महत्-लाई अतिक्रम गरेको अप्रमेय रूप ! रूप नहुने अवस्था अनादि अनन्तसम्म
असार ११, २०७९

  अनादिमध्यान्त मनन्तवीर्य
    मनन्तबाहुं शशिसूर्यनेत्रम् ।
    पश्यामि त्वां दीप्तहुताशवक्त्रं
    स्वतेजसा विश्वमिदं तपन्तम् ।। १९ ।।

अन्वय र अर्थ – त्वां = तपाईँलाई, अनादिमध्यान्तं = उत्पत्ति स्थितिलय रहित, अनन्तवीर्यं = अनन्त सामथ्र्येले युक्त, अनन्तबाहुं = अनन्त भुजाले युक्त, शशिसूर्यनेत्रं = शशिसूर्यनेत्र, दीप्तहुताशवक्त्रं = प्रज्वलित अग्नि मुख भएका, स्वतेजसा = आफ्नै तेजले, इदं विश्वं = यो सारा विश्वलाई, तपन्तं = तपायमान गर्ने, पश्यामि = देख्दछु ।

भावार्थ – आदिमध्यान्तरहित, अनन्त वीर्यशाली, अनन्तबाहुयुक्त, शशिसूर्यनेत्र भएका, प्रदीप्त अग्निमुख र स्वतेजले यस विश्वलाई तताउने यस्तो रूप धारण गर्नु भएका तपाईलाई देखिरहेको छु ।

विशिष्टार्थ – तपाईँको आदि, मध्य र अन्त छैन, तपाई अनन्त हुनुहुन्छ । तपाईँको शौर्य, प्रताप, गौरव तथा सामर्थ्यको अन्त छैन, तपाई अनन्त हुनुहुन्छ । तपाईको क्रिया शक्ति सर्वत्र समान रूपले वर्तमान छ, तपाई अनन्त हुनुहुन्छ । तपाईँ उग्र भन्दा पनि उग्र र सौम्य भन्दा पनि सौम्य स्वरूपमा देखिनु हुन्छ । तपाईको मुख प्रज्वलित अग्निशिखामय छ । तपाईको महान् तेजले यस  जगत्लाई तताइरहेको देख्दछु (यस तेजले तापित यो ब्रम्हाण्ड कतै गलेर न जाओस् मलाई यसैमा सन्देह छ) ।

    द्यावापृथिव्योरिद्मन्तरं हि
    व्याप्तं त्वयैकेन दिशश्च सर्वाः ।
    दृष्टाद्भुतं रूपमुग्रंतवेदं
    लोकत्रयं प्रव्यथितं महात्मन् ।। २० ।।

अन्वय र अर्थ – महात्मन् = हे महात्मन् ! द्यावापृथिव्योः = स्वर्ग र पृथ्वीको, इदं = यो, अन्तरं = अन्तरीक्ष, त्वया = तपाईको, एकेन हि = एउटै विश्वरूपले नै, व्याप्तं = व्याप्त छ, सर्वाः = सम्पूर्ण, दिशश्च = दिशाहरू पनि व्याप्त छन्, तव = तपाईको, इदं = यो, अद्भुतं = पहिले कहिल्यै नदेखिएको, उग्रं = घोर, रूपं = रूप, दृष्व्टा = देखेर, लोकत्रयं = तीनैलोक, प्रव्यथितं = अत्यन्त भयभीत भएको, (पश्यामि = देख्दछु) ।

भावार्थ – हे महात्मन् ! स्वर्ग र पृथ्वीको अन्तर (अन्तरिक्ष) तथा सम्पूर्ण दिशाहरू एकमात्र तपाईँबाट मात्र व्याप्त छन्, तपाईको यो अद्भुत उग्र मूर्तिको दर्शन गरेर लोकत्रय अतीव भय भीत हुन्छन्, त्यो देखिरहेको छु ।

विशिष्टार्थ – देवगण जहाँ निवास गर्छन् अर्थात् साधन समयमा साधक जुन स्थानमा छायाहीन तैजस मूर्तिको दर्शन गर्छन्, त्यसैलाई स्वर्ग भन्दछन् । स्वृ–शब्द गर्नु (स्वर), गै = गान गर्नु । स्वर्+गै+क प्राणवायुलाई (गुरूपदिष्ट रीतिले) चलाउँदा जुन स्थानबाट सवप्तस्वरको उत्थान हुन्छ सोही स्थान स्वर्ग हो । अनि कर्म स्थान अर्थात् स्थूल शरीरधारीहरूको आवास भूमिलाई पृथ्वी भन्दछन् । यी दुबैको वीचमा जुन अवकाश अर्थात् शून्य भूमिका छ,  त्यो नै अन्तरीक्ष हो । अन्तर भनेको भित्र अर्थात् मध्यस्थान तथा ईक्ष भनेको दर्शन गर्नु, अर्थात् भित्रभित्र दुबै स्थानको वीचमा जे देख्दैछु त्यही अन्तरीक्ष हो । यी तीनै स्थानको दशै दिशामा तपाई नै एक भएर व्याप्त हुनुहुन्छ, यस्तो स्थान कतै छैन जहाँ तपाई हुनुहुन्न, यस्तो वस्तु पनि कुनै छैन जसमा तपाई हुनुहुन्न । हे महात्मन् !  तपाईको यो अद्भुत (जसलाई मैले पहिले कहिल्यै देखेको थिइन) उग्र (भयावह) रूपदेखि तीनै लोक अत्यन्त भयभीत देख्दछु ।

