माओवादी बैठकमा प्रचण्डको मजाक: 'भेला, सम्मेलन, महाधिवेशन होइन, केन्द्रीय समितिको बैठक हो'

माओवादी बैठकमा प्रचण्डको मजाक: 'भेला, सम्मेलन, महाधिवेशन होइन, केन्द्रीय समितिको बैठक हो'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७९

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटिको बैठकमा ३७३ केन्द्रीय सदस्यसहित वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश अध्यक्षलगायत सहभागीता रहेको छ ।

कुनै समयमा सानो कोठामा केन्द्रीय समिति बैठक बस्ने माओवादीको प्रज्ञा भवनमै बैठक बस्नुपर्ने गरी जम्बो समिति बनेपछि बैठकमै अध्यक्ष प्रचण्डले भने, ‘केन्द्रीय कमिटीको बैठक हामीले पार्टी कार्यालयको हलमा नै गर्ने गरेका थियौं या हामी साना कोठामा गर्ने गर्थ्यौ । त्यसबेला केन्द्रीय कमिटी बैठकको एक खालको अनुभूति हुने गरेको थियो । यो प्रज्ञा भवनमा बैठक बस्दा यो केन्द्रीय समितिको बैठक बस्दा यो केन्द्रीय समितिको बैठक हो कि, भेला, सम्मेलन हो कि महाधिवेशन हो कि भनेजस्तो लाग्दो रहेछ । म सबै कमरेडहरुलाई के भन्न चाहन्छु भने यो केन्द्रीय समितिको बैठक हो ।’ 

प्रचण्डको यो अभिव्यक्तिले माओवादीको केन्द्रीय कमिटीमा रहेको भद्दा पनलाई संकेत गर्छ । माओवादीका कमिटीहरु लामो समयदेखि नै छाता आकारको अर्थात तल साना र माथि ठूला ठूला हुने गरेका छन् । गत मंसिरमा महाधिवेशन गरेको माओवादीले त्यसलाई समाधान गर्न सकेन । बरु महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा पनि विभिन्न दलबाट प्रवेश गर्नेहरुलाई समेट्दा फेरि पनि कमिटी जम्बो बनेको छ । माओवादीको केन्द्रीय समितिको भद्दा पनलाई नेतादेखि कार्यकर्तासम्म ले गिज्याइरहेका छन् । कतिपय नेता आफ्नो वडामा समेत चुनाव जिताउन असफल भएको र पार्टीमा भने माथिल्लो कमिटीमा परेको भन्दै आलोचना समेत भइरहेको छ । माओवादीका एक कार्यकर्ताले लेखेका छन्, ‘जितेको वडा भन्दा बढी केन्द्रीय सदस्य !’

आइतबार बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले १० पृष्ठको ‘संक्षिप्त प्रतिवेदन’ पेस गरेका छन् । त्यसअघि उनले ७ प्रदेशसहित ९ कमिटीका अध्यक्षहरूबाट ब्रिफिङ सुनेका थिए । प्रदेश अध्यक्षहरुले पार्टीभित्र रहेको अराजकता र भद्रगोल अवस्थालाई अन्त्य गर्न मागसहित ब्रिफिङ गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा आफूहरु इमान्दार बन्दाबन्दै पनि कांग्रेसले धोका दिएको, माओवादी हराउन एमालेसँग समेत गठबन्धन गरेको, पार्टीभित्र अराजकता मौलाएको, स्थानीय तहमा अन्तर्घात भएको जस्ता विषय उठाएका थिए । उनीहरुले गठबन्धनबाट कांग्रेसले बढी फाइदा लिएको तर माओवादीका कार्यकर्ताले भने गठबन्धन भन्दाभन्दै जनताले चुनाव चिन्ह बिर्सिन लागेको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगर्न समेत सुझाव दिएका छन् ।

प्रचण्डले गठबन्धनबारे राजनीतिक प्रतिवेदनमा उल्लेख गर्दै भनेका छन्, ‘हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा काँग्रेसका नेताहरु बाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ ।’

उनीहरुले पार्टीको महाधिवेशनको ७ महिना बितिसक्दा पनि पार्टी कमिटीले पूर्णता नपाएकाले बैठक दुई दिन लम्ब्याएर भए पनि पदाधिकारीसहित कमिटीलाई पूर्णता दिनुपर्ने समेत बताएका छन् ।

प्रदेश अध्यक्षको भनाइपछि संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गरेका प्रचण्डले गठबन्धन गर्दा गठबन्धनका दलहरुलाई फाइदा भएको र एमालेलाई घाटा भएको, देशको अर्थतन्त्र गम्भीर संकट तिर धोका दिएको सहित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा प्रस्तुत गरेका छन् । 

बैठकको एजेण्डामा संगठन हुने भए पनि तत्काल पदाधिकारी टुंगो लगाउने सम्भावना कम रहेको नेताहरुले बताएका छन् । अध्यक्षमा प्रचण्डलाई चयन गरिए पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । खासगरी महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच प्रतिस्पर्धाका कारण पदाधिकारी चयनमा समस्या भएको छ । लामो समयदेखि अल्झिएको पदाधिकारी चयनको विषयले आइतबारको बैठकमा प्रवेश पाएन । गत मंसिरमा ८ औं महाधिवेशन गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । 

यसपटक पदाधिकारी चयनको सम्भावना कम भए पनि प्रचण्डको प्रतिवेदनमा संगठनात्मक काम अन्तर्गत स्थायी कमिटी, पोलिटब्यूरो र पदाधिकारी चयनको विषयलाई समेटिएको छ ।

वाम गठबन्धनतर्फ संकेत

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा फेरि वाम गठबन्धनतर्फ अघि बढ्नुपर्ने धारणाहरू आएका छन् । बैठकको पहिलो दिन नेताहरुले अहिलेको पाँच दलीय सत्ता गठबन्धनप्रति असन्तुष्टि व्यक्त भएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुबीच समन्वय हुन नसकेको, अहिलेको शक्ति आफ्नै बलमा आर्जन भएको र कांग्रेसले गठबन्धनका नाममा धेरै ठाउँ धोका दिएकाले यो गठबन्धनमा रहन नहुने आवाज उठेको छ । 

अध्यक्ष प्रचण्डले गठबन्धन दल आजको आवश्यकता भए पनि यसप्रति गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरुसँग गठबन्धन नगरेको र गठबन्धन भएका स्थानमा पनि धोका दिएको नेताहरुले बताएका छन् । 

प्रचण्डले गठबन्धनबारे राजनीतिक प्रतिवेदनमा उल्लेख गर्दै भनेका छन्, ‘हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा काँग्रेसका नेताहरु बाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ ।’

प्रचण्डको प्रतिवेदनमा एमालेले ठूलो संख्यामा सिट गुमाएको र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको उल्लेख गरेका छन् । 

माओवादीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक वैचारिक विषय, संगठनात्मक अराजकता अन्त्य गर्ने र पार्टीलाई व्यवस्थित गर्ने विषय भन्दा बढी गठबन्धनको विषयमा चर्चा भएको छ । शान्तिपूर्ण राजनीतिमा आएको करिब १६ वर्षमा माओवादी एक दर्जनभन्दा बढी पटक विभाजित बनेको छ ।

माओवादी पृष्ठभूमिबाट आएका कतिपय नेता पिच्छे गुट(पार्टी)  बनेका छन् । माओवादी शक्तिलाई मात्रै एक ठाउँमा ल्याउन सक्ने हो भने पनि माओवादी देशको बलियो शक्तिका रुपमा उदाउन सक्छ ।

तर माओवादी केन्द्रको बैठकमा आफ्नै धारलाई संगठित गरेर जनतामा विश्वास जगाउँदै अघि बढ्ने विषय, जनताका सानाभन्दा साना समस्याको सम्बोधन गर्दै अघि बढ्ने विषयमा कम जोड र शक्ति आर्जनका अलौकिक तरिका, विजातीय पार्टीसँगका गठबन्धनमा भएको क्षतिप्रति बढी समीक्षा भएको देखिन्छ । माओवादी नीति, विधि र पद्धतिमा अन्यौल पूर्ण र पार्टी संरचना तथा संगठनात्मक अवस्थामा भद्रगोल बन्दै गएको अवस्थालाई अन्त्य गर्न कसरी अघि बढ्छ भन्ने प्रतीक्षाको विषय बनेको छ ।