महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल

महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १०, २०७९

वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहिरिएको छ । 

यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (यूएई)ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो । 

यसअघि युवा बल अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेपछि यूएई कमजोर बनेको थियो । यूएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुसी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले ३ ओभर ५ बलमा १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । यस्तै, उपकप्तान इन्दु बर्माले ४ ओभरमा ३ तथा सीता राना मगरले पनि ४ ओभरमा २ विकेट लिइन् ।

८:१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घन्टा ढिलो सुरु भएको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान छ । यद्यपि, नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भयो । 

समूह ‘बी’मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । यूएई भने समूह ‘ए’को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।