गठबन्धनको बिलखबन्द : विचार मिल्नेसँग कि मन मिल्नेसँग उकुसमुकुस !

लोकसंवाद टिप्पणी

गठबन्धनको बिलखबन्द : विचार मिल्नेसँग कि मन मिल्नेसँग उकुसमुकुस !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७९

आगामी मंसिरमा प्रदेश र संघीय संसदको निर्वाचन हुँदैछ । हालैमात्र स्थानीय तहको निर्वाचनमा मोटामोटी रुपमा आफ्नो हैसियत परीक्षण गरेका दलहरु अब संसदीय निर्वाचनमा यो भन्दा राम्रो नतिजा ल्याउने लक्ष्यमा ध्यान केन्द्रीत गरिरहेका छन् ।

तर निर्वाचनमा राम्रो नतिजा ल्याउन के गर्ने भन्नेबारेमा भने दलहरुका आ–आफ्ना बुझाइ र धारणाहरू फरक फरक छन् । आगामी निर्वाचनमा कुनै पनि दलको एकल बहुमत आउने सम्भावना कम भएका कारण दलहरु गठबन्धनलाई कसरी बलियो बनाउने भन्दै विभिन्न विकल्पको खोजीमा छन् ।

यतिबेला दलहरु दुई प्रमुख र त्यसभित्र पनि गठबन्धनको तयारीमा देखिएका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस भित्रको एउटा समूह पूर्ण रुपमा गठबन्धनको विपक्षमा थियो । जसको मूल्य कांग्रेससँग गठबन्धन गर्ने दलहरुले चुकाउनुपर्यो र सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलले धेरै स्थानमा पराजय भोगे ।

सोही कारण अब सत्ता गठबन्धन कायम राख्ने वा नयाँ गठबन्धन बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमै रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा भित्र छलफल चलेको छ । पहिलो अहिलेकै गठबन्धनलाई कायम राखेर इमान्दारितापूर्वक सिट बाँडफाँड गर्ने र त्यो नभए गठबन्धनभित्रै नयाँ गठबन्धन बनाउने वा फेरि एमालेसहितको वाम गठबन्धन बनाउने भन्ने सम्मको छलफल अघि बढिरहेको छ । 

एमाले पनि पहिलो शक्तिबाट दोस्रो शक्तिमा झर्नाको मुख्य कारण गठबन्धन नै भएको निश्कर्षमा छ । त्यसैले एमालेको लक्ष्य वर्तमान गठबन्धनलाई जसरी पनि भत्काउने वा आफूतिर तानेर वाम गठबन्धन बनाउन लागिरहेको छ । बाहिरी रुपमा एमालेले आफूहरु गठबन्धनको पक्षमा नभएको बताए पनि भित्री रुपमा एमाले वाम गठबन्धनको गृहकार्यमा जुटिसकेको छ ।

वर्तमान सत्ता गठबन्धन कायम रहेको अवस्थामा आगामी मंसिरमा हुने निर्वाचन जितेर सत्तामा फर्किन एमालेलाई करिब करिब असम्भव रहेका कारण सत्तामा पुग्न जसरी पनि अहिलेको गठबन्धन भत्काउने वा आफूसँग गठबन्धन बनाउन जरुरी  ठानिरहेको छ । तर दम्भ र अहंकारका कारण बाहिर भने भन्न  सकिरहेको छैन ।  

सत्ता गठबन्धनभित्रै रहेका दलहरु पनि कांग्रेसले सत्ता गठबन्धनमा दलहरुबीच न्यायपूर्ण भागबण्डा गर्नेमा सशंकित छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले अन्तिम समयमा आएर आफ्ना एकल उम्मेदवार उठाएको र कतिपय स्थानमा गठबन्धनका दलहरुलाई उम्मेदवार उठाउने समय समेत सकिएपछि धोका दिएका कारण पनि सत्ता गठबन्धन अघि बढाउने विषयमा मतभेद छ ।

अब एमालेसँग गठबन्धन गरौ भने एक वर्षअघि सम्मको अवस्थाले झस्काइरहन्छ । यसैकारण यतिबेला दलहरु संसदीय निर्वाचनको गठबन्धनको कोसिसमा लागेका छन् । अब पुनः वाम शक्ति मिलेर जान्छन् वा कांग्रेसले गठबन्धनका दलहरुलाई सम्मानजनक सिट दिएर संकटका सारथीलाई जोगाइरहन्छ, त्यो भने  हेर्न बाँकी छ । 

गठबन्धनका दलहरु कांग्रेसले न्यायपूर्ण भागबण्डा र साझेदारी गर्न नमानेको अवस्थामा गठबन्धन भित्रैबाट माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी बीच गठबन्धन गर्ने विषयमा पनि छलफल चलेको छ । यस्तो भएमा आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रका अलग अलग गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना हुन्छ । 

 

केही दिनअघि माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेससँग नमिले एमाले वा अन्य दलसँग गठबन्धनको सम्भावना रहेको बताएका थिए । पछिल्ला दिनमा लगातार सत्ता गठबन्धनका नेताहरुले निर्वाचनमा गठबन्धनको भर नपरी आफ्नो शक्ति एकजुट बनाउन र संगठन निर्माणमा लाग्न श्रृखलाबद्ध अभिव्यक्ति दिन तँछाडमछाड मछाड गरिरहेका छन् । 

 

 सोमबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भर नपरी आफ्नो संगठन र शक्ति निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । यसको अर्थ आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने हुनसक्छ भन्ने पनि हो । त्यसमाथि पनि आगामी संसदीय निर्वाचन स्थानीय तहको भन्दा फरक हुनेछ । किनकि यो निर्वाचनमा सबै दलको समानुपातिक मत पनि गणना हुने र सिट संख्याको टुंगो पनि सो आधारमा लाग्ने भएका कारण सबै दललाई देशभरी नै आफ्ना उम्मेदवार उठाउन र समानुपातिक मत संकलन गर्न आवश्यक छ । त्यसैले पनि दलहरु आगामी निर्वाचनमा गम्भीरतापूर्वक लागेका देखिन्छन् । 

नेपालको निर्वाचन प्रणालीबाट पनि कुनै दलले एकल बहुमत ल्याउन कठिन छ । सरकार बनाउन दलहरुले कुनै न कुनै रुपमा गठबन्धनको सहारा लिनुपर्ने आवश्यकता छ । गठबन्धनको कुरा निर्वाचन अघिबाटै गरेर जाने वा निर्वाचन परिणामपछि गर्ने भन्नेमात्रै कुरा हो ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनका नेताहरु सरकार निर्माणका लागि गठबन्धन आवश्यक रहेकोमा एकमत छन् । तर नेताहरुमा आफूले नै धेरै जित्ने महत्वाकांक्षाका कारण सिट बाँडफाँटमा भने कन्जुस्याइँ देखाउने प्रस्ट छ । त्यस्तो अवस्था आएमा आगामी निर्वाचनमा फरक खाले गठबन्धन र परिणाम आउनसक्ने सम्भावनालाई नकार्न सकिदैन । 

कांग्रेसका केही नेताले स्थानीय तहको निर्वाचनअघि माओवादी केन्द्र र एकीकृत समाजवादी तर्फ लक्षित गर्दै अपमानजनक टिप्पणी गरेका थिए । कांग्रेस उपसभापति धनराज गुरुङले त सत्ता गठबन्धनका दलहरुलाई 'हात्तीको कानमा बसेका चमेरा' समेत भन्न भ्याएका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसको आन्तरिक विवाद र गठबन्धन विरोधी मतको प्रभाव परेको थियो ।

जसका कारण गठबन्धनका नेताहरु स्थानीय तहमा पराजित हुन पुगेका थिए । त्यसैले आगामी निर्वाचनमा पनि यस्तो अवस्था आउनेमा अन्य दलमा शंका हुनु स्वभाविक हो । कांग्रेस गठबन्धनको मतकै आधारमा देशको सबैभन्दा ठूलो पार्टीका रुपमा आएको छ । गठबन्धनको मत खण्डित भयो भने कांग्रेसको यो हैसियत कायम नरहन सक्छ । 

यद्यपि अहिले गठबन्धन निर्माण गर्न सहज भइरहेको छैन । अघिल्लो निर्वाचनमा गठबन्धन गरेर एमाले पहिलो दल बन्यो र केपी ओलीले तीन वर्षभन्दा बढी सत्ताको नेतृत्व गरे । तर उनले तीन वर्षमा न त सरकार नै राम्रोसँग सञ्चालन गरे, न पार्टी जोगाए ।

ओलीमा आएको दम्भ, अहंकारले दुई तिहाईको जनमत भएको सरकार ढल्यो, २–२ पटक संसद विघटन गरे । प्रचण्ड र माधवकुमार नेपालमाथि अपमानजनक व्यवहार गरे । जसको फलस्वरुप कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । अब यही गठबन्धनलाई कायम राख्न दलहरुलाई चुनौती बनिरहेको छ । काँग्रेससँगै गठबन्धन गर्दा विचार मिलिरहेको छैन र गठबन्धनप्रति कांग्रेसका अनुदार नेताका कारण परिणाम सकारात्मक नहुनेमा शंका छ ।

अब एमालेसँग गठबन्धन गरौ भने एक वर्षअघि सम्मको अवस्थाले झस्काइरहन्छ । यसैकारण यतिबेला दलहरु संसदीय निर्वाचनको गठबन्धनको कोसिसमा लागेका छन् । अब पुनः वाम शक्ति मिलेर जान्छन् वा कांग्रेसले गठबन्धनका दलहरुलाई सम्मानजनक सिट दिएर संकटका सारथीलाई जोगाइरहन्छ, त्यो भने  हेर्न बाँकी छ ।