तनहुँका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई २७ लाख २४ हजार प्रोत्साहन भत्ता

तनहुँका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई  २७ लाख २४ हजार प्रोत्साहन भत्ता

लोकसंवाद संवाददाता  |  समाज  |  असार २०, २०७९

तनहुँ । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दश वटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । 

चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ । 

    'महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कामलाई प्रोत्साहन दिन प्रदेश सरकारमार्फत प्रोत्साहन भत्ता उपलब्ध भएको छ, सबै पालिकामा पुगेर भत्ता वितरण गर्छौं' , उहाँले भन्नुभयो । कार्यालयले शुक्लागण्डकीका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई  छ हजारका दरले  तीन लाख ३० हजार वितरण गरिसकेको छ ।

 कार्यालयका अनुसार बन्दीपुरका २४, देवघाटका ३३, घिरिङका २७, ऋषिङका ४६, आँबुखैरेनीका २७ र म्याग्दे गाउँपालिकाका २६ सहित भानुका ७२, व्यासका ९७ र भिमाद नगरपालिकाका ४७ स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । 

    उनीहरुले गाउँ–गाउँ, टोल–टोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन् । शुक्लागण्डकी नगरपालिकास्थित महिला स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्ष लक्ष्मी सिग्देलले काम गरेबापत सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा हौसला बढेको बताउनुभयो ।