरा वर्तमान राजनीतिक व्यवस्थाका कारण सिर्जित विसंगति सम्बन्धित छन् । अर्थात यि कुरा देशको राजनीतिक दुर्गन्धित भएको परिणाम र कारक तत्व मात्र हुन् । 

राजनीतिको वर्तमान अवस्थाबारे लामो असन्तुष्टिका स्वर उठाएका लामिछानेले देशको व्यवस्थासँग सम्बन्धित विषयमा भने एक शब्द पनि उच्चारण गरेनन् । सबैको चासोका रुपमा रहेको संघीयता, धर्मनिरपेक्षता, राजतन्त्र र गणतन्त्रजस्ता विषयमा उनका कुनै विषय बाहिर आएनन् ।

यसकारण उनले राजनीतिक व्यवस्थालाई प्रभाव पार्ने 'भिजन' सँग सम्बन्धित विषयलाई 'चुु' सम्म बोलेका छैनन् । जुन विषयमा नेपाली नागरिक बैकल्पिक धारणा सुन्न चाहन्थे । रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' पार्टीलाई बैकल्पिक शक्ति निर्माण गर्दै रबिन्द्र मिश्रले खेलेको सुरुमा 'साझा' पछि  बनेको विवेकशील साझा पार्टीको दोस्रो  सँस्करणका रुपमा तुलना गरेर हेर्न थालिएको छ।  जुन  पार्टी  गणतन्त्र र सुशासनको  नारा लिएर राजतन्त्र चाहिन्छ भन्ने अवस्थामा पुगेर घिटीघिटी चलेको दलका रुपमा रहेको छ । 

उनले राजनीति गर्नेहरुले राजनीतिलाई गिजोलेर राजनीति सर्वसाधारणको पहुँचको विषय नै नभएको जस्तो बनाएको समेत बताए । इमान भएको हरेक नागरिकले राजनीति गर्न सक्ने लामिछानेको तर्क छ ।  

‘राजनीति राजनीति जसरी नै गर्नुपर्ने हुन्छ । राजनीति पत्रकारिताजस्तो नहुने रहेछ, राजनीति समाजसेवाजस्तो नहुने रहेछ,’ उनले थपे, ‘राजनीतिलाई यति धेरै राजनीति गरेर गिजोलियो कि तपाईं हामी जस्ता सर्वसाधारणको त यो पहुँचको विषय नै होइन भनेर अचम्मको बनाइयो। त्यसो होइन, राजनीति इमान भएको हर कोहीले गर्न सक्छ ।’

स्वतन्त्र उम्मेदवारको जितपछि राजनीतिमा आउन स्वतन्त्र व्यक्तिहरुको आकर्षण त बढेको छ । रवि पनि त्यही स्वतन्त्रको भीडमा मिसिन त पुगे तर उनी 'स्वतन्त्र'  रहेनन् 'राष्ट्रिय स्वतन्त्र पार्टी' काे अध्यक्षका रुपमा प्रस्तुत गरे आफूलाई । दलहरु प्रतिको असन्तुष्टि उरालेर मात्र राजनीति नेतृत्व गर्छु र देश चलाउँछु भन्ने सपना देख्न त पाइन्छ तर व्यवहारत 'सम्भव'  देखिदैन ।तर उनले भनेजस्तै देशको राजनीतिलाई नै नयाँ दिशा दिने 'दिवास्वप्न'  कतै 'दिवास्वप्न' मा मात्र हुने त होइन केही समय कुर्नु पर्ने हुन्छ ।