दिनानाथ शर्मा : ११ निबन्ध र २ वटा कविता संग्रह प्रकाशन गर्ने पूर्ण कालिन राजनीतिज्ञ
असार ११, २०७९


उहाँको बुवा सामान्य साक्षर मात्र हुनुहुन्थ्यो । पेशाले कृषक तथा आर्थिक हिसाबले भन्नुपर्दा मध्यम वर्गीय परिवार । आमा भने निरक्षर तथा गृहिणी । तर मावली हजुरबुवाहरु भने पढे लेखेको भएको हुँदा आमाले भने श्लोकहरु हाल्ने तथा सूत्रहरू सुनाउने गर्नुहुन्थ्यो सानोमा । यस हिसाबले पनि उहाँको जन्म सामान्य मध्यम वर्गीय किसान परिवारमा भएको हो । साल तोकेरै भन्नुपर्दा भने २००३ साल साउन ४ गते उहाँले यस धरामा जन्म लिनु भएको हो । जन्म स्थान भने बागलुङको अमलाचौर गाउँपालिकाको गहतेरा हो जो हालको बागलुङ नगरपालिका वडा नं १२ हो । 

उहाँको तीन बहिनी तथा भाइमा भने उहाँ एक्लो हो । हुनत आमाले अर्को भाइ पनि नजन्माएको भने होइन तर सानैमा बितेका कारण उहाँ एक भाइ मात्र रहनु भएको हो। 

उहाँको बालापन पनि अरु सामान्य बालक झै रह्यो । साथीभाइसँग चउरमा डन्डीबियो लगायतका खेलहरु उहाँले पनि नखेलेको होइन । तर, सानोमा त्यस्तो उटपट्याङ भने उहाँले गर्नुभएन । 

०००

उहाँको हजुरबा र आमा निरक्षर तथा बा साक्षर मात्र भए पनि पढाउनुपर्छ भन्ने ज्ञान भएका कारण पण्डित तथा गुरुहरूलाई घरमै ल्याएर पढाउन लगाउने अनि अक्षर चिनाउने काम भयो । उहाँले गाउँमै गुरुहरू तथा पण्डितबाट अक्षरारम्भ गर्नुभयो । 

उहाँको जीवनमा अक्षरारम्भ सन्दर्भमा एउटा अविस्मरणीय घटना छ । उहाँको फुपूको घरमा एक जना वेदान्ती वैष्णव गुरु बस्नुहुन्थ्यो अनि आमाले अक्षरारम्भ गर्नका लागि फुपूको घरमा लिएर जानुभयो । केही समय हिँडेपछि आमाले अब फुपूको घरमा बसेर पढ्ने हो भनेपछि उहाँलाई नमिठो लागेर जान्न भनेर रुनु भयो । उहाँले गर्न सक्ने भनेको रुने न हो, उहाँ रुन थाल्नुभयो । तर आमाले छोरालाई पढाउनका लागि जर्बजस्ती लतारेर लिएर जानुभयो र अक्षरारम्भ गराउनुभयो । 

अक्षरारम्भ गरिसकेपछि गुरुले अ, आ, इ, ई पढाउँदै हुनुहुन्थ्यो । तर, त्यसकै वर्णको ऋ, ऋ भने उहाँलाई भन्न आएन । धेरै पटक गुरुले भन्दा पनि उहाँलाई ऋ, ऋ उच्चारण गर्न आएन । अनि भन्न नसकेको झोकमा गुरुले एक झापड लगाइ दिनुभयो उहाँलाई । यो सबै दृष्य नजिकै बस्नु भएकी फुपूले पनि हेरिरहनु भएको थियो । 

