तनहुँ ‘रनिङशिल्ड’ प्रतियोगिता : उपाधि व्यास नगरपालिकालाई

तनहुँ ‘रनिङशिल्ड’ प्रतियोगिता : उपाधि व्यास नगरपालिकालाई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २०, २०७९

तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकाले जितेको छ । प्रतियोगिता शनिबार सुरु भई आइतबार सम्पन्न भएको थियो । 

व्यासले २२ स्वर्ण, १७ रजत र १० कास्य पदक जितेको छ । प्रतियोगिताअन्तर्गत व्यास स्थित सत्यवती माध्यमिक विद्यालयका खेलाडीले छात्रातर्फ सटपुट, ज्यावलिङ थ्रो, छात्रतर्फ लङ जम्प, छात्रातर्फ ट्रिपल जम्प, छात्रतर्फ २०० मिटर, छात्रातर्फ ४०० मिटरमा विजय हासिल गरेका थिए । 

प्रतियोगितामा म्याग्दे गाउँपालिका पाँच स्वर्ण, छ रजत र ११ कास्य पदक जितेर द्वितीय भएको छ । तेस्रो भएको घिरिङ गाउँपालिकाले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । 

प्रतियोगितामा व्यास, शुक्लागण्डकी, भिमाद, भानु नगरपालिका तथा आँबुखैरेनी, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता थियो ।

 प्रतियोगितामा कराँते, एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेल सञ्चालन गरिएको थियो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले यही असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।