असुरक्षित रोजगार गन्तव्य: मृत्युको जोखिममा नेपाली, छैन चासो सरकारलाई

सरकारी तथ्यांकअनुरूप हरेक वर्ष आन्तरिक श्रम बजारमा ५ लाख युवाहरू आउने गर्छन् । सरकारले गरी खाने ठाउँ दिन नसक्दा विकल्पको रूपमा वैदेशिक रोजगारीमा जान ती युवा बाध्य छन् । तर, विदेशको रोजगारी न सहज छ, न त सुरक्षित नै ।

वाध्यात्मक रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीलाई अपनाउने क्रममा पहिलो चरणबाटै पीडित हुन थाल्छन् । आकर्षक प्रलोभन देखाएर विदेश पठाउने एजेन्टहरू गाउँ तथा शहर बजारतिर छ्यापछ्याप्ती फैलिएका छन् । उनीहरूकै आड र भरोसामा गाउँबाट शहरमा आइपुग्छन् र ठगिन्छन् । जेनतेन विदेशमा पुगे भने त्यहाँ अलपत्र पर्छन् ।

कंचनपुर वैवाहा- ३ का जुम्ल्याहा दाजुभाइ राम चौधरी र लक्ष्मण चौधरी पनि विदेश पठाइने नाममा लाखौँ रुपैयाँ ठगिएकामध्येका हुन् । विदेश पठाउने नाममा उनीहरूबाट ४० लाख रुपैयाँ ठगियो । यस्तै, नुवाकोट मेगाङका ४० वर्षीया धनमाया तामाङ र ३६ वर्षीया कामी लामालाई समेत विदेश पठाउने नाममा ९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरियो । 

मासिक सयौँ ठगीका उजुरी लिएर युवाहरू वैदेशिक रोजगार विभाग तथा प्रहरीकहाँ पुग्ने गरेका छन् । विदेश पठाउने नाममा हुने ठगी रोक्नसमेत सरकारलाई कठिन भइसकेको छ ।

ठगी भन्दा पनि भयावह छ वैदेशिक रोजगारीमा हुने मृत्यु ।  वैदेशिक रोजगारीको नाममा भएको मृत्युलाई रोक्न सरकारले ध्यान पनि दिएको छैन । यसले गर्दा हरेक वर्ष सयौँ नेपाली युवाहरू वैदेशिक रोजगारीको नाममा विदेश र स्वदेशमा मृत्युको मुखमा पुगिरहेका छन् । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकको पहिचान बनाएका खाडीका ६ वटा राष्ट्रहरू कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र बहराइन तथा मलेसियामा सबैभन्दा बढी नेपाली युवाहरूले ज्यान गुमाइरहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकअनुरूप साउदी अरब ३६८, कतार २७१, संयुक्त अरब इमिरेट्स (यूएई) १८७, कुवेत ५५ , बहराइन २३  र ओमन १३ जना युवाहरूले ज्यान गुमाएका छन् । त्यस्तै, मलेसियामा ३८८ जना युवाहरूले ज्यान गुमाएका छन् ।

सरकारी तथ्यांकअनुरूप सबैभन्दा धेरै साउदी अरबमा युवाहरूले ज्यान गुमाएका छन् । त्यसपछि समग्रमा कतार, यूएई, कुवेत, बहराइनलगायतका मुलुकमा युवाहरूले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको क्रममा युवाहरूले खाडी मुलुकबाहेकका अन्य मुलुकमा समेत ज्यान गुमाएका पनि त्यहाँको तुलनामा कम नै छ । मलेसियामा पनि नेपाली युवाहरूको लागि असुरक्षित हो । हालसम्म ४ हजारभन्दा बढी युवाहरूले मलेसियामा ज्यान गुमाइसकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले युवाहरूको वैदेशिक रोजगारी सुरक्षित नरहेको बताउँदै आए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको छ । अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि आप्रवासी कामदारहरूका लागि खाडीका ६ वटा मुलुक र मलेसिया असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । तर, नेपाल सरकार, खाडी तथा मलेसियाका सरकारहरूले नेपाली तथा आप्रवासी कामदारको मृत्यु रोक्नका लागि खासै काम गरेका पाइँदैन ।