    अमी हि त्वां सुरसंघा विशन्ति 
    केचिद्भीताः प्राञ्जलयो गृणन्ति ।
    स्वस्तीत्युक्त्वा महर्षिसिद्धसङ्घाः
    स्तुवन्ति त्वां स्तुतिभिः पुष्कलाभिः ।। २१ ।।

हे महाबाहो ! तपाईको अनेक मुख र आँखा भएको, अनेकौं हात जांध र पाउले युक्त, बहु उदर विशिष्ट, अनेकौं दाराहरूले भयङ्कर बनेको रूपलाई देखेर संसारका समस्त प्राणी भयले विचलित भैरहेका छन्, म पनि भयातुर छु ।

अन्वय र अर्थ – अमी = ती, सुरसङ्घाः = देवता समूह, त्वां = तपाईमा, हि = नै, विशन्ति = प्रवेश गर्दछन्, केचित् = कुनै कुनै, भीताः = (दूरत एव स्थित्वा) डराएर, प्राञ्जलयः = हात जोडेर,गृणन्ति = जय होस् जय होस् रक्षा गर्नुहोस्, रक्षा गर्नुहोस् भन्दै प्रार्थना गर्दछन् । महर्षिसिद्धसंघाः = महर्षिहरू र सिद्धहरू, स्वस्ति = संसारको कल्याण होस्, इति = यस्तो, उक्त्वा = भनेर, त्वां = तपाईलाई, पुष्कलाभिः = सम्पूर्ण, स्तुतिभिः = स्तोत्रहरूद्वारा, स्तुवन्ति = स्तुति गर्दछन् ।

भावार्थ–ती सबै सुर समूह तपाईँमा नै (शरणार्थ) प्रवेश गर्दछन्, कुनै कुनै भयभीत भएर हात जोड्दै टाढैबाट रक्षा गर्नुहोस्, रक्षा गर्नुहोस् भन्दै प्रार्थना गर्दछन्, महर्षिहरू र सिद्धहरू स्वस्ति स्वस्ति भन्दै तपाईलाई अनेकौं स्तोत्रहरूद्वारा स्तुति गर्दछन् ।

विशिष्टार्थ – अम् = रोगग्रस्त, इन् = रहनु, रोगी बनेर रहनुको नाम अमी हो । हि = निश्चय । सुरसंघाः = देव समूह, त्वां = तपाईमा, विशन्ति = प्रवेश गर्दछन् । ती तेजवान् देवताहरू पनि तपाईको तेजको प्रभाले रोगग्रस्त ज्योतिहीनहरू जस्तै तपाईमा  नै प्रवेश गर्दछन्, कुनै कुनै फेरि  भयले  विभोर भएर हात जोडेर रक्षा गर्नुहोस्, रक्षा गर्नुहोस् भन्दछन् । अनि सिद्ध महर्षिहरू  'स्वस्ति' यी आशीर्वचनले जगत्लाई आशीर्वाद दिइरहेका छन्, किन कि यदि जगत् नहुँदो हो त यो अरूपको रूप हामीहरूले कसरी देख्न पाउने थियौं, इत्यादि भन्दै तपाईका उत्कृष्ट स्तुतिहरूद्वारा स्तव गर्दछन्, अर्थात् विश्वरूपमा मग्न भएर भन्दछन्– हे ईश्वर ! हे ईश्वर ! यही त तपाईको अरूपको रूप हो । ऋत, सत्य, नित्य, परं ! अहो ! जय जगदीश हरे ! 'हरे मुरारे मधुकैटभारे गोपाल गोविन्द मुकुन्द शौरे । यज्ञेश नारायण कृष्ण विष्णो निराश्रयं मां जगदीश रक्ष' ।

    रुद्रादित्या वसवो ये च साध्या 
    विश्वेऽश्विनौ मरुतश्चोष्मपाश्च ।
    गन्धर्व यक्षासुरसिद्ध सङ्घ
    वीक्षन्ते त्वां विस्मिता श्चैव सर्वे ।। २२ ।।

अन्वय र अर्थ – रुदा्रदित्याः = रुद्रगण, आदित्य गण, वसवः = वसुहरू, ये च = अरू पनि, साध्याः = साध्य नामका देवताहरू, विश्वे = विश्वेदेव, अश्विनौ = अश्विनीकुमारहरू, मरुतः = मरुग्दण, च = र, उष्मपाः च = उष्मपा नामक पितृहरू पनि, गन्धर्वयक्षासुरसिद्धसंघाः = गन्धर्व  यक्ष असुर सिद्ध समूह, सर्वे एव च = सबै नै, विस्मिताः, (सन्तः) = विस्मित भएर, त्वां = तपाईलाई, वीक्षन्ते = हेर्दछन् ।

भावार्थ – रुद्रगण, आदित्यगण, वसुगण, साध्य नामक देवगण, अश्विनीकुमारद्वय, मरुद्गण, पितृगण, गन्धर्व – यक्ष–असुर–सिद्ध समूह सबै विस्मित भएर तपाईको दर्शन गर्दछन् ।

विशिष्टार्थ – एकादश रुद्र (१० औं. अ. को २३ औं श्लोक) , अष्टवसु, साध्यगण (मन; मन्ता, प्राण, सर, पान, वीर्यवान, विनिभर्य, लय, दंश, नारायण, वृष र प्रभु यी बाह्र प्रकारका देवताहरू), विश्वेदेवगण – (वसु, सत्य, क्रतु, वक्ष, काल, काम, धृति, कुरु, पुरूवा र मद्रव यी दश प्रकारका पितृदेवता) दुबै अश्विनी कुमारहरू, मरुद्गण (मृ=मरण, उत् = मिलाउनु, अर्थात् जो रिसाउँमले मृत्यु हुन्छ ती वा ती सबैलाई मरुत् भनिन्छ) अर्थात् उनन्चास प्रकारका वायुगण, उष्मपा अर्थात्पितृगण (यिनीहरूका सात सम्प्रदाय  छन् – अग्निष्वात्वा, सौम्याः, हविष्मन्त; उष्मपाः, सुकालिन; बर्हिषदः, आज्यपाः) हाहा हुहु आदि गन्धर्व गण,कुवेरादि यक्षगण, विरोचनादि असुरगण, कपिलादि सिद्धगण, यी सबै आश्चर्य चकित भएर मलिनो मुख लगाउँदै तपाईलाई हेर्दछन् । (साधक ! तिमी पनि त्यसरी नै आश्चर्यान्वित भएर हेरिरहन्छौ, यसलाई मिलाएर हेर) ।

    रूपं महत् ते बहुवक्त्रनेत्रं
    महाबाहो बहुबाहूरुपादम् ।
    बहूदरं बहुदंष्ट्राकरालं
    दृष्टव्दा लोकाः प्रव्यथितास्तास्तिथाहम् ।। २३ ।।

अन्वय र अर्थ – महाबाहो = हे महाबाहो ! ते (तब) = तपाईको, बहुवक्त्रनेत्रं = अनेकौं मुख तथा नेत्रले युक्त, बहुबाहूरुपादं = अनेकौं हात, जांघ र चरण भएको, बहूदरं = बहुत पेट भएको, बहुदंष्ट्राकरालं = धेरै दाराहरूले आकुति विकराल भएको, महत् = भयङ्कर, रूपं = रूपलाई, दृष्व्टा = देखेर, लोकाः = संसारका समस्त प्राणीहरू, प्रव्यथिताः = भयले व्याकुल छन्, तथा = त्यस्तै, अहं (अपि) = म पनि छु ।

भावार्थ – हे महाबाहो ! तपाईको अनेक मुख र आँखा भएको, अनेकौं हात जांध र पाउले युक्त, बहु उदर विशिष्ट, अनेकौं दाराहरूले भयङ्कर बनेको रूपलाई देखेर संसारका समस्त प्राणी भयले विचलित भैरहेका छन्, म पनि भयातुर छु ।

विशिष्टार्थ – हे महाबाहो ! (आदि, अन्त तथा मध्य विशिष्ट जे जति छन् त्यो सबै जसको हातको मुठृीमा भए जस्तै आयत्ताधीन हुन सक्छ उसैलाई महाबाहु भन्दछन् । )

'सरूपं महत्ते' – महत्-लाई पनि अतिक्रम गरेको यो तपाईको अप्रमेय रूप ! तपाईको कुनै रूप छैन, किन कि तपाई अनादि अनन्त हुनुहुन्छ । रूप सादि सन्तमा हुन्छ, परन्तु तपाई महत्-लाई पनि आफ्नो गर्भभित्र लिएर यसरी प्रकट हुनु भएको छ, त्यसको वर्णन भाषामा आउँदैन र भन्न पनि सकिदैन । तथापि त्यस महत्-मा तपाईको जुन रूप स्फुटित भएको छ, त्यसमा असंख्य मुख, चक्षु, हात, असंख्य उरु, पाद, उदर, असंख्य भीषण आकारका दारा देखेर समस्त लोक जगत् भयले व्याकुल भएको छ, म पनि व्याकुल भएको छु । ( साधक ! आफ्नो त्यस समयको ठीक ठीक भावलाई मिलाऊ, अरू मिलाउँदै जाऊ) ।

    नभस्पृशं दीप्तमनेकवर्णं
    व्याप्ताननं दीप्त विशालनेत्रम् ।
    दृष्ट्रा हि त्वां प्रव्यथितान्तरात्मा
    धृतिं न विन्दामि शमञ्च विष्णो ।। २४ ।।

क्रमश: