साढे सात करोड नक्कली भारुसहित युनुस अन्सारीको समूह पक्राउ

साढे सात करोड  नक्कली भारुसहित युनुस अन्सारीको समूह पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७६

काठमाडाैं । नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो । 

बरामद नक्कली भारु सुटकेसमा राखेर कतार हुँदै नेपाल भित्र्याइएको हो । भारत सरकारले पुराना नोट हटाएर पाँच सय र दुई हजार दरका नयाँ नोटको प्रयोग सुरु गरेपछि नेपालमा भारु तस्करी रोकिएको थियो । तीन वर्षपछि नेपालमा नक्कली भारु बरामद भएको हो ।

‘नक्कली नोट लिन गएका युनुस अन्सारीसहित तीनजनालाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेका हौँ,’ महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापा क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानी र युनुसबीच कुराकानी भएको प्राविधिक अनुसन्धानबाट समेत देखिन्छ ।’ पक्राउ पर्ने पाकिस्तानीमा मोहम्मद अख्तर, नदिना अनवार र नासिर उद्दिन छन् । उनीहरू दुई दिनअघि मात्र पाकिस्तानबाट कतार गएका थिए ।