संसद् लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद

संसद् लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७६

काठमाडाैं । सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् । ००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन् । तर, सांसदहरू पुस्तकालय नै जाँदैनन् । संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेका छन् । कृष्ण कट्टेलको रिपोर्ट:

हामीले समितिका तर्फबाट पुस्तकालयको अनुगमन गरेका थियौँ । संविधानसभा तथा व्यवस्थापिका संसद् हुँदा सांसदहरूले लगेका कतिपय पुस्तक फिर्ता नभएको पाइएको छ । खोजेको पुस्तक नपाउने, तर एउटै पुस्तक ५० थानसम्म किन्ने प्रवृत्ति पनि पाइएको छ । अबको बजेटबाट पुस्तक के–कति किन्ने भन्नेबारे हामी सचिवालयलाई निर्देशन दिन्छौँ । समिति अहिले पनि पुस्तकालय सुधारमा लगातार लागिरहेको छ । पुस्तकालयमा ००८ सालदेखिका राजपत्र पाइँदैनन् । त्यसको खोजी गर्ने र पुस्तकालयमा ल्याउने काम समितिले गरिरहेको छ । सचिवालयलाई आवश्यक निर्देशन दिइनेछ ।

०५६ अघिसम्म संसद्को पुस्तकालय हाल सचिवालय रहेको भवन नम्बर एकमा थियो । त्यसपछि भने भवन नम्बर दुईको एउटा तलामा पूरै पुस्तकालय राखियो । त्यो तलामा अहिले राष्ट्रिय सभाको सचिवालय तथा अन्य पदाधिकारीको कार्यकक्ष बनाउने भन्दै पुस्तकालयलाई भुइँतलामा सारिएको छ । सचिवालय स्रोतका अनुसार हाल भुइँतलामा पुस्तक असरल्ल छरिएका छन्, कतिपय कुनामा फालिएका छन् । धेरै पुस्तकमा ढुसी लागिसकेको छ, नष्ट हुने जोखिम छ । पुस्तकालय लथालिंग बनेको छ । त्यहाँ पुग्ने सांसदहरू बसेर पढ्ने ठाउँ नभएको गुनासो गर्छन् । नयाँ पत्रिकाले यो समाचार प्रकाशित गरेको छ ।