एकीकृत समाजवादीमा गालीगोफ्ता : पार्टी र फिर्ता बोलाइएका मन्त्रीहरूको फरक फरक सूचि देउवालाई !

एकीकृत समाजवादीमा गालीगोफ्ता : पार्टी र फिर्ता बोलाइएका मन्त्रीहरूको फरक फरक सूचि देउवालाई !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १२, २०७९

सत्तारुढ घटक एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेपछि सुरु भएको विवादले झनै उग्ररुप लिइरहेको छ ।

सरकारले ल्याएको बजेट पास नहुँदै एकीकृत समाजवादीले पार्टीका तर्फबाट निर्णय गरी मन्त्रीको लिस्ट प्रधानमन्त्रीलाई बुझाएको थियो । तर त्यसबेला प्रधानमन्त्रीले मन्त्रीहरुले मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिन बाँकी नै रहेको बाहानामा  नयाँ मन्त्रीलाई शपथ गराएनन् ।

तर अब जवाफ दिएपछि पनि प्रधानमन्त्रीले एकीकृत समाजवादीका मन्त्रीलाई शपथ गराउन खासै चासो देखाइरहेका छैनन् । सुरुमा जनता समाजवादी पार्टीका पनि सांसदले मन्त्री फेर्नुपर्ने दबाब बढाएका कारण उपेन्द्र यादवले प्रधानमन्त्रीलाई मन्त्री परिवर्तन नगर्न सुझाव दिएका थिए ।

अन्य पार्टीको किचलो समेत जोडिँदा एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीले नछाड्ने अड्डी कस्ने र मन्त्रीका लागि सिफारिस भएर सार्वजनिक रुपमा बधाई खाइसक्दा पनि शपथ खान नपाउने अवस्था सृजना भइरहेको छ । 

प्रधानमन्त्रीलाई आग्रह–तत्काल शपथ गराउ

एकीकृत समाजवादीले पार्टीले मन्त्रीमा सिफारिस गरेकाहरुलाई तत्काल शपथ ग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । सो पार्टीले निर्णय कार्यान्वयनमा भएको ढिलालाई अपमानका रुपमा लिने समेत चेतावनी दिएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताएका छन्  । 
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि उनले भने, ‘आजसम्म हामीले प्रधानमन्त्रीलाई पर्खियौँ । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौँ, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान भन्ने सम्झिन्छौं ।’

नेकपा एकीकृत समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई मन्त्रीबाट फिर्ता बोलाएर हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

फिर्ता बोलाइएका मन्त्रीहरुले बनाएको सूचि पार्टी अध्यक्षका अलवा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाएका छन् । यसरी बनाएकाे सूचिमा  डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसी, ललितपुरका कृष्णलाल महर्जनलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने उनीहरुको प्रस्ताव रहेको छ ।

सो निर्णय भएको एक महिना पुग्न लाग्दा समेत कार्यान्वयन हुन सकेको छैन । यसअघि शुक्रबार मात्रै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले शनिबार साँझसम्म नयाँ मन्त्री आउने दाबी गरेका थिए । तर एकीकृत समाजवादीका नयाँ मन्त्रीले शपथ गर्न पाएका छैनन् । मन्त्रीहरुले भने आफूहरु हट्दा मन्त्रीको सूची फेरबदल हुनुपर्ने अडान राखेका छन् ।

तर खतिवडाले बैठकपछि भने, ‘मन्त्रीको सूची संशोधन हुँदैन, समय क्रममा नाम थप्नुपर्ला, घटाउनु पर्ला, तर अहिले नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन ।’ उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको भन्दै बिना शर्त मन्त्रीहरु फिर्ता हुनुपर्ने र प्रधानमन्त्रीले पार्टीले सिफारिस गरेका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने बताए ।

आलेसहित ६ जनाको हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरको विषयमा असन्तुष्ट नेकपा एकीकृत समाजवादीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । यसअघि पार्टीले मन्त्रीहरु फिर्ता बोलाउन गरेको निर्णयमा असन्तुष्ट मन्त्रीहरूसहित १० जनाले हस्ताक्षर गरेर संसदीय दलको बैठक बोलाउन माग गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई हस्ताक्षर बुझाएका थिए ।

तर, शनिबार त्यसमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका हुन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद  निरा  जैरूले भने हस्ताक्षर फिर्ता लिएका छैनन् । पर्यटनमन्त्री प्रेम आले र सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिना देवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पा कुमारी कर्ण कायस्थले भने हस्ताक्षर फिर्ता लिएका छन् । 

असन्तुष्टिको अर्कै सूची

मन्त्री परिवर्तनको विरोधमा रहेका मन्त्रीहरुले आफ्नो तर्फबाट अलग्गै मन्त्री सिफारिस गरेका छन् । एकीकृत समाजवादीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सूची तयार पारेका हुन् । मन्त्रीका लागि सिफारिस गरेका नामहरू समावेशी नभएको उनीहरुको आरोप छ ।  फिर्ता बोलाइएका मन्त्रीहरुले बनाएको सूचि पार्टी अध्यक्षका अलवा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाएका छन् । यसरी बनाएकाे सूचिमा  डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसी, ललितपुरका कृष्णलाल महर्जनलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने उनीहरुको प्रस्ताव रहेको छ ।

सरकारबाट हट्न लागेका मन्त्रीहरुले पार्टीले पठाउने नाम समावेशी हुनुपर्ने बताएका छन् । सदनमा बजेट पेश भएपछि मन्त्रीले जवाफ दिनुपर्ने संसदीय व्यवस्थाको नियम छ । सोही कुरालाई आधार देखाएर एकीकृत समाजवादीका मन्त्रीहरु कायम छन् ।