नरेन्द्रराज पौडेल: ११ सयको आम्दानी त्यागेर ४ सय ८० को जागिर खाने सर्जक सिडिओ

नरेन्द्रराज पौडेल: ११ सयको आम्दानी त्यागेर ४ सय ८० को जागिर खाने सर्जक सिडिओ

आशिष पौडेल  |  अन्तर्मन्थन  |  असार १८, २०७९

सिन्धुपाल्चोक हाल इन्द्रावती गाउँपालिका वडा नं ८ को सीपा पोखरीमा जन्मनु भएका नरेन्द्रराज पौडेललाई १७ वर्ष सिडिओ हुन्छु त्यो पनि जटिल अवस्था भएको ठाउँमा भन्ने लागेको थिएन । 

उहाँको पिताजी कृषक हुनुहुन्थ्यो । त्यसका अलावा पुरेत्याइँ पनि थियो पेशा । जग्गा जमिन पनि राम्रै थियो । त्यो भनेको झण्डै ४/५ सय रोपनी हो । कारण उहाँको ठूलो बाको अंश पनि उहाँको पिताजीको भागमा परेको थियो । मध्यम वर्गीय परिवार थियो उहाँको  । 

उहाँको जन्म भने २००६ सालमा भएको हो । उहाँ ५ वर्षको हुँदा बुवाले सुति सुति उहाँलाई कालो पाटीमा कखरा पढाउनु भएको हो । कारण बुवा घाँस काट्न जाँदा रुखबाट लडेपछि उठ्न नसकेका कारण सुति सुति पढाउनु भएको हो । 

बाह्रखरी सबै खारी सकेपछि ७ वर्षको उमेरसम्म त्यस बेला पाइने चण्डी, रुद्रीदेखि नेपालीका अन्य किताबहरु पनि पढाउनु भयो । जंगल नभएका कारण पहाडतिर पानी वर्ष इन्द्रावतीमा एकदमै ठूलो बाढी आउँथ्यो । पुल नभएका कारण वारीपारी गर्ने भन्ने हुँदैनथ्यो । थुनिए रै बस्नु पर्थ्यो । एकदमै दुर्गम जस्तो । 

७ वर्षमा व्रतबन्ध गरिसकेपछि उहाँलाई बुवाले पढ्न तीनघरे मामाघरमा पठाइदिनुभयो । मामाघरको हजुरबा भो पण्डित्याइँ, पुरेत्याइँ सबै गर्नुहुन्थ्यो । व्याकरण पनि पढ्नु भएको थियो । 

मामाघर गइसकेपछि उहाँले करिब १३ वर्षको उमेरसम्ममा ४० अध्याय वेद, कौमुदी सबै पढि सकाउनु भयो । तर, अब दिनभर काम केही नभएपछि दिउँसो गोरु हेर्न थाल्नुभयो ।

त्यसपछि मामाहरूले अब यो यहाँ बिग्रन्छ यहाँ नराख्नुस् भनेर उहाँको बुवालाई भनेपछि उहाँलाई भक्तपुरमा लगेर राखिदिनुभयो । तीन जना अन्य साथीहरु थिए । भक्तपुर आएपछि उहाँ भक्तपुरको गोलमढीमा रहेको भक्तपुर निमाविमा भर्ना हुनुभयो । संस्कृत स्कूल थियो त्यो । करिब तीन वर्ष पढ्नुभयो भक्तपुर निमाविमा । 

कटुञ्जेका विष्णु लुइँटेलले उहाँलाई अंग्रेजी पढ्न पनि सिकाउनुभयो । अनि प्रथमा परीक्षा बिदामा घर आएका बेला बिजिनेस 'ट्रान्सलेसन' कण्ठस्थ बनाउनु भयो । प्रथम परीक्षा दिइसकेपछि अर्को स्कूलमा जानुभयो । उहाँ पढाइमा एकदम तेज विद्यार्थी । पहिलो हुनुहुन्थ्यो । 

त्यसपछि उहाँ विशालनगरमा बुवाको मामा कहाँ बस्न थाल्नुभयो । आफू खान बनाउन नसक्ने हुँदा दुई वर्ष फुपूले खाना बनाइदिनुभयो । खाना आफैं बनाउन सक्ने भएपछि उहाँ हाँडीगाउँमा डेरा सर्नुभयो । 

टंगाल रात्रि विद्यालयमा भर्ना भएर अंग्रेजी पढ्न थाल्नुभयो । उहाँले २०२५ सालमा एसएलसी दिनु भएको हो । उहाँको ब्याजमा एघार/बाह्र जना हुनुहुन्थ्यो । रिजल्टको बेला उहाँले बरखी बार्नुभएको थियो । रिजल्ट भएको सुनेपछि बनेपा आएर गोरखापत्रमा रिजल्ट हेर्नु भएको हो । 

संस्कृततर्फ भने उहाँले रानीपोखरी प्रधान पाठशालाबाट २०२२ सालमा पूर्व मध्यमा हुँदै आचार्य तथा शास्त्रीसम्म गर्नुभएको छ । नेपालीतर्फ भने उहाँले एमए गर्नुभएको छ । 

००० 

एमए सकिएपछि उहाँले सहायक प्राध्यापकका रुपमा नेपाली पढाउन थाल्नुभयो । सहायक प्राध्यापकका रुपमा उहाँको तलब ५ सय ७० थियो । उहाँले त्यस बेला आर्दश विद्या मन्दिरमा पनि दुई  'पिरियड' नेपाली पढाउनु हुन्थ्यो जसको उहाँले २ सय रुपैयाँ पाउनुहुन्थ्यो । एक जना जापानीलाई पनि हप्ताको ३ दिन नेपाली पढाउनुहुन्थ्यो त्यसको पनि उहाँले २ सय पाउनुहुन्थ्यो । यी सबै जोड्दा उहाँको ९ सय ७० हुन्थ्यो । र अन्यत्रको पनि कमाइ गर्दा उहाँको ११ सय हुन्थ्यो । 

तर, पढाउन थालेको एक वर्ष पछि उहाँ सरकारी सेवामा नाम निकालेर २०३२ सालमा भूमिसुधारमा शाखा अधिकृतको रुपमा काम गर्न थाल्नुभयो । ११ सयको आम्दानी छोडेर उहाँ ४ सय ८० मा जागिर खान जानुभयो । 

काम गर्न कहाँ जाने भनेर सोध्दा उहाँले दुर्गममा जाने हो नयाँ मान्छे भन्नुभयो । त्यसपछि उहाँको नियुक्ति दैलेखमा भयो । उहाँलाई दैलेख पुग्न मात्र अठार दिन लाग्यो । उहाँले त्यसका बारेमा संस्मरण पनि लेख्दै हुनुहुन्छ । 

गोरखापत्रको भित्तोमा टाँसिएको कविता देखेर लेख्न थालेको केटोले पछि ३ वटा कविता संग्रह, ७ वटा हास्य व्यंग्य निबन्ध संग्रह, १ वटा समीक्षा संग्रह, ४ वटा नियात्रा तथा संस्मरण निबन्ध, १ वटा बाल उपन्यास, ५ वटा कथा संग्रह गरेर दुई दर्जन बढी साहित्यिक कृति समाजलाई दिइसक्नु भएको छ ।

उहाँको नियुक्ति असार मसान्तको हो । केही समय मन्त्रालयमा राखेर उहाँलाई विभागमा पठाइयो । अनि दशैँको टीका लगाएर जाने भन्ने कुरा भयो विभागमा । टीका लगाइसकेपछि एक हप्ता पछाडि हवाइजहाजको टिकट रहेछ । तर, अब कहाँ एक हप्ता कुर्ने । नाइट चढेर नेपालगंज अनि सुर्खेत जाने भनियो । 

त्यस बेला खाने, बस्ने व्यवस्था केही नहुने हुँदा आफैं गुन्टा कसेर हिँड्नुपर्थ्यो । उहाँका त्यस बेला डेढ वर्ष र दुई महिनाका दुईवटा साना नानीहरु पनि थिए । सबैलाई लिएर उहाँ हानिनुभयो दैलेख । 

उहाँले नेपालगंज गएर हवाइजहाज चढ्ने विचार गर्नुभएको थियो । तर, हालको विमानस्थल नभएर खजुराको विमानस्थल धमाधम खन्दै पो रहेछ डोजरले । कहिले घर छोडेर नहिँडेको उहाँ तथा श्रीमतीले नेपालगंज सम्म पुग्न पनि गाह्रो भयो । 

पछि सँगै बाल्मिकीमा पढेका आफूभन्दा एक ब्याच मुनिका साथी गोविन्द चापागाइँ भेट भयो अकस्मात । उहाँ बास बस्न ठाउँ खोज्दै हुनुहुन्थ्यो । चापागाईंले ल अब मेरो घरमा बस्ने भनेर उहाँहरुलाई लिएर जानुभयो । त्यसबेला उहाँको भने बिहे भएको थिएन । अनि उहाँले बाटोमा सानो बच्चाको लागि कोक्रो समेत किनेर लानुभयो । करिब सात/आठ दिन त्यही साथी कहाँ बस्नुभयो । 

दैलेख जानका लागि भरिया खोज्ने काम दैनिक चल्यो । दशैँ सकिएको र तिहार मनाउन भरिया घर गएको हुनाले भरिया पाइएन । बल्ल भरिया पाइयो तीन/चार जना । अनि उहाँहरु हिँड्नुभयो दैलेखका लागि । 

नेपालगंजबाट, चिसापानी, हर्रे हुँदै छिन्चु पुग्नुभयो । छिन्चु पुग्दा नेपालगंजको बाटो खन्ने काम भइरहेको थियो । बाटो खन्न जाने उहाँको आफ्नै गाउँका मान्छेहरु भेट भयो । छिन्चुमा कहीँ पनि बास बस्ने ठाउँ थिएन । अनि ती गाउँलेले बस्नका लागि तुरुन्तै छाप्रो बनाइदिए । 

छिन्चुबाट उहाँहरु सुर्खेत पुग्नुभयो । सुर्खेतबाट पनि जाने साधन नभएकोले उहाँहरु भूमिसुधार अफिसमा जानुभयो । विभागले उहाँ आउँदै हुनुहुन्छ भनेको हुनाले त्यहाँका अधिकारीले कोठा, भान्सा, खानका लागि चामल तथा तिहार आउँदै गरेकोले सेलरोटी पकाउने सम्मको व्यवस्था मिलाएको रहेछ । 

उहाँलाई लिनका लागि घोडा पनि आयो । तर, श्रीमती घोडा चढ्न नसक्ने अनि बच्चाले भरियालाई टोक्ने गरेकोले सानो बच्चा पनि बोक्नुपर्यो । सुर्खेतबाट गाइबान्ना, रातो नाङ्ल, चुप्राहुँदै बल्ल सुर्खेत पुग्नुभयो । यो सकसका कुरा अहिले सुन्दा रमाइलो जस्तो लागे पनि त्यस बेलाको उहाँको अप्ठ्यारो के भनि साध्य होला र !

उहाँलाई दैलेख पुग्न १८ दिन लाग्यो । २२ सय पेश्की दिएकोमा १६/१७ सय जोगिएछ । अनि त्यो पैसाले त्यसबेलाको ४ सय पर्ने नेशनल पाना सोनिक रेडियो र सिरक, डस्ना, किन्नुभयो । 

दैलेखमा पहिले तलब बराबरको भत्ता पनि दिन्थ्यो । पछि भने डेढ मात्र दिन थाल्यो । दैलेखमा उहाँ दुई वर्ष बस्नुभयो । 

उहाँले जेलरका रुपमा पनि काम गर्नुभयो । जेलरका रुपमा काम गर्दा जेल भित्र कैदीहरूलाई टिभी तथा शौचालयको पनि उहाँले व्यवस्था गरिदिनुभयो । अर्थ मन्त्रालयमा एक जना हितैषी सह–सचिवले जेलको पुरानो 'वायरिङ' फेर्न तथा पचास जना कैदीले फेरेको पिसाबलाई ड्रेन आउटको व्यवस्थाका लागि बजेट दिनुभयो जसले जेलमा पनि यो मान्छे राम्रो रहेछ भन्ने छाप पर्यो । 

उहाँ पञ्चायत विकास अधिकारी अर्थात अहिलेको स्थानीय विकास अधिकारी पनि हुनुभयो । पञ्चायत विकास अधिकारीका रुपमा उहाँले त्यस बेला निर्वाचन पनि गराउनु भयो । पहिले गृह मन्त्रालय अन्तर्गत नै रहन्थ्यो पञ्चायत विकास अधिकारी पछि भने छुट्याएर 'सेकेण्ड क्लास' अफिसरको रुपमा गरियो । 

हाँ सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा धेरै पटक विकास अधिकारीका रुपमा हेलिकोप्टरमा सँगै पनि हिँड्नुभयो । तीन वर्ष धनकुटामा बसेर काम गर्नुभयो ।
उहाँलाई एक पटक शान्ति समितिको सचिवको रुपमा विशिष्ट श्रेणीमा पनि राखिएको थियो । तर, पनि सचिव भने बनाइएन । 

धनकुटाको एलडीओबाट नुवाकोट, अछाम, इलामको एलडीओ हुँदै उहाँ २०४७ सालमा पहिलो पटक लमजुङको प्रमुख जिल्ला अधिकारी हुँदै प्रमुख जिल्ला अधिकारीको रुपमा उहाँका १७ वर्ष बिते । यस १७ वर्षमा उहाँले माओवादी शसस्त्र द्वन्द्व, मधेश आन्दोलनलगायत थुप्रै चुनौती ब्यहोर्नु भयो । 

०००

उहाँले लेख्न शुरु गर्नुभएको चाहिँ २०२२/२३ सालतिर नै हो । उहाँ सुकुल ढोकाको डेरामा जाँदा दरबार स्क्वायर काटेर जाँदा त्यसको भित्तामा शनिबारको गोरखापत्रको परिशिष्टांक टाँसिएको हुन्थ्यो । त्यसमा एउटा अमेरिकाका हे राष्ट्रपति तिमीलाई हाम्रो माया छ भन्ने कविता छापिएको थियो । यस्तो त हामी पनि लेख्न सक्छौँ भनेर उहाँले लेख्न थाल्नुभयो । यसरी लेख्दै जाँदा उहाँले प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा एक पटक प्रथम र एक पटक तृतीय पुरस्कार पनि प्राप्त गर्नुभयो । 

यसरी गोरखापत्रको भित्तोमा टाँसिएको कविता देखेर लेख्न थालेको केटोले पछि ३ वटा कविता संग्रह, ७ वटा हास्य व्यंग्य निबन्ध संग्रह, १ वटा समीक्षा संग्रह, ४ वटा नियात्रा तथा संस्मरण निबन्ध, १ वटा बाल उपन्यास, ५ वटा कथा संग्रह गरेर दुई दर्जन बढी साहित्यिक कृति समाजलाई दिइसक्नु भएको छ । 

पुरस्कारका कुरा गर्दा चार दर्जन बढी त उहाँका पुरस्कार छन् । साहित्यिक संलग्नतामा एक डेढ दर्जन संघ संस्थामा उहाँको संलग्नता रहेको छ । 

०००
दैलेखमा काम गर्दै गर्दा उहाँले २०३४ सालमा राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कारसमेत पाउनु भयो । कविताको शीर्षक ‘विकास देशको हुन्छ एकतामा जुट्यौँ भने’ भन्ने थियो । 

कविता प्रतियोगिताको पुरस्कार थाप्नका लागि उहाँलाई काठमाण्डौ आउनु पर्ने थियो । दैलेखदेखि काठमाण्डौ आउन गाह्रो । उहाँलाई नेपालगन्जका त्यसबेलाका भूमिसुधारका हाकिम केशवराज राजभण्डारीले जोडबल गरेर पुरस्कार थाप्न जानुपर्छ भन्नु भएको थियो । त्यसकारण उहाँलाई लिन घोडा पनि पठाउनु भएको थियो । 

तर, घोडा अन्तै पुगेर घडीसँग लागेपछि घोडा लिन गएकालाई लात्ति हान्ने, टोक्ने गर्न थाल्यो । तर, संयोगवश सुर्खेतमा त्यस दिन चामल झार्न हवाइजहाज आइपुगेको हुनाले उहाँ नेपालगंज सम्म आउनुभयो । 

तर, नेपालगंज आइसकेपछि फेरि हवाइजहाज थिएन । तीन दिनपछि मात्र उडान रहेछ । यता समय घर्कने कारण उहाँ गोरखपुर पुगेर रेल चढेर भैरहवा आएर हवाइजहाज चढेर काठमाण्डौ आइ पुग्नु भएको  थियो । 

पुरस्कार थाप्न दौरा सुरुवाल थिएन । अनि साथी ऋषिकेष उपाध्यायको दौरा सुरुवाल लगाएर जानुभयो पुरस्कार थाप्न । त्यस बेलाको फोटो पनि सुरक्षित छ उहाँसँग । 

कविता प्रतियोगितामा  प्रथम  भएरर पाएको ५ सय रुपैयाँको पुरस्कार पाएपछि एउटा बुस रेडियो र सिको घडी किन्न भनेर उहाँ नयाँ सडक जानुभयो । तर, बरखी बारेर सेतो कमिज सुरुवाल लगाएर गएको उहाँलाई साहुहरूले नपत्याएर घडी नै झिकेनन् । अनि उहाँले त्यो झोकमा आएर ‘मैले कमिज सुरुवाल लगाएको नयाँ सडक’ भन्ने एउटा निबन्ध पनि लेख्नुभयो । त्यो उहाँले भैरव अर्याललाई लगेर देखाउनु भयो । त्यो गोरखापत्रको परिशिष्टांकमा छापियो । तर, त्यो निबन्धका कारण त्यस बेला भैरव अर्यालले अञ्चलाधीशको गाली खानु भयो रे !

त्यसपछि उहाँले अलि व्यंग्यका घोच पेचका निबन्ध लेख्न छोड्नु भयो । तर, पछि केशवराज पिंडाली आइसकेपछि भने ‘कान्तोपाध्यको पञ्चवर्षीय योजना’ भन्ने अर्को निबन्ध छापियो मधुपर्कमा । त्यो निकै चर्चित भयो । पिंडालीले त्यसपछि उहाँको नाम नै कान्तोपाध्य राख्नुभयो । पछि उहाँसँग त्यस्ता व्यग्यंका रचनाहरु उहाँले मागेर छाप्नु पनि भयो ।