केन्द्रीय गठबन्धनको निर्णयबिना हाललाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने !

केन्द्रीय गठबन्धनको निर्णयबिना हाललाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७९

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय समितिको बैठक सकिएको छ। बैठकले बाग्मती सरकारको मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफल गरेर मात्र निर्णयमा पुग्ने निष्कर्ष निकालेको छ  ।

शनिबार बसेको पार्टीको बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलका शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान चलाएपछि यो प्रशंग आएको हो । जसको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने एकीकृत समाजवादीले अडान राखेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाँड गर्नेगरी शीर्ष तहले टुंग्याउनुपर्ने बताउनु भयो  ।

‘गठबन्धनका दलभित्र बसेर सबैतिर एकै तिर सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरी काम गर्‍यो भने सबैभन्दा परिपक्व हुन्छ’ उनले भने, ‘यसो गर्दा प्रत्येक सांसदहरुले तनाव लिनु पनि पर्दैन ।’

सात प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् ।

एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्री छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने पार्टीको अडान छ ।

प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयबिना हाललाई मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

बागमती प्रदेशको संसदीय दलको बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहित मुख्यमन्त्री पाण्डे,उपाध्यक्ष तथा बाग्मती इञ्चार्ज केदार न्यौपाने,पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा सहित प्रदेशका सवै सांसदहरुको उपस्थिति रहेको थियो  ।

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय समितिको बैठक सकिएको छ।

बैठक नियमित प्रक्रियामा  बसेको बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री कृष्ण खनालले जानकारी दिनुभयो।