सैद्धान्तिक लेपनमा धनवादको भोक: मक्किएको माओवादी उक्किँदै, भाँचिँदै, खिइँदै

लोकसंवाद टिप्पणी

सैद्धान्तिक लेपनमा धनवादको भोक: मक्किएको माओवादी उक्किँदै, भाँचिँदै, खिइँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०७९

माओवादी पार्टी ‘बन्दुकले टिकेको राज्य सत्ता बन्दुकले नै ढाल्ने’ भन्दै १० वर्षसम्म युद्धमा होमियो । तर जब २०६२/०६३ को जनआन्दोलन सम्पन्न भएर माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण भयो, त्यसपछि सबैभन्दा बढी टुटफुट र विभाजनको शिकार बन्न पुग्यो । 

 माओवादीमा आफूभन्दा अरु कसैलाई पनि क्रान्तिकारी र प्रगतिशील नदेख्ने यस्तो रोग लाग्यो कि जसबाट माओवादी एकढिक्का बन्नै सकेन । युद्धमा सत्तासँग लड्दा, अभावमा बाँच्दा, ज्यानलाई नै हत्केलामा राख्दा समेत एकढिक्का भएका माओवादीहरु शान्तिपूर्ण राजनीतिले छरपस्ट बन्न पुगे । 

एकपछि अर्को विभाजनको शृङ्खला भोग्दै आएको माओवादीमा पछिल्लो समयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चोइटिदै गएको छ । स्थानीय तहको निर्वाचन अघिमात्रै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा विभाजित बनेको विप्लप नेकपाबाट ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । गत बैशाखमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीसहितका नेताहरुले विप्लव नेकपाबाट विद्रोह गरी नेकपा (बहुमत) बनाएका थिए । त्यसको एक दुई महिनामै ओमप्रकाश पुनसहितका नेताहरु अलग्गिएका हुन् । 

मोहन वैद्य नेतृत्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बाट २०७१ मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरी सुरुमा नेकपा (माओवादी) गठन गरेका थिए । सो पार्टीको महाधिवेशनमा नाम परिवर्तन गरी नेकपा राखिएको हो । यही नेकपा सशस्त्र क्रान्ति गर्ने बताउँदै हिंसात्मक क्रियाकलाप गरेपछि २०७४ फागुन २८ गते प्रतिबन्धमा परेको थियो । सो क्रममा नेकपाका केही कार्यकर्ताले ज्यान समेत गुमाएका थिए ।

माओवादी पार्टीहरु एक नहुँदा यो आन्दोलन विस्तारै कमजोर त बनेकै  छ । यो आन्दोलनको सबैभन्दा ठूलो धारा माओवादी केन्द्र समेत कमजोर र झन कमजोर  बन्दै गइरहेको छ । शान्ति प्रक्रियासँगै मक्किन थालेको माओवादी निरन्तर उक्किँदै र भाँचिँदै कमजोर बन्ने दिशामा गइरहेको छ ।

तर गत वर्ष नै विप्लव नेकपाले सरकारसँग सहमति गरी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको हो । सोही समयमा नै एउटा समूह विप्लव पार्टीबाट अलग भएको थियो । त्यसपछि धर्मेन्द्र बास्तोला र हेमन्त ओलीको समूह अलग भयो । २०७१ मा ठूलो संख्यामा नेता कार्यकर्ताहरु लिएर अलग भएका विप्लव माओवादीका धेरै नेताहरु प्रतिबन्धित काल र त्यसअघि देखि नै अलग हुँदै प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्ने लहर चलेको थियो ।

सो पार्टीको राजनीतिक कार्यदिशा, राजनीतिक गतिविधि, आर्थिक अनियमितता र विद्रोही समूहको आगामी यात्रा कसरी अघि बढाउने भन्ने विषयमा मतान्तर राख्दै विप्लवको पार्टी छाड्नेहरू धेरै छन् । अब यो क्रममा ओमप्रकाश पुनसहितका नेताहरु समेत जोडिएका छन् । 

किन हुन्छ माओवादीमा विद्रोह ?  

माओवादी विद्रोहको जगमा खडा भएको पार्टी हो  । माओवादीको विभाजनमा हरेक पटक राजनीतिक, सैद्धान्तिक मतभेद, पार्टीको लाइन र कार्यदिशाजस्ता कुरा प्रमुख रुपमा आउने गरेका छन् । तर यी कुरा माओवादी विभाजनका सैद्धान्तिक लेपन मात्रै हुन् । माओवादीमा सबैभन्दा बढी शक्ति आर्जन गर्ने भोक र क्रान्ति भनेर दौडिँदा दौडिँदै सिर्जना हुने  पैसा आर्जन गर्ने लालचा नै मुख्य कारक रहेको छ ।

प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरी नेकपा–माओवादी गठन गर्दा मोहन वैद्य किरणले प्रचण्ड संशोधन वाद र संसद वादमा फसेको आरोप लगाए । उनले क्रान्तिलाई अघि बढाउने भन्दै पार्टी विभाजन गरे पनि अहिलेसम्म आन्दोलनलाई नै बिलखबन्दमा पारेका छन् ।

वैद्यले भने पार्टीलाई एकढिक्का पारेर क्रान्ति गर्न सकेनन् । २०७१ मा नै विप्लवले नयाँ पार्टी खोले भने २०७३ मा रामबहादुर थापासहितका नेताहरु पुनः माओवादी केन्द्रमा फर्किए । त्यसपछि २०७५ मा एमाले र माओवादी एकतापछि माओवादीको ठूलो हिस्सा एमालेमा नै बस्यो । सो क्रममा बादल समेत एमालेमै बसेका छन् । 

२०७३ मा प्रचण्डले माओवादीका विभिन्न १९ वटा समूहसँग एकता गरेका थिए । त्यसपछि विप्लव नेतृत्वको नेकपा निरन्तर रुपमा चोइटिँदै गएको छ । सो पार्टीबाट साना ठूला विभाजनहरू लगातार भइरहँदा यी विभाजनमा सैद्धान्तिक वैचारिक भन्दा पनि पद, प्रतिष्ठा आर्जनजस्ता कुराहरु प्रमुख रुपमा रहने गरेका छन् । 

पछिल्लो समयमा विभाजन भएको ओमप्रकाश पुन नेतृत्वको समूह भने माओवादी केन्द्रमा मिसिने गरी विप्लव नेकपाबाट अलग भएको हो । उनीहरुले माओवादी आन्दोलनको एकताका लागि पार्टी छाडेको बताएका छन् । उनले आफूहरु माओवादी केन्द्रसँग छलफलमा रहेको समेत बताएका छन् । 

माओवादी पार्टीमा सैद्धान्तिक मतभेद भन्दा बढी धन कमाउने लालसा र राजनीतिक वैचारिक स्खलनकै कारण विभाजन आउने गरेको छ । पार्टीमा भएर वा नभएर सम्पत्ति आर्जन गर्ने लोभ, माओवादी पार्टीका नेताहरुमा रहेको विलासी जीवनजस्ता कारणले पार्टी विभाजित हुने गरेको छ । 

माओवादी पार्टीहरु एक नहुँदा यो आन्दोलन विस्तारै कमजोर त बनेकै  छ । यो आन्दोलनको सबैभन्दा ठूलो धारा माओवादी केन्द्र समेत कमजोर र झन कमजोर  बन्दै गइरहेको छ । शान्ति प्रक्रियासँगै मक्किन थालेको माओवादी निरन्तर उक्किँदै र भाँचिँदै कमजोर बन्ने दिशामा गइरहेको छ ।

यसको पछिल्लो शृङ्खमा  विप्लव नेकपाबाट नेताहरु अलग भएका छन् । तर जति नेताहरु अलग भए पनि राजनीतिक वैचारिक मतभेदकै विषय राखे पनि माओवादी आन्दोलनलाई समग्रतामा एकजुट बनाउने अभियान भने चल्न सकेको छैन । माओवादी पार्टीमा आएको विभाजनसँगै आन्दोलनका उपलब्धी समेत धुमिल बन्दै जाने कुरामा भने स्वयं माओवादी नेताहरु स्विकार गरे पनि आवश्यक पहलकदमी लिने कुरामा भने खासै ध्यान भने गइरहेको छैन ।