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुरूप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्न सक्ने मृत्युलाई समेत नरोकेको बताएको छ । एम्नेस्टीको प्रतिवेदनले कतारमा कार्यरत २०० जना नेपाली कामदारको मृत्युलाई रोक्न सक्ने अवस्था भएपनि त्यसलाई नरोकेको बताएको छ । 

वैदेशिक रोजगार बोर्डका अनुसार विगत १४ वर्षको अवधिमा ९ हजार २३७ जना नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन् । विदेशमा रहेका युवाको हृदयघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना आदि मुख्य कारणले ज्यान जाने गरेको छ ।

कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो । 'सन् २००९-२०१७ को अवधिमा भएको ५७१ जना नेपाली आप्रवासी श्रमिकहरूको मुटुको समस्याका कारणले भएका मृत्युमध्ये २०० जनाजतिको मृत्युलाई रोक्न सकिन्थ्यो' भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको थियो ।

अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुँदै पनि कतारी अधिकारीहरूले गएको दशकमा भएका हजारौँ आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान नगरेको कुरा एम्नेस्टीले सार्वजनिक गरेको हो ।

एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गर्‍यो । तीमध्ये १५ वटाले मृत्युका मुख्य कारणहरूबारे कुनै जानकारी दिएनन् । त्यसको सट्टा 'हृदयघात प्राकृतिक कारण', 'हृदयघात निर्दिष्ट नगरिएको' र 'प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी बिफलता' जस्ता शब्दहरू प्रयोग गरिएका छन्, जुन आपत्तिजनक रहेको छ ।

आधिकारिक कतारी तथ्यांकले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेसा समूहका १५ हजार २१ जनाभन्दा बढी गैरकतारीको मृत्यु भएको छ तर अनुसन्धानको अभावमा मृत्युका कारणहरूको तथ्यांक अविश्वसनीय रहेको कुरा एम्नेस्टीले अभिलेखीकरण गरेको छ । कतारको तथ्यांकमा धेरै मृत्युलाई ‘मुटुसम्बन्धी रोगहरू’को रूपमा वर्गीकरण गरिएको तथ्यले यथार्थमा कारण नखुलाइएका धेरै मृत्युहरूलाई ओझेलमा पार्न गरेको छ ।

दक्षिण एसियाली देशहरूबाट आउने अधिकांश आप्रवासी श्रमिकहरूको मृत्युको तथ्यांकमा पनि यो कुराको संकेत गरिएको एम्नेस्टीले भनेको छ, जसले गर्दा नेपालीहरू पनि कतारमा प्रभावित भएको स्पष्ट देख्न सकिन्छ । यति हुँदाहुँदै पनि अर्थात् ज्यान जोखिममा छ भनी थाहा पाएर पनि नेपाली युवाहरू बाध्यतावश कामका लागि विदेश गएका छन् ।

सरकारी तथ्यांक हेर्दा पनि कहालीलाग्दो अवस्था नै छ । वैदेशिक रोजगार बोर्डका अनुसार विगत १४ वर्षको अवधिमा ९ हजार २३७ जना नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन् । विदेशमा रहेका युवाको हृदयघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना आदि मुख्य कारणले ज्यान जाने गरेको छ ।

आर्थिक वर्ष (चैत आधासम्ममा) २०७८/०७९ मा  १ हजार २४३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ७३ जना, आर्थिक वर्ष २०७६/०७७ मा ६७१ र २०७५/०७६ मा ७६३ जनाको विदेशमा युवाहरूको ज्यान गएको सरकारी तथ्यांक छ ।  आर्थिक वर्ष २०७१/०७२ मा १ हजार ६ जना, २०७२/०७३ मा ८१६ जना, २०७३/०७४ मा ७५६ जना,  २०७४/०७५ मा ८२२ जना युवाहरूको विदेशमा ज्यान गएको छ । आर्थिक वर्ष २०६५/०६६ मा ७७ जना युवाको ज्यान गएको छ ।

यतिविघ्न समस्या हुँदाहुँदै पनि सरकारले वैदेशिक रोजगारीका लागि व्यवस्थित बनाउन सकेको छैन, जसले गर्दा अदक्ष कामदार विदेश जान रोकिएको छैन । सरकारले करिब १२० वटा मुलुक वैदेशिक रोजगारीका लागि खुला गरेको छ भने संस्थागत श्रम स्वीकृतिका लागि भने १०८ वटा मुलुकहरू खुला गरेको छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार