१० महिनामा ११ खर्ब घाटा

१० महिनामा ११ खर्ब घाटा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७६

काठमाडौँ । विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ । १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो ।

त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ । जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो । अघिल्लो वर्षको १० महिनाको तुलनामा २०.०६ प्रतिशतले व्यापार घाटा बढेको छ । आर्थिक वर्ष २०७४/०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो ।

विज्ञका अनुसार व्यापार घाटा बढ्नुमा मुख्यतः आयात वृद्धि नै हो । ‘निर्यात बढ्नुपर्थ्यो, उच्च दरले वृद्धि हुन सकेको छैन,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘आयात र निर्यातबीचको ‘ग्याप’ बढी भयो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ।