एमालेमा रोपिएको माओवादीको 'बिउ' र ननिचरिएको 'पिलो': नेकपा निर्माण माथिको 'खिसी टिउरी' !

लोकसंवाद टिप्पणी

एमालेमा रोपिएको माओवादीको 'बिउ' र ननिचरिएको 'पिलो': नेकपा निर्माण माथिको 'खिसी टिउरी' !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १६, २०७९

२०७९ असार १५ गते बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः एक बनाउने र ठूलो कम्युनिस्ट पार्टी निर्माणबारे रोचक सवाल जवाफले उच्च प्राथमिकता पायो । बुधबार बिहानै विप्लव नेकपाका नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले आफूहरुले एमालेमा माओवादीको बिउ रोपेको र केही समयमा फुल्ने र फल्ने जनाउ  दिए ।

आफ्नो अनुभव एमालेका लाखौं कार्यकर्तालाई पनि नेतृत्व गरेर समाजवादको यात्रामा लैजान सकिने विश्वास आफूलाई रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पश्चगमनको बाटो लिए पनि एमालेमा ठूलो संख्यामा अग्रगमनका पक्षधर रहेकोले उनीहरु विस्तारै आफूहरुसँग मिलेर बृहत कम्युनिस्ट पार्टी बन्ने संकेत गरेका थिए । 

‘मैले तीन वर्षमा अनुभव जे गरेँ । त्यो अनुभव भनेको एमालेभित्रका पनि हजारौँ नेता–कार्यकर्ताहरुलाई एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिँदो रहेछ भन्ने अनुभव हो’, उनको भनाई थियो, ‘तपाईंहरुलाई सकिएन, बिग्रियो भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामीले बिउ रोपेर आएका छौँ । हेर्नुहोला, केही समयपछि त्यो फुल्छ, फल्छ ।’

त्यसको एक घन्टा पनि बित्न नपाउँदै एमाले नेता घनश्याम भुसालले  'चोरको खुट्टा काट भन्दा खुट्टा ताने झैं' त्यसको जवाफ दिए । ‘कमरेड प्रचण्डले कतै भन्नुभएछ, हामीले एमालेमा माओवादीको बिउ रोपेका छौं, केही समयमा फल्छ । एउटा पंक्तिलाई उत्साहित बनाउन उहाँले त्यसो भन्नु भएको होला ।

तर माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड सीपीको बिउ, कमरेड फल्नाको बिउ, अब यी बिउहरू उम्रून् । यी नउम्रने बिउहरू हुन्’, भुसालले भने, ‘नेकपा एउटा हाइब्रिड थियो । विभिन्न सिड (बिउ) हरुबाट संकलन गरेर हाइब्रिड बनाएका थियौँ । हाम्रो बुद्धि पुगेन र बिउको भकारीमै आगो लगायौँ । बिउहरू सुरक्षित छन् । यी बिउहरूलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ त्यहाँ नेकपा माओवादी, नेकपा एमाले, समाजवादी वा अर्का कुनै पनि चिज रहने छैन । नेकपा रहनेछ । कम्युनिस्ट रहनेछ । कम्युनिस्ट पार्टी रहनेछ । एकीकृत कम्युनिस्ट पार्टी रहनेछ ।’

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो । तर सत्तामा रहेका केपी ओलीले पार्टी, संसद, सहयात्री राजनीतिक दलहरुलाई समेत पूर्णतः बेवास्ता गरेर एकलौटी अघि बढ्दै सुरु भएको अन्तर संघर्ष र अदालतको एउटा फैसलाबाट नेकपा खारेज भयो । नेकपा खारेज भएपनि ब्यूँतिएको नेकपा एमालेमा पनि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उनको समूहलाई निषेध गरेपछि एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बन्यो ।

गत वर्ष भदौं २ गते नेकपा एमाले विभाजित भएको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया दिए– पिलो निचोरिने भयो भनेको खिल त बाँकी नै रहने भयो । अध्यक्ष ओलीको यो भनाई एमालेमा अध्यक्ष केपी ओलीका एकलौटी क्रियाकलाप विरुद्ध संघर्षमा माधव नेपाललाई साथ दिएका तर विभाजनका समयमा एमालेमै बसेका नेताहरूतर्फ लक्षित थियो ।

सोही समूहबाट नेकपा एकता राष्ट्रिय अभियान भन्दै वामदेव गौतमले दुई दिनअघि मात्रै नयाँ पार्टी खोलेका छन् । यसरी हेर्दा नेकपा औपचारिक रुपमा नै चार टुक्रा बनेको छ । अघिल्लो चुनावमा करिब दुई तिहाई नजिकको मत ल्याएको पार्टी चार वर्षपछि धुजा धुजा बनेको छ । 

नेकपा खारेज भएको डेढ वर्ष पुग्न लाग्दा समेत केही नेताहरु नेकपा ब्यूँताउने सपना देखिरहेका छन् । त्यसैमध्ये एक हुन्, घनश्याम भुसाल । उनी नयाँ सूत्रमा, नयाँ विश्वासमा, नयाँ प्रतिबद्धतामा वाम गठबन्धन/एकता गर्नुपर्ने पक्षको वकालत गरिरहेका छन् । 

तर उनको यो भनाईमा उनकै पार्टीका नेता/कार्यकर्ता भने सहमत हुनु त कताकता  खिसी टिउरी को विषय बनाइरेहका छ ।  एमालेको विभाजनमा उनी माधवकुमार नेपाललाई अन्तिम अबस्थामा साथ नदिएर एमालेमै बसेका थिए । तर उनले एमालेमा जिम्मेवारी पाएका छैनन् ।

पछिल्लो समयमा त अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै उनीमाथि कारबाही गर्न समेत सिफारिस भएको छ । भुसाल एमालेका ती १० मध्ये एक नेता हुन्, जसलाई अध्यक्ष ओलीले माधव नेपालले पार्टी विभाजन गरेको भोलिपल्टै 'पिलोको खिलको संज्ञा'  दिएका थिए । 

गत वर्ष भदौं २ गते नेकपा एमाले विभाजित भएको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया दिए– पिलो निचोरिने भयो भनेको खिल त बाँकी नै रहने भयो । अध्यक्ष ओलीको यो भनाई एमालेमा अध्यक्ष केपी ओलीका एकलौटी क्रियाकलाप विरुद्ध संघर्षमा माधव नेपाललाई साथ दिएका तर विभाजनका समयमा एमालेमै बसेका नेताहरूतर्फ लक्षित थियो ।

त्यसबेला तत्कालीन नेकपा र एमालेभित्र चलेको अन्तर संघर्षमा माधवकुमार नेपाललाई साथ दिएका तत्कालीन उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट तथा स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे, अमृत बोहोरा एमालेमै बसेका थिए भने केन्द्रीय कमिटीमा रहेका ८५ जनाभन्दा बाढीमध्ये ५८ जनामात्रै विभाजनमा लागेका थिए ।

एमालेभित्रै बसकामध्ये अन्य नेताहरु अध्यक्ष केपी ओलीका हरेक निर्णयमा लत्रिए पनि भीम रावल र घनश्याम भुसाल भने एमालेमै बसेर पनि अध्यक्ष केपी ओलीको कट्टर आलोचक छन् र ओलीले भनेजस्तै ‘पिलो’ बनेका छन् । 

नेपालमा कसैले माने पनि नमाने पनि नेकपाको निर्माण कम्युनिस्ट आन्दोलनमा एउटा ठूलो पहलकदमी थियो । त्यसलाई बचाउन नेताहरु असफल भए । जसका कारण आज कम्युनिस्ट फेरि एक ठाउँमा उभिनुपर्ने बहसले सानो आकारमा भए पनि स्थान पाइरहेको छ । 

 तर यो बहसमा सहभागी हुनेहरुले यसलाई वास्तवमै नेतृत्व दिन र छरिएर रहेकालाई एकजुट बनाउन सक्छन् या केही दिनको घाम छायाँ भनेर पुनः खिसीको बिषय बन्ने हो त्यो हेर्न बाँकी छ ।