जनता समाजवादी पार्टीमा दोस्रो ‘डिभोर्स’ पनि सहमतिमै !

जनता समाजवादी पार्टीमा दोस्रो ‘डिभोर्स’ पनि सहमतिमै !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ६, २०७९

संसदको पाँचौँ ठूलो दल जनता समाजवादी पार्टी एक वर्षभित्र दोस्रो पटक विभाजनको डिलमा पुगेको छ । बिहीबार जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भएको छलफलमा दुवै नेता सहमतिमै अलग हुन राजी भएका हुन् । यससँगै जसपामा दोस्रो ‘डिभोर्स’ पनि सहमतिमै हुने भएको छ ।

गत वर्षको भदौमा जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुर समूह अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको थियो । रमाइलो कुरा त के छ भने, एकै दिन नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) र जसपाबाट अलग भएको समूहले लोसपा गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

एमाले विभाजनको दोष सभामुखलाई लगाउँदै एमालेले करिब ९ महिना लगातार संसद् अवरोध, सर्वदलीय बैठक बहिष्कार र एकीकृत समाजवादीलाई पार्टी महाधिवेशनमा समेत निम्ता नगरेर शत्रुतापूणर् व्यवहार भएको थियो । सार्वजनिक मञ्चहरूमा त एमाले र एकीकृत समाजवादीका नेताहरूबीच अझै पनि आरोप-प्रत्यारोप चलिरहेकै छ । तर, सोही दिन विभाजित भएका महन्थ र उपेन्द्रले एकअर्काविरुद्ध अभिव्यक्ति अहिलेसम्म पनि दिएका छैनन् । यस अर्थमा जसपाको पहिलो विभाजनलाई सहमतिकै विभाजनका रूपमा लिन सकिन्छ । 

पार्टीको कार्यकारिणी समितिमा महन्थ समूहले बहुमत पुर्‍याउन नसकेपछि उपेन्द्र यादव समूहलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो । उपेन्द्र समूहलाई आधिकारिकता दिएपछि महन्थ समूह अल्पमतमा परेको थियो । तर, संसदीय दल र कार्यकारिणी समितिमा नयाँ दल दर्ताका लागि आवश्यक ४० प्रतिशतसमेत नपुगेपछि अलपत्र परेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले माधवकुमार नेपाल समूहलाई नयाँ पार्टी खोल्न सहज हुनेगरी अध्यादेश ल्याइदिएपछि महन्थ ठाकुर समूहले लोसपा निर्वाचन आयोगमा दर्ता गरेर पार्टी पाएको थियो । आफैँले उपेन्द्र यादवको पार्टी विभाजन रोक्न एकता गरेका महन्थले सोही पार्टीबाट र उपेन्द्र यादवकै अपमान सहनुपर्दा पनि सार्वजनिक रूपमा गाली-गलौज नगरी बिदा भएका थिए । 

दोस्रो ‘डिभोर्स’ पनि सहमतिमै

यतिबेला फेरि जसपा विभाजनको तयारीमा छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह एकै ठाउँमा बस्न नसक्ने भएपछि पार्टी विभाजन पनि सहमतिमै गरेर अलगअलग बाटो हिँड्न सहमत भएका छन् । गत वर्षको साउनमा महन्थ ठाकुरलाई अल्पमतमा पार्न एकजुट भएका भट्टराई र यादव फेरि आफूहरू मिलेर भने बस्न नसक्ने अवस्थामा पुगेका छन् । यी २ नेताबीचको पछिल्लो भेटमा पार्टी एकजुट बनाएर लैजाने भन्दा पनि विभाजन गरेर अलग बाटो लाग्न सहमत देखिएका हुन् ।

२७-२८ असारमा वीरगंजमा जसपाको केन्द्रीय समितिको बैठक बस्दै छ । सो बैठकले नै पार्टी विभाजनलाई औपचारिकता दिन सक्ने बताइएको छ । त्यसो भएमा यस पटकपछि जसपा सहमतिमा नै विभाजित हुने सम्भावना देखिन्छ । 

स्थानीय चुनावअघि नै भट्टराई पक्षले बहुमत जुटाउने नभए केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत जुटाएर नयाँ पार्टी बनाउने तयारी गरेको थियो । तर, स्थानीय तहको निर्वाचन आइसकेका कारण यादव र भट्टराईसँगै अशोक राई रहेको हेडक्वार्टर बनाएर अघि बढ्ने सहमति भयो । सो सहमतिलाई यादवले पालना नगरेपछि दोस्रो पटक सो पार्टी विभाजन नजिकै पुगेको हो ।

यादव र भट्टराईबीच भएको भेटपछि संचारकर्मीसँग कुराकानी गर्र्दै यादवले संघीय परिषद् अध्यक्ष डा. भट्टराईले हार्दिकताका साथ अलग हुने प्रस्ताव राखेको र फेरि मिल्न सक्ने ठाउँ राख्दै अलग हुन आफू पनि सहमत भएको प्रतिक्रिया दिएका छन् । भट्टराई निकट नेताहरूले पनि सो प्रस्ताव राखेको र अलग हुन सहमत भएको बताएका छन् ।

यद्यपि, डा. भट्टराईले आफू निकट कार्यकारिणी सदस्यहरूसँग भने अहिले नै अलग भइहाल्ने प्रस्ताव आफूले नराखेको बताएका छन् । यादवसँगको भेटबारे उनले कार्यकारिणी सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।

भट्टराईलाई एकल निणर्य गर्दा भोलि पार्टीमा समस्या देखिन सक्ने भन्दै छलफल गरेर निणर्य लिन सुझाव दिएका छन् । जीवन्त पार्टीमा अन्तरसंघर्ष हुनु स्वाभाविक भएकाले यसलाई व्यक्तिगत रूपमा लिन नहुने र अतिरञ्जित प्रचार गर्न नहुने उनको भनाइ थियो । यदि मिल्नै नसक्ने अवस्था भएमा भने हार्दिकताका साथ छुट्टिनुपर्नेमा आफूले जोड दिएको भट्टराईले बताएका थिए ।

यसरी अलग हुँदा एकले अर्कोलाई कारबाही र गाली-गलौजपूणर् अभिव्यक्ति नदिन उनीहरू सहमत भएका छन् । यादव पक्षले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगंजमा बोलाएको छ । सो बैठकबारे भट्टराई पक्षसँग भने परामर्श गरिएको छैन । २३ वैशाख २०७६ मा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएको थियो । त्यसको ३ वर्षपछि फेरि उनीहरू आफ्नो बाटो लाग्ने सम्भावना देखिएको छ । 

प्रचण्डसँग बाबुरामको भेट

बिहीबार मात्र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेट भएको छ । उपराष्ट्रपति कार्यालयमा २ नेताबीच लामो छलफल भएको थियो ।

हाल सत्ता गठबन्धनमा रहेका दुवै नेताहरू समाजवादी गठबन्धन बनाउने कोसिसमा छन् । उपराष्ट्रपति निवासमा उनीहरूबीच दोस्रो पटक छलफल भएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा मिलेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल चलेको छ ।

तर, यस छलफलले अझै मूर्त रूप लिन भने सकेको छैन । जसपाका विभाजन आउन लाग्दा २ प्रमुख नेताहरूबीचको भेटलाई अर्थपूणर् रूपमा हेरिएको छ ।