मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १५, २०७९

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता शेयर निष्कासन गरेको हो । यसमा आवेदन दिने म्याद थप गरेर असार २२ गतेसम्म पुर्‍याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा- २, ३, ४ र ६ का बासिन्दाहरूका लागि यस आईपीओ निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरूलाई निष्कासन गरिएको सबै शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी डबल बी प्लस आईएस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यस आईपीओका लागि बिक्री प्रबन्धकको कार्य बीओके क्यापिटलले गर्नेछ ।

स्थानीय बासिन्दाले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् । 

त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।