'गठबन्धन दलले आफ्नो पार्टीको शक्तिलाई अवमुल्यन गरे'

'गठबन्धन दलले आफ्नो पार्टीको शक्तिलाई अवमुल्यन गरे'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताले पत्याए जनप्रतिनिधि र कार्यकर्ताले पत्याए मात्र नेता भइने बताउनु भएको छ । 

शनिबार आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन(समाजवादी) को दोस्रो सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र कार्यकर्ताको विश्वास जित्ने गरी टोल र बुथ तह सम्म मेहनतका साथ कार्यकर्तालाई प्रशिक्षित गर्दै काम गर्न निर्देशन समेत गर्नुभयो । स्थानीय निर्वाचनमा २८ प्रतिशत स्थानमा उम्मेद्वारी दिंदा ९ लाख वढी मत प्राप्त भएको स्मरण गर्दै अध्यक्ष नेपालले सवै स्थानमा उम्मेद्वारी दिएको भए २० लाख वढी मत आउने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय निर्वाचनमा गठबन्धन दलले आफ्नो पार्टीको शक्तिलाई अवमुल्यन गरेको भन्दै नेता नेपालले आगामी निर्वाचनमा एक्लै भए पनि चुनाव लड्न तयार हुनुपर्ने धारणा राख्नुभयो । कोरोना,स्थानीय चुनावको तयारी पार्टीसँग जोडिएका विभिन्न समस्याका बावजुद ८ महिनाको अवधिमा पार्टीले प्राप्त गरेको सफलतालाई अन्यथा लिनु नहुने उहाँको तर्क थियो ।

आफूलाई बैकल्पिक शक्तिको रुपमा विकास गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले क्रान्तिकारी चेत र संस्कारले युक्त पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । जनताले कम्युनिष्ट पार्टी भित्रै विकल्प खोजिरहेको भन्दै कम्युनिष्ट पार्टीको लोकतान्त्रिक करण गर्दै नेपाली समाजको रुपान्तरणको कार्यदिशा तर्फ लाग्नुपर्नेमा सुझाउनु भयो । 

अबको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वार मात्र नभएर पार्टी पनि निर्वाचनमा सहभागि हुने भन्दै अध्यक्ष नेपालले समानुपातिक मतबाट मात्र पार्टीको अवस्था थाहा हुने भएकोले निर्वाचन चिन्हको प्रचारमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

बैठकले आगामी साउन ९ गतेबाट असोज १० गते सम्म देशैभर २ महिने  संगठन विस्तार अभियान संचालन गर्ने साथै असार २५ मा गण्डकी प्रदेश भेला गर्ने निर्णय गरेको भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) का अध्यक्ष धनबहादुर कार्कीले बताउनु भयो ।