उहाँले नजिकै बसिरहनु भएकी फुपूको मुखमा हेर्नुभयो र फुपूले हेरेपछि उहाँ रुन थाल्नुभयो । त्यसपछि फुपूले टपक्क उहाँलाई टिपेर भो अब पढ्नु पर्दैन भनेर टपक्क बोक्नुभयो । र, करिब पन्ध्र मिनेटको दूरीमा रहेको उहाँकै घरमा ल्याएर छोडिदिनुभयो । उहाँको अक्षरारम्भको अब बिट त्यतिकै  मार्‍यो । उहाँ ती गुरु कहाँ त्यसपछि पढ्न जानु भएन । त्यसपछि घरमै गाउँका अरु बालबालिका बटुलेर छविलाल पण्डितसँग अक्षरारम्भ गर्ने र पढ्ने भनेपछि उहाँले सावाँ अक्षर सिक्ने काम छविलाल गुरुसँगबाट गर्नुभयो । 

अक्षरारम्भ पछि उहाँको पढाइ बुद्धिदात्री प्राइमरी स्कूलमा भयो । त्यस बेला बागलुङको एसएलसीको केन्द्र पाल्पामा हुन्थ्यो । अनि एक जना त्यसै क्षेत्रका बुद्धिप्रसाद शर्मा पाल्पा आएर एसएलसी दिएर गाउँमा गएपछि बुद्धिदात्री प्राइमरी स्कूल खोल्नुभयो । यो २०१६ सालको कुरा हो ।

२०१६ सालमा गाउँमा बुद्धिदात्री प्राइमरी स्कूल खुल्दा उहाँको उमेर त्यसबेला १३ वर्षको भइसकेको थियो । उमेरका हिसाबले उहाँ बुद्धिदात्री स्कूलमा एकैपटक ४ कक्षामा भर्ना हुनुभयो । 

गाउँका बालबालिकालाई पढाउनु पर्छ भनेर खोलिएको बुद्धिदात्रीमा त्यस बेला गाउँमा सबैसँग बाँस उठाएर बाँसले बारेको केवल खरको छाप्रो मात्र थियो । बस्नलाई घरबाटै चकटी लिएर जानुपर्थ्यो । लेख्ने काम भने त्यस बेलामा खरीले पाटीमा गर्नु भयो शर्माले । 

२०१७ सालमा फेरि बुद्धिप्रसाद शर्मा पारिको गाउँ पैयुँपाटाको त्रिभुवन मिडिल स्कूलमा हेडमास्टर भएर जानुभयो । उहाँहरु सबै उतै स्कूलमा जानुभयो । यताको बुद्धिदात्री स्कूल बन्द भयो । 

उक्त स्कूल पछि माध्यमिक विद्यालय भयो । उहाँले ९ कक्षासम्म त्यहीँ पढ्नुभयो । तल्लो प्राथमिक तहमा महिलाहरुको सहभागिता अलि अलि भए पनि माथिल्लो माध्यमिक तहमा भने शून्य जस्तै नै थियो । 

घरमै बसेर गरेको स्व-अध्ययनले बनेको अंग्रेजी, गणित तथा उमेर आदि सबै हेरिसकेपछि उहाँलाई ५ कक्षामा भर्ना गरियो । त्यस बेला पूर्ण प्रकाश नेपाल ‘यात्री’ नेपाली शिक्षकका रुपमा त्रिभुवन स्कूलमा आउनुभयो । त्यस क्षेत्रमा शिक्षाको उज्यालो फैलाउन ‘यात्री’ गुरुको ठूलो योगदान छ । त्यस्तै हेमराज शर्मा अनि डिल्लीराज शर्माले त्यस बेला मिडिल स्कूल खोलेर बागलुङको हालको १२,१३ तथा १४ नं वडामा शिक्षाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । 

०००

२०१७ सालमा डिल्लीप्रसाद शर्मा आइए पढ्न भनेर पोखरा आउनु भयो । त्यस बेला पोखराको पृथ्वी नारायण क्याम्पसको भर्खर स्थापना भएको थियो । शर्माले उहाँलाई पनि कक्षा ६ मा भर्ना गर्न भनेर पोखरा ल्याउनु भयो । 

उहाँ पोखराको बगरमा रहेको राष्ट्रिय बहुउद्देश्यीय विद्यालयमा ६ कक्षामा भर्ना हुनुभयो । तर, २०१७ साल पुष १ गते पञ्चायत लागू भएपछि नेपाली कांग्रेसका नेताहरुको धरपकड शुरु भयो । उहाँलाई पढाउने शिक्षक घनश्याम मरासिनी नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । उहाँलाई वारेन्ट पछि सरकारले पक्डियो । 

मरासिनी अंग्रेजी पढाउने कक्षा शिक्षक हुनुहुन्थ्यो । उहाँले पछि आफू एक जना सामान्य शिक्षक भएको र राजनीति नगर्ने तथा शिक्षण पेशामा समर्पित छु भनेर बिन्तीपत्र हालेपछि दुई महिनापछि उहाँ फेरि पढाउन जानुभयो । तर शर्मा भने फेरि आफ्नै पैयुँ पाटाको त्रिभुवन स्कूलमा फर्कनु भयो ।

१० कक्षामा भने उहाँ बुवा ग्रहण नुहाउन भनेर बनारस जाँदा सँगै जानुभयो । बनारसमा त्यसबेला पुष्पलालसँग नजिक भएर काम गर्ने तथा नेपाली विद्यार्थीहरुको हेरविचार गर्ने बलराम उपाध्याय तिमल्सिना हुनुहुन्थ्यो । उहाँसँग सम्पर्क भएपछि अब बागलुङ किन जानु यतै बाट जाँच दिए हुन्छ भनेपछि उहाँ बनारसमै रोकिनुभयो । 

यो सन् १९६६ को कुरा हो । उहाँले १९६६ मा इलाहाबाद बोर्डबाट हाइस्कुलको जाँच दिएर १९६७ मा पास गर्नुभयो । अनि त्यसको दुई वर्षपछि सन् जय नारायण इन्टरमिडियट कलेजबाट १९६९ मा आइए पनि पास गर्नुभयो । उहाँले हाइस्कुल तथा आइए बनारसबाट गर्नुभयो । बिए तथा बिएड भने त्रिभुवन विश्व विद्यालयबाट गर्नुभएको हो । 

स्कुले जीवनमा उहाँ एकदमै सक्रिय विद्यार्थी हुनुहुन्थ्यो । पढाइमा पनि उहाँ लरतरो नभइ तेज हुनुहुन्थ्यो । सधैँ प्रथम हुने । 

०००

उहाँको राजनीतिक जीवन पनि बनारसमा पुष्पलाललाई भेटेपछि शुरु भएको हो । सन् १९६७ को जनवरी महिनामा उहाँले पुष्पलालसँग पार्टीको सदस्यता लिनु भएको हो । त्यस बेला नेपाल कम्युनिष्ट पार्टीका रुपमा एउटा मात्रखखखखखख पार्टी  थियो । 

पुष्पलाल जी बनारसमा बसेर पार्टी चलाउनुहुन्थ्यो भने महासचिव तुलसीलाल दरभंगामा बसेर पार्टीको काम हेर्नुहुन्थ्यो । 

त्यस बेला पञ्चायतको शासन भएको हुनाले पार्टी सञ्चालन गर्न पाइँदैन थियो । पार्टीका कामहरु सबै भूमिगत हुन्थे । यसरी उहाँको राजनीतिक जीवनको शुरुवात बनारसबाट भयो । 

उहाँ त्यस बेला १४ पटक बनारस आउजाउ गर्नुभयो बागलुङबाट । बाटोघाटोको अवस्था राम्रो थिएन । बुटवल पुग्न झण्डै ३ दिन लाग्थ्यो अनि उहाँ खर्चबर्च झोलामा हालेर हिँड्नुहुन्थ्यो । 

उहाँ गाउँमा शिक्षक पनि हुनुहुन्थ्यो त्यसकारण पैसा पनि हुन्थ्यो । पहिले उहाँले त्रिभुवन माविमा नै पढाउनु भयो । अनि आफ्नै गाउँको पृथ्वी प्राइमरी स्कूलमा केही दिन पढाउनुभयो । तर पछि उहाँको घरबाट ५/७ घण्टा टाढाको बिजुवा स्कूलमा पैसा धेरै दिन्छु अर्थात २ सय ४० रुपैयाँ भनेपछि उहाँ त्यता जानुभयो । यो २०२३/२४ सालको कुरा हो । 

अहिले पुरस्कारका लागि लबिङ पनि चल्ने हुनाले आफ्नो काम लबिङ गर्ने नभइ आफ्ना भावना तथा भित्र भएको उर्जा व्यक्त गर्ने हुँदा खासै चासो नरहेको बताउनुहुन्छ ।  कविता वा निबन्ध, कथा जे भए पनि सृजना गर्ने हो तर सृजना गरेर साहित्यकार बन्छु भनेर नलेखेको उहाँको भनाइ छ । 

बिजुवामा जानुको कारण भने यता घरमा भन्दा उता बसेर पञ्चायत विरोधी वामपन्थी राजनीति गर्न सजिलो हुन्छ भन्ने उहाँको मनशाय थियो । शिक्षक भएका कारण उहाँसँग पैसा पनि हुने हुनाले उहाँ धेरै पटक बनारस पनि जानुभयो । र पुष्पलाल जीसँग घनिष्ठ सम्बन्ध भयो । 

पुष्पलालको भान्सा, प्रशिक्षणदेखि जीवनशैलीको विषयमा पनि उहाँ निकै नजिक हुनुभयो । ३/४ वर्ष बनारस बस्दा उहाँले गर्ने काम, उहाँको इमानदारिता, क्रान्ति प्रतिको दृढ विश्वास, आस्था उहाँले सबै देख्नुभएको छ । त्यसकारण उहाँको राजनीतिक स्कुलिङ पनि पुष्पलालको स्कुलिङ हो । तर, पछि भने उहाँ लामो समयसम्म पुष्पलालसँग रहनु भएन । 

उहाँ जनमोर्चामा सामेल भएर चौथो महाधिवेशनमा लामो राजनीतिक काल भने उता बित्यो । करिब ३२ वर्ष उहाँ मोहन बिक्रम सिंह अनि चित्रबहादुर केसीसँग नै रहनु भएको हो । उहाँ २०५७ सालमा मात्र माओवादीमा प्रवेश गर्नुभएको हो । 

०००

उहाँ विद्यार्थी जीवनमा सक्रिय र इमानदार विद्यार्थीका रुपमा परिचित हुनुहुन्थ्यो । स्कूलको समयमा त्यस बेला हंस वाहिनी भन्ने राम्रो पुस्तकालय थियो । अनि पुस्तकालयका संस्थापक हेमराज शर्मा, डिल्लीराम शर्माले बेला बखत काठमाण्डौ पुस्तकहरु लाने गर्नुहुन्थ्यो । 

रसियन, इण्डियन, कोरियन तथा चाइनिज दूतावासले प्रशस्त पुस्तकहरु दिन्थे त्यस बेला । २०२० सालसम्म प्रकाशित नेपाली साहित्यका पुस्तकहरु पनि हंस वाहिनी पुस्तकालयमा पुगेका थिए । अंग्रेजी साहित्यदेखि मार्क्स, एंगेल्स, लेनिन, नेहरु र  गान्धीका किताबहरु पनि थिए पुस्तकालयमा । 

दिउँसो खाजाको समयमा उहाँलाई हेड सर र स्कूलको संचालक समितिले पुस्तकालयमा पुगेका किताबहरूलाई व्यवस्थित गर्ने काम दिनु भएको थियो । नेपाली साहित्यका लेखनाथ, देवकोटा, सम, भिमनिधी लगायत नेपाली साहित्यका समकालीन विद्वानहरूलाई उहाँले त्यस बेला नै अध्ययन गर्नुभयो । 

उहाँलाई यसरी नेपाली साहित्यमा लाग्ने प्रेरणा भने पूर्ण प्रकाश गुरुले दिनु भएको हो । पूर्ण प्रकाश गुरुले उहाँलाई ८ कक्षामा नेपालीमा ८८ नम्बर दिनुभएको थियो । यत्रो नम्बर किन दिनुभयो भनेर नसुहाउने नम्बर भनेर उहाँले भन्दा गुरुले तिम्रो सारांश, व्याकरण, निबन्धदेखि शुद्धाशुद्धि सबै मिलेर कटाउने ठाउँ नदेखेको हुनाले यति नम्बर दिएको भन्ने गुरुको उत्तर रहन्थ्यो । 

००० 

उहाँहरुले त्यस बेला करुणा भन्ने भित्ते पत्रिका पनि निकाल्नुहुन्थ्यो । जसमा विद्यार्थीहरुका लेख रचना समावेश हुन्थे । यो २०१७/१८ सालतिरको कुरा हो । उहाँको साहित्यिक जीवनको प्रारम्भ त्यहीँबाट भएको हो । 

बनारसमा हुँदा त्यहाँ अञ्चल अनुसारका छात्र मण्डल थिए । तर, उहाँ जाँदा धौलागिरी छात्र मण्डल भने रहेनछ । उहाँ बनारस गएपछि उहाँले धौलागिरी अञ्चल अन्तर्गतका संस्कृतदेखि अन्यत्र पढ्ने विद्यार्थीलाई समेटेर धौलागिरी छात्र मण्डल बनाउने काम गर्नुभयो । उहाँ त्यसको अध्यक्ष हुनुभयो । 

उहाँले बनारसबाट पनि सन् १९६७ मा सिर्जना भन्ने पत्रिका आफैँ सम्पादक बनेर निकाल्नुभयो । सिर्जना पत्रिकामा उहाँको ‘गुलाबप्रति’ भन्ने पहिलो कविता प्रकाशन भयो । त्यस बेला निक्लिएका उहाँका ‘गुलाबप्रति’ र अर्को कविता उहाँको ‘तरंग’ कविता संग्रहमा पनि समावेश गर्नु भएको छ । 

उहाँलाई साहित्यमा प्रेरित गर्ने काम गोरखापत्रले पनि गर्यो । २०१८ सालमा त्यस बेला गोरखापत्र वार्षिक ४ रुपैयाँ थियो । पछि १२ रुपैयाँ भयो । उहाँ गोरखापत्रको नियमित ग्राहक बन्नुभयो । 

त्यस बेला गोरखापत्र पुग्नलाई झण्डै १५ दिन लाग्थ्यो । तर जाँदा अगाडिदेखिका मुठो बनेर पुग्थ्यो । उहाँले गोरखापत्र ‘सर्वे भवन्तु सुखिनः’ देखि विज्ञापनसम्म सबै पढ्नुहुन्थ्यो । 
उहाँले त्यस बेला गोरखापत्रमा आउने हरेक निबन्ध पनि ध्यान दिएर पढ्नु हुन्थ्यो । त्यस बेला एउटा अनुशासन भन्ने निबन्ध थियो । त्यो उहाँलाई राम्रो लागेर धेरै पटक पढेर मस्तिष्कमा पनि रामैसँग बसेको थियो । पछि ८ कक्षामा विद्यालयमा अनुशासनकै निबन्ध लेख्न आयो जुन उहाँले गोरखापत्रमा धेरै पटक पढ्नु भएको थियो त्यसका कारण उहाँले ८८ नम्बर प्राप्त गर्नु भएको थियो । कविता प्रतिको रुचि त छँदै थियो यसले निबन्धप्रति पनि उहाँको रुचि बढायो । श्रेय 

०००
उहाँका ५ वटा राजनीतिक कृतिहरु अर्थात राजनीतिक निबन्ध संग्रह प्रकाशित छन् । जुन उहाँले २०५७ देखि २०६० सम्म प्रकाशन गर्नुभएको हो । पछिल्लो पटक उहाँको ‘एक सम्बोधन समयमाथि’ भन्ने निबन्ध संग्रह प्रकाशित भएको छ । उहाँको रुचि निबन्धमा धेरै छ । त्यसको श्रेय  देवकोटाको लक्ष्मी निबन्ध संग्रहलाई दिनु हुन्छ । त्यसैले हालसम्म उहाँका ११ वटा निबन्ध संग्रह प्रकाशित भएका छन् । उहाँका २ वटा कविता संग्रह पनि प्रकाशित भएका छन् । 

उसो त उहाँले कथा पनि लेख्नुभएको छ । अहिले पनि उहाँको कथा मधुपर्कमा प्रकाशित हुने गरेका छन् । उहाँले पहिले नै कथा संग्रह निकाल्ने भनेर हरिहर खनालले त्यसको भूमिका पनि लेखिदिनु भएको थियो । उहाँले त्यो कथा चितवनका टेकबहादुर थापालाई छाप्न दिनु भएको थियो । थापा माओवादी भनेर सबै सामग्री जफत गरेर सेनाले जलाइदियो । जसमा उहाँको कथा संग्रह पनि पर्यो । पाण्डुलिपि उहाँसँग नभएका कारण त्यो सदाका लागि समाप्त भयो । 

युद्धकालमा उहाँले रचना गर्नुभएका डायरीहरू भने धेरै छन् । उहाँ युद्ध डायरी भनेर प्रकाशन गर्ने तयारीमा पनि हुनुहुन्छ । अर्को भनेको संस्मरण पनि उहाँले प्रकाशनका लागि सम्पादन गरिरहनु भएको छ । यस वर्ष भने कथा संग्रह प्रकाशनमा लागि रहनु भएको छ । 

उहाँको ‘बाह्रखरीको बोट’ भन्ने निबन्ध संग्रहलाई उत्तम शान्ति पुरस्कार प्रदान गरिएको छ । बागलुङबाट दिइने रत्न श्रेस्ता भन्ने पुरस्कार पनि पाएको छ । चितवनबाट पनि उहाँले पुरस्कार पाउनु भएको छ । 

उहाँको पहिलो निबन्ध संग्रह ‘जीवन यात्रा र जीवन’ साझा प्रकाशनले प्रकाशन गरेको हो । कृति प्रकाशन गरे वापत साझाले उहाँलाई २० हजार रुपैयाँ रोयल्टी समेत दियो । ‘बाह्रखरीको बोट’ बाट पनि उहाँले २० हजार प्राप्त गर्नुभयो । यस बाहेक उहाँले अन्य कुनै प्रकाशन वापत रोयल्टी लिनु भएको छैन । प्रकाशकले प्रकाशन गर्छन र त्यो उनीहरुको पुँजी भएको उहाँको भनाइ छ । 

अहिले पुरस्कारका लागि लबिङ पनि चल्ने हुनाले आफ्नो काम लबिङ गर्ने नभइ आफ्ना भावना तथा भित्र भएको उर्जा व्यक्त गर्ने हुँदा खासै चासो नरहेको बताउनुहुन्छ ।  कविता वा निबन्ध, कथा जे भए पनि सृजना गर्ने हो तर सृजना गरेर साहित्यकार बन्छु भनेर नलेखेको उहाँको भनाइ छ । 

उहाँलाई लेख्न यही समय भन्ने छैन । लेख्ने भनेको भावना, विचार भएका कारण कतिखेर भाव आउँछ त्यतिखेर लेख्ने उहाँको स्वभाव छ । लेख्नलाई फुर्सद अनि बे फुर्सद नहुने उहाँको ठम्याइ छ ।