राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

एजेन्सी  |  विदेश  |  असार १६, २०७९

भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीको मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए ।

एक राजनीतिज्ञले मुस्लिम धर्मगुरु  पैगम्बर मोहम्मदका बारेमा गरेको विवादास्पद टिप्पणीको बदलामा सो कार्य गरिएको बताइएको थियो । गत महिना भाजपाकी नेत्री नुपुर शर्माले एक टेलिभिजन बहसमा मोहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर मुस्लिम देशले भारतको विरोध गरेका थिए । सत्तारूढ भाजपाले नुपुरलाई पार्टी प्रवक्ताबाट निलम्बित गरेको थियो ।  

सरकारले इन्टरनेट सेवा बन्द गरेको छ र ठूला जमघटमा प्रतिबन्ध लगाएको छ । भिडियोमा आफूलाई चिनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्को भिडियोमा उनीहरूले हत्याप्रति गौरव गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीसमेत दिएका छन् ।

भिडियो ‘हेर्नका लागि धेरै भयानक’ भन्दै राजस्थान प्रहरीले प्रसारण नगर्न मिडिया आउटलेटलाई अनुरोध गरेको छ ।