महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १६, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् । 

साफको साधारणसभा २ जुलाईमा बंगलादेशकाे ढाकामा हुँदै छ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने र मितिसमेत तोक्ने बताए । 

‘अघिल्लो संस्करणसमेत हामीले नै आयोजन गरेका थियौैँ । यस पटकसमेत साफ नेपालमा आयोजना गर्न प्रस्ताव गर्ने निर्णय भएको छ । हामी नेपालमै ल्याउन प्रयास गर्नेछौँ', राईले भने । 

यसअघि साफको पाँचौँ संस्करण विराटनगरमा आयोजना भएको थियो । उपाधि भने भारतले जितेको थियो । 

साफको साधारणसभामा सहभागी हुन महासचिव राईसँगै केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दै छन् । 

६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी निवर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भएसँगै जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो । 

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो । 

राईले यस विषयमा समेत बैठकबाटै निर्णय हुने बताए ।