'१० भाइको मगजबाट अझै ओलीको झोला बोक्ने नशा उत्रिएको छैन'

'१० भाइको मगजबाट अझै ओलीको झोला बोक्ने नशा उत्रिएको छैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  कथित १० भाइको मगजबाट अझै नशा उत्रिएको ओलीको झोला बोक्ने नशा नउत्रिएको बताएका छन् ।

उनले अझै हामीमाथि धारे हात लगाउने दुस्साहस गरिरहेको भन्दै सुध्रिन आह्वान गरेका हुन् । आज कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित केन्द्रिय कमिटिको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी गठनको अन्तिम समयमा आएर दिएको धोकाप्रति व्यङ्ग्य गर्दै आफ्नो चिन्ता लिन जरुरी नरहेको समेत बताए ।

नेपालले भने, 'हामीले तत्कालीन पार्टी एमालेबाट विद्रोह गरेर भदौ १ गतेबाट सबै गतिविधि अगाडि बढाउँदै आएका छौँ । संगठनात्मक हिसाबले सबै बैठकमा पार्टी विधानका सिमा ननाघ्ने गरी बैठक बसिरहेका छौँ ।' उनले पार्टीभित्र बहस विवाद हुँदैमा कतिपय कमरेडहरूमा बैठक टार्ने प्रवृत्ति रहेको सुन्नमा आएको समेत बताए ।

उनले भने 'कम्युनिष्ट पार्टीभित्र आलोचना र आत्मालोचना हुन्छ । सिर्जनात्मक बहसका लागि छलफल, आलोचना र आत्मालोचना जरुरी हुन्छ । तत्कालीन एमालेमा आलोचना र आत्मालोचना गर्न छोडिएको थियो । यसो भन्दैमा सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।'

उनले अब के कार्ययोजना लिएर जाने भन्ने कुरा बैठकले निर्देशन दिने बताए । नेता नेपालले भने' कम्युनिष्ट पार्टीले देशभक्ति, लोकतन्त्र को झण्डा उठाउँदै अधिनायकवाद र विदेशी शक्तिका सामू नझुकेको कारण नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय भएका हुन् ।झ 

उनले कम्युनिष्टभित्र अधिनायकवाद र व्यक्‍तिवाद हाबी भयो भने त्यस पार्टीले लोकतन्त्रको झण्डा बोक्यो भनेर मान्न  नसकिने जिकिर गरे । उनले भने 'लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको छ ।झ

त्यसै गरी नेता नेपालले एमालेमा आएको अहङ्कारी प्रवृत्तिले गर्दा देशमाथि नै कुठारा घात भएको बताए । साथै उनले समाजवादको कुन नमुनालाई नेपालमा अवलम्बन गर्ने भन्ने विषयमा कहिल्यै छलफल नभएको बताए । नेपालले भने, 'वैचारिक मन्थन, जनताका एजेण्डालाई बेवास्ता गर्यो ।'

उनले नेकपा एकीकृत समाजवादी देशभक्ति, लोकतन्त्र र जनजिविकाको कुरा गर्ने पार्टी भएको बताए । उनले भने 'जनतालाई बेवास्ता गर्ने हाम्रो प्रवृत्ति होइन । अहिलेको मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । भ्रष्टिकरण बढ्यो । आज बनलेवाटारमा बसेको बैठकमा राज्यले मुनाफा कमाउने होइन, अधिकतम हिसाबले तेलको मूल्य घटाउने कुरा भएको छ ।' 

उनले पार्टी पुनर्गठन र एमालेसँगको विद्रोह जायज र न्यायोचित रहेको बताए । उनले भने ' हाम्रो विद्रोह जायज थियो । कथित १० भाइको मगजबाट अझै नशा उत्रिएको छैन । अझै हामीमाथि धारेहात लगाउने दुस्साहस गरिरहेका छन् । त्यो धृष्टता अब फेरि नगरून् ।' 

नेता नेपालले आफूहरूले संघीयता र समावेशी राजनीतिक प्रणालीको रक्षा गरेको बताए । उनले भने ' हाम्रा सबै कदम सफल हुँदै गएका छन् । त्यसकै प्रतिफलका लागि हामी स्थानीय चुनावमा होमियौँ । तर, सबैतिर गठबन्धनमा हामीलाई उचित स्थान दिइएन।'

उनले आगामी निर्वाचनका लागि रणनीति बनाउन सबै केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए । नेपालले भने 'अब हामीले हामी कति स्थानमा जित्न सक्छौँ भन्ने आँकलन गरेर सबै प्रदेशका कमरेडले भन्नु होला । गठबन्धनप्रति हाम्रो धेरै गुनासा भए पनि गठबन्धनको अझै पनि आवश्यकता छ ।'

उनले आफ्नो पार्टीको वास्तविक मत २० लाखभन्दा बढी रहेको बताए । उनले भने '२७ प्रतिशत उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएका थियौँ । शतप्रतिशत उम्मेदवारी दिँदा २० लाख मत आउँथ्यो । त्यसकारण आत्तिनुपर्ने कुनै कारण छैन ।'