नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’को खोजी

नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’को खोजी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०७९

 काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘तन्त्र विद्या र स्नायु विज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठी सम्पन्न भएको छ ।

प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम विशिष्ट प्रकृतिको भएको बताउनुभयो । तन्त्र विज्ञान र स्नायु विज्ञानका विशिष्ट विद्वानहरूको सहभागिता र प्रस्तुतीकरणले कार्यक्रम विशेष भएको उहाँको धारणा  राख्नु भएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान ज्ञानको उत्खनन् गर्ने संस्था भएको बताउँदै त्यसै सन्दर्भमा आफ्नो कार्यक्षेत्रभित्र परेको विषयमा यो कार्यक्रम आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– 'वैदिक वा परम्परागत विज्ञान र आधुनिक विज्ञान एकआपसमा सहकार्य नगरी पूर्ण हुँदैनन् । पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराहरूको अध्ययनमा लागिपरेका छन् । परम्परागत र आधुनिक विज्ञान एकअर्काका परिपूरक रहेको हुँदा यस कार्यक्रमको औचित्य र उद्देश्य पनि यसैमा केन्द्रित रहेको हो ।' 

उपकुलपति डा. जगमान गुरुङले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै तन्त्र, मन्त्र र साधनाले धेरै रोग निको हुने र मानव जीवन सफल हुने बताउनुभयो । उहाँले विभिन्न मठ, मन्दिरहरूमा तन्त्र विद्यासहित पूजा र अनुष्ठान गरे रोग निको हुने उदाहरण दिँदै त्यसले विज्ञानलाई पनि चुनौती दिएको विचार व्यक्त गर्नुभयो ।

दर्शनशास्त्र विभागका प्रमुखसमेत रहनुभएका सदस्य सचिव प्रा। जगत्प्रसाद उपाध्यायले कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत व्यक्त गर्नुभएको थियो । उहाँले २०१४ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान स्थापना हुँदा विज्ञान–प्रविधि पनि यसै प्रतिष्ठानमा रहेको उल्लेख गर्दै अहिले पाँच ओटा कार्यक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– 'यसमा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रमा प्रज्ञा–प्रतिष्ठान क्रियाशील रहेको छ । तीमध्ये दर्शनशास्त्र विभागबाटसमेत थुप्रै महत्त्वपूर्ण गोष्ठी भएका छन्, अध्ययन, अनुसन्धान र प्रकाशन भएका छन् । आज तन्त्र विद्या र स्नायु विज्ञानको अन्तरसम्बन्ध केलाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।'

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले तन्त्र विद्यासँग सम्बद्ध प्रवचन दिनुभएको थियो । तन्त्रका विषयमा जनमानसमा अन्योल रहेको उहाँले बताउनुभयो । तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै बुझिएको उहाँले बताउनुभयो । 'झुठा विद्याको रूपमा यो परिचित छ' उहाँले भन्नुभयो– 'झारफुक गर्ने र मन्त्रको प्रयोग गर्ने मात्रै होइन, मन्त्रको मूल पक्ष भनेको ज्ञान हो ।'

 तन्त्र शब्द रूढ भइसकेको भन्दै उहाँले अर्थ बुझाइमा कमजोरी रहेको बताउनुभयो । उहाँले तन्त्रको प्रयोगबाट मानवजीवनले फाइदा लिनु त्यसको प्रमुख लक्ष्य रहेको भन्दै संसार भोगको लागि बनेको तर भोगमै मात्र लिप्त नभएर मोक्ष पनि प्राप्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 'हाम्रा मानसिक र शारीरिक कष्ट वा दुःख नष्ट गर्न जुन साधना गर्छौं त्यो तन्त्र विद्या हो । तन्त्रको स्रोत भगवान शिव रहेकाले तन्त्रबाट शास्त्र आउँछ, शास्त्रबाट ज्ञान आउँछ । शिवले पार्वतीलाई शिष्य बनाएर दिएको मन्त्र र ज्ञान नै अहिले गुरुदक्षिणाको रूपमा हामीले प्राप्त गरिरहेका छौँ । तन्त्र साधना हो । तन्त्र विद्या र स्नायु विज्ञानको संयोजनबाट अब अघि बढ्नु पर्छ । ब्रह्‍मविद्या वा आत्मविद्या सम्पूर्ण विद्या हो । ध्यान, योग, साधना ज्ञानसम्म पुग्न बाटा हुन् । तन्त्र विद्या पनि मोक्ष, खुसी वा सुख प्राप्तिको साधन हो ।'

कार्यक्रममा प्रा.डा. कृष्णकुमार ओलीले स्नायु विज्ञानसँग सम्बद्ध प्रवचन दिनुभएको थियो । आफ्नो प्रस्तुति दिँदै उहाँले चीनमा अक्युपन्चरको एनोटोमी काल्पनिक तथ्यमा चलिरहेको भन्दै काल्पनिक कुराले पनि मानिसको उपचार र व्यवहार परिवर्तन सम्भव हुने बताउनुभयो । पौराणिक, तान्त्रिक, वैदिक र वैज्ञानिक तथ्यलाई समावेश गर्न सके थप प्रभावकारी हुनसक्ने उहाँको भनाइ थियो । प्रा.डा. ओलीले आफ्नो प्रस्तुतिमा मान्छे र स्नायुसँगको सम्बन्ध, समस्या र उपचारको विषयमा प्रकाश पार्नुभएको थियो । स्नायु भनेको बुद्धि भए पनि स्नायुलाई मात्रै जोडे उपचार सम्भव नहुने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो– 'शरीरसँग स्नायुको सम्बन्ध केलाउँदै उपचार र अध्ययन, अनुसन्धान गरिनु आजको आवश्यकता हो ।'

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले आधुनिक चिकित्सकहरूका लागि पनि कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले आत्मिक शान्तिका लागि पनि तन्त्र र योगको आवश्यकता रहेको विचार व्यक्त गर्दै परिषद्ले मानव जीवनका हरेक क्षेत्रमा अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– 'तन्त्र विज्ञ तथा आधुनिक चिकित्सा विज्ञ सबैको आवश्यकता छ ।

संस्कृतमा लेखेका कुराहरू न्युरो साइन्ससँग कसरी सम्बन्धित छ भन्ने आफूले पनि नबुझेको थिइनँ तर आज बुझ्न पाएँ । औषधि खाएर रोग निको हुने भन्दा पनि औषधि नै खान नपर्ने अवस्था सिर्जना गर्नु चाहिँ महत्वपूर्ण कुरा हो । मेडिकल शिक्षाले पनि पछिल्लो समय योग अध्ययन गराउन थालेको छ । यसले पनि योगको महत्त्व दर्साउँछ ।' उहाँले हाम्रा हरेक दैनिक व्यवहारसँग अध्यात्म र तन्त्रको प्रयोग हुने भन्दै यसको उचित प्रयोग गर्न सके जीवनयापन सहज हुने बताउनु भयो । उहाँले तन्त्र र आधुनिक चिकित्साको क्षेत्रमा धेरै अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको भन्दै प्रज्ञा–प्रतिष्‍ठानसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा। रत्नराज पौडेलले अहिलेको विज्ञान भौतिक विज्ञान भएकोले चेतन विज्ञानको ज्ञान नभएको बताउनुभयो । चेतