बाहुनका छोराको थकथकी: पूर्वीय दर्शनको ज्ञान भण्डार नेपाललाई होइन, पश्चिमालाई प्रयोगको हुटहुटी

फर्कलान् र ती दिनहरु

बाहुनका छोराको थकथकी: पूर्वीय दर्शनको ज्ञान भण्डार नेपाललाई होइन, पश्चिमालाई प्रयोगको हुटहुटी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार ११, २०७९

सायद, यही ग्रह मात्रमा हामी जस्तै मृत्यु बोकेका प्राणीहरू छौँ कि ? यो पृथ्वी अर्थात् मृत्यु लोकका हामी प्राणी मध्येका मानिसहरु कति सचेत छौँ भने हामी आफ्ना मात्र कुरा गर्दैनौँ । अरुका पनि कुरा सोच्छौँ, गछौं र त्यसबारेमा अनेक उपाय लगाएर अनुसन्धान गर्छौँ ।

कस्तो अचम्म, पहिले हामी कुनै कुराको यस्तो कल्पना गर्छौँ कि त्यो आफैँलाई पनि विश्वास लाग्दैन तर त्यसका पछि यसरी लाग्छौँ कि त्यो हाम्रा सामु आउँदा र प्रयोग गर्दा पनि हामी  कसरी भयो होला भनेर फेरि अचम्म पर्छौँ । अहिले दैनिकीमा अत्यावश्यक मानिएका कतिपय कुराहरु हाम्रा लागि केही वर्षअघिसम्म स्वैर कल्पनामा आधारित जस्ता थिए, अहिले जुन सामानहरु, मूर्त या अमूर्त, नभई हुँदैन । 

तर मानिसले सबैभन्दा बढी अनुसन्धान गरेको पनि मान्छेकै हो र त्यो अनवरत अनुशीलन कहिलेसम्म चलिरहला, थाहा छैन किनभने मानिस सबैभन्दा जटिल पनि देखिन्छ, सरल पनि देखिन्छ र तर्क पूर्ण पनि देखिन्छ, तर्क हीन अपराधी पनि देखिन्छ र अत्यन्त इमान्दार पनि देखिन्छ ।

मानिसले आफैँ आफ्नो  सीमा तयार गरेको छ र फेरि आफूले नै सीमा तोड्नका लागि आफैँ स्वतन्त्रताको खोजीमा यसरी  निस्कन्छ कि आत्म बलिदानलाई पनि ख्याल ख्याल ठान्छ । भन्न चाहिँ भन्छ मान्छे ,यो मानिसको जुनी कसरी पाइयो होला , यसको बढीभन्दा बढी सदुपयोग गर्नुपर्छ । चाहे आध्यात्मिक रुपमा होस् या भौतिक विश्वासमा होस् , एउटा कुराको जबाफ त छैन अझै पनि थाहा छैन, प्राण वायुको सृष्टि कसरी कसले किन गरेको होला ? अनि त्यो प्राण वायुको आधारमा मात्र हामी किन जीवित भएका हौंला ?

अनि कसरी प्राण वायुको प्रयोग हामी प्राणीको शरीरले गर्न छोड्छ ? या कसरी प्राण वायुको प्रयोग गर्भमा सुरु भयो होला ? भन्न सक्ने कोही छैन । भन्न त वैज्ञानिकहरुले अनेक जटिल भाषामा नबुझ्ने गरी व्याख्या गरेजस्तो गरेका छन् तर त्यसमा उनीहरुलाई नै विश्वास छैन । 

प्रत्येक व्यक्ति जो सचेत रुपमा सोच्ने गर्छ, उसमा एउटा जिज्ञासा सधैँ अनुत्तरित नै हुन्छ, म को हुँ ? कसरी आएँ ? पहिले पनि मेरो कुनै अस्तित्व थियो कि ? यो मृत्यु लोकमा किन मृत्यु हुन्छ ? त्यसपछिको संसार छ कि छैन ? या मृत्यु लोकबाट कतै पुगिन्छ होला ? या नश्वर देहको लीला यहाँ सम्मको मात्र हो , मृत्यु पश्चात् शून्यमा नै बिलाउने हो ? यस्ता प्रश्नहरुको उत्तर  पूर्वीय दर्शनमा तर्क पूर्ण तरिकाले गर्न  खोजिएको पाइन्छ ।

मलाई आफैँसँग कहिलेकाहीँ झोक चल्छ, आजसम्म मैले किन पूर्वीय दर्शनका बारेमा आफूलाई जानकारीमा राखिन ? अझ मैले स्नातक तह तथा स्नातकोत्तर तहमा शिक्षाको आधार भन्ने विषय अध्यापन गरेजस्तो गरेँ, पाठ्यक्रम भन्ने विषयको आफूलाई जान्ने नै ठाने !  शैक्षिक मनोविज्ञानका बारेमा केके न जानेको जस्तो गरेर सिकारु हरुलाई बाल मनोविज्ञानका बारेमा पाण्डित्य छाँटे ।

बाहुनको छोरो भएकाले होला, पूर्वीय दर्शनको आफूलाई ज्ञाता ठाने तर ती सबै आत्म रति थिए र छन् पनि । खासगरी वेदलाई संक्षिप्तीकरण र बुझ्न लायक अत्यावश्यक जीवनोपयोगी शिक्षाको रुपमा तयार गरी उपनिषद् भनियो अर्थात् जीवनसँग एकदम नजिकको शिक्षा । 

केमा समय गएछ, थाहै भएन तर अब समयलाई फर्केर हेर्ने बेला पनि छैन र गएको समयलाई फर्काउन पनि सकिँदैन । मैले २०४२ सालमा स्नातकोत्तर परीक्षा दिए देखि नै स्नातकोत्तर तहको शिक्षाका दर्शनको आधार र पाठ्यक्रमको प्रयोगसम्बन्धी विषय अध्यापन गर्दै आएको छु र अहिले सामाजिक न्याय शिक्षामा रस बसेको छ र त्यही सामाजिक न्यायको बारेमा सचेत गराउने काम गरेको हुन्छु बेलामौकामा ।

तर मलाई लाग्यो, मैले उपनिषद्का बारेमा थाहै नपाई , पुराणहरूको तर्कका बारेमा जानकारी नै नराखी कसरी शिक्षा भन्ने विषयमा सयौँ घण्टा अध्यापन गरेँ छु । अझै मेरा यही पेसाका  दाजु भाइ  दिदी बहिनीहरूले कसरी ती विषयहरुको जानकारी नभइकन पनि शिक्षा भन्ने विषय फट्कार्नु भएको होला ?  र, अझ झन पुस्तकाकारमा आफ्ना ज्ञान हामीलाई पस्कनु भएको होला ?

त्यसो भनेर मैले सबै शिक्षक साथीहरुलाई भनेको होइन, तर शिक्षाका बारेमा कम्तीमा पनि पूर्वीय दर्शन भनेर केही कुराहरु घोकाउनु मात्रले नहुने रहेछ । त्यसो त हामी पूर्वीय गोलार्द्धमा बस्नेहरुको जीवनशैली नै पूर्वीय दर्शनबाट प्रभावित छ । जसरी सूर्यको वातावरणीय अवस्थिति बारेमा पृथ्वीको घुमाइलाई दैनिक, मासिक, त्रैमासिक, षाण्मासिक, वार्षिकीमा हामी गणना गर्दछौँ र त्यसका बारेमा निश्चित अनुमान गर्छौँ ।

त्यस्तै हो , हाम्रो जीवनशैली पनि । प्रत्येक छिनको, प्रत्येक दिनको, हप्ताको, महिनाको , तीन महिनाको, ६ महिनाको , वर्ष दिनको, बाँचुन्जेलको, अनि संस्कृतिको रुपमा व्यक्तिको,परिवारको, समाजको, राष्ट्रको र अन्तर्राष्ट्रियस्तरको समेत मानिरहेका छौँ । अहिले विश्व अथवा ब्रह्माण्डका बारेमा धेरै जानकारी अमूर्त रुपमा या मूर्तरूपमा हामीसँग अनुभवको आधारमा आधारित छन् । 

दैनिक जीवन कलाका बारेमा देखि मरे पछिसम्मको व्यवस्थित गरेका छौँ । सायद संसारका सबै संस्कृतिमा । अचम्मले एउटा संस्कृति र अर्को संस्कृतिमा सामञ्जस्यता देखिन्छ । त्यसको कारण के होला भन्ने त हामीले अनुमान गरेका छौँ र संस्कृतिको जगमा हामी एकै ठाउँमा थियौँ होला भन्ने अनुमान गरिरहेका छौँ । 

बेला भएको छ पुनर्जागरणको । कसरी संस्कृतलाई सरलीकरण गर्ने, कसरी उपनिषद्हरूको व्यावहारिक शिक्षा प्रदान गर्ने र शिक्षा-अशिक्षा-विद्या-अविद्याको स्पष्ट खाका तयार गरी नेपाललाई पूर्वीय संस्कृतिको, पूर्वका सय्यौँ भाषाहरूको जीवित र सक्रिय पाठशाला, प्रयोगशाला बनाउने ? लुप्त ज्ञानको प्रकाशन गर्ने बेला भएको जस्तो छ-मात्र पुनर्जागरणको आवश्यकता छ ।

हामी प्रत्येक बिहान उठेदेखि बाँचुन्जेल सम्मको, अझ मरेपछिका सय्यौँ वर्षसम्मको पारिवारिक तथा सामाजिक व्यवहारका बारेमा शिक्षा दिन्छौँ । कतिपय कुराहरु जीवनशैलीमा भएर पनि त्यसको कारण खोजेका छैनौँ । अझ अहिले त पूर्वीय संस्कृतिका बारेमा संसारभर सोधखोज सुरु भएको छ । मैले नर्वेको ओस्लोमा तीन वर्ष श्रीकृष्णका बारेमा विश्वभर प्रचारमा रहेको, अझ पूर्वीय संस्कृति, संस्कृत वाङ्‍मयको बृहत् प्रचारमा रहेको हरेराम हरिकृष्ण पन्थ जसलाई हामीले सजिलोसँग इस्कोन भन्ने गछौं ,उनीहरुले लगाउने लुगा भनेको पुरुषले धोती, कुर्था र मन्त्राभिषेकद्वारा लगाएको जनै,कण्ठी र निधारमा श्री खण्डको टीका ।

इस्कोनले संसारका धेरै भाषामा गीताको अनुवाद गरेको रहेछ । त्यसै पनि संसारमा सबैभन्दा बढी अनुवाद हुने र प्रचारमा रहेको संस्कृत वाङ्‍मयमा श्रीमद्भागवत गीता नै होला र अहिलेको आधुनिक विश्वमा सबैभन्दा बढी विक्री हुने संस्कृत वाङ्‍मयमा पनि गीता नै होला । त्यो पनि इस्कोनको प्रयासले ।

उनीहरु निःस्वार्थ रुपमा हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरेराम हरेराम राम राम हरे हरे ।।  भनेर त्यही श्‍लोकलाई नै मन्त्रको रुपमा गाउँदै नाच्दै ओस्लो सहरको मुख्य चोकमा भेटिन्छन् । आफ्नो दैनिक पेसा छ भने त्यो समाप्त गरेर ! आइतवार चाहिँ श्रीकृष्ण भक्तहरूको जमघट हुने रहेछ । गीताको पाठ, अर्थ र भजन गाइने रहेछ संस्कृतमा । प्रत्येक पटक संस्कृतका श्लोकहरु भनेर कार्यक्रम सुरु गर्ने हातमा फूल, अक्षता लिएर र अन्त्यमा भजनसहित आरती गरेर प्रसाद दिइन्थ्यो । एकप्रकारले कतिपय मानिसहरु प्रसादका लागि मात्र पनि आउने रहेछन् खासगरी भारतीयहरुको बढी नै चहलपहल देखिने ।

 भन्न चाहिँ उनीहरुले भन्थे बुधबारको दिनको साँझमा उनीहरु गाउन, नाच्न र पुस्तक विक्री गर्न आउँथे । ओस्लोको वसन्त, गृष्म र शरद ऋतु भनेको पनि यही मार्चदेखि अगस्तसम्म हो । घाम लाग्छ अबेरसम्म । मैले उनीहरुको नाम सोधेँ, उनीहरुको नाम संस्कृत रहेको पाएँ । जस्तो कि कसैले पवन दास, कसैले कृष्ण दासी, कसैले कसैले के के । मैले लात्भिया, इस्तोनिया, पोल्यान्ड, फ्रान्स, इटलीका गुरुहरू, चेलाहरू र प्रचारकहरु भेटेँ ।

उनीहरुको विचारमा किन आफ्नो नाम संस्कृतमा राखेको भन्दा भन्ने गर्थे- संस्कृतमा प्रत्येक नामको अर्थ रहेछ, त्यसको व्युत्पत्ति रहेछ र एउटै शब्दबाट पनि हजारौँ शब्द तयार गर्न सकिने रहेछ । उनीहरुको विचारमा भारतको वृन्दावन नै उनीहरुको मुख्य तीर्थस्थल हो अनि बनारस र चार धाम ।

नेपालको बारेमा उनीहरु जानकारी राख्दा रहेछन् तर धेरै भक्तहरू नेपाल जान त चाहने तर धेरै जानकारी नभएको बताएका थिए । मेरो जिज्ञासा आफैँसँग के रह्यो भने ती सात समुद्र पारिका मानिसहरुलाई आकर्षण गर्ने हाम्रो पूर्वीय दर्शनले हामीलाई किन आकर्षण गर्न सकेन ? किन हाम्रो दैनिक जीवनमा त्यसले स्वतः थाहै नपाई परेको वा पार्ने प्रभावबाहेक फेरि त्यसको किन खोजी गरिएन ? थाहा छैन । तर हामीसँग सबै कुरा रहेछन् तर हामी ती कुराहरु अरुसँग छ होला भने खोज्दै गएका छौँ । अरु हामीसँग छ भनेर आउँछन् तर हामी अरुसँग रहेको संस्कृतिलाई प्रगतिशील ठानेका रहेछौँ । 

नर्वेको विश्व प्रसिद्ध विश्वविद्यालयमा अध्यापन गर्नुहुने प्राध्यापक डाक्टर  विशाल सिटौला अहिले एकप्रकारले पूर्वीय दर्शन र सिद्धान्तको अवैतनिक राजदूतको रुपमा काम गरिरहनु भएको पाएँ मैले । उहाँको चलन रहेछ विश्वका जहाँ जहाँ कक्षा लिन र अनुसन्धाताहरुको अनुगमन गर्न जानुहुन्छ, त्यहाँ त्यहाँ उहाँले ध्यानबाट मात्र आफ्नो कक्षा तथा प्रस्तुति सुरु गर्नुहुन्छ ।

मलाई सोध्नु पनि भयो, तपाईँहरुले कक्षा सुरु गर्नेे बेलामा ध्यानबाट सुरु गर्नुहुन्छ ? मैले भनेँ, हाम्रो देशमा त त्यसो भन्यो भने खिसी गर्छन् । तर भारतीय योग गुरु रामदेवको कारणले आज संसारमा योग अर्थात् जीवनसँग जीवनलाई जोड्ने चलनको व्यापक चलन चलेको छ ।

तर प्राध्यापक सिटौलामा त्यो ध्यान प्रतिको आकर्षण, पूर्वीय दर्शनको प्रयोगको यस्तो हुटहुटी देखिन्छ कि सायद उहाँले संसारका जुनसुकै देश चाहे युरोपका, चाहे अफ्रिकाका, चाहे एसियाका जुन देशमा गए पनि, जहाँ गए पनि पूर्वीय दर्शन र त्यसको प्रायोगिक पक्षको जानकारी दिनुहुन्छ । एउटा सामाजिक अभियन्ताको रुपमा उहाँको प्रयासलाई हामीले कसरी प्रयोग गर्ने होला ? अरु पनि त्यस्तो धेरै विशालजीहरु हुनुहोला विश्वभर तर त्यस्तो निःस्वार्थ स्वयंसेवक अरु कति होलान् , थाहा छैन ।

मलाई लाज पनि लाग्यो ! उहाँको त्यो लगाव, पूर्वीय दर्शनको ज्ञान, त्यो पनि आजको आधुनिक प्रजातान्त्रिक समाजवादको, सामाजिक न्यायको, श्रमको मूल्यका बारेमा आदर्श देश नर्वेमा एउटा प्रभावशाली अभियन्ताको रुपमा नर्वेमा परिचित हुनुहुन्छ । त्यसो त नेपालीहरु संस्कृत वाङ्‍मयको अध्यापनका लागि पनि जानु भएको छ युरोपका कतिपय देशहरुमा,  अमेरिकामा !

सायद, अहिले संसारका धेरै विश्वविद्यालयहरुमा संस्कृत विषयमा विभागहरु स्थापना गर्ने होड नै चलेको छ भन्ने सुनिन्छ । त्यसले के देखाउँछ भने पूर्वीय संस्कृतिमा धेरैवटा संस्कृति जोडिए पनि मुख्यतः पूर्वीय दर्शनको ज्ञानको स्रोत त वेद, उपनिषद् , पुराण, महाभारत, रामायण र यससँग जोडिएका अन्य श्रुति तथा स्मृति ग्रन्थमा निहित रहेछन् । तर पुरातन संस्कृति, व्याकरण र सभ्यताको जननी भनेर भनिने नेपालमा त्यसको के हालत छ भन्ने कुराको चेतना त भएका दुर्लभ ग्रन्थहरू जलाएर हामीले सभ्यताको परिचय दिएका छौँ डेढ दशक अघि जनयुद्धको चरम रुपमा । 

बेला भएको छ पुनर्जागरणको । कसरी संस्कृतलाई सरलीकरण गर्ने, कसरी उपनिषद्हरूको व्यावहारिक शिक्षा प्रदान गर्ने र शिक्षा-अशिक्षा-विद्या-अविद्याको स्पष्ट खाका तयार गरी नेपाललाई पूर्वीय संस्कृतिको, पूर्वका सय्यौँ भाषाहरूको जीवित र सक्रिय पाठशाला, प्रयोगशाला बनाउने ? लुप्त ज्ञानको प्रकाशन गर्ने बेला भएको जस्तो छ-मात्र पुनर्जागरणको आवश्यकता छ । क्रमशः