आईपीओ निष्कासनकाे दोस्रो दिनमै प्रक्रिया रोक्न माग

आईपीओ निष्कासनकाे दोस्रो दिनमै प्रक्रिया रोक्न माग

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १५, २०७९

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएकाे छ । गोसाइँकुण्ड गाउँपालिका- १ कार्यालयले आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो ।

वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत आईपीओ निष्कासनको प्रक्रिया रोक्न माग गरेका हुन् । भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा- १ थुमन र २ टिमुरेका स्थानीयबासी शेयर भर्न अक्षम रहेको उनले बताए । जारी मिति सारेर शेयर भर्नका लागि कम्पनी वा क्यापिटलले बैंकबाट ऋणको व्यवस्था मिलाउनुपर्नेसमेत उनले बताए । 

तर, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले निष्कासन सुरु भइसकेकाले प्रक्रिया रोक्न नसक्ने बताएका छन् । 
सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो । रसुवावासीका लागि रसुवागढीले १०० रुपैयाँ अंकित ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्कासन गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

कम्पनीले गोसाइँकुण्ड गाउँपालिका- १ थुमन र वडा- २ टिमुरेलाई अतिप्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका- ४ गोल्जुङ, वडा- ५ चिलिमे र गोसाइँकुण्ड गाउँपालिका- ४, लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी ३ भागमा वर्गीकरण गरिएको छ ।

कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका- २, टिमुरेमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत काम सकिएको छ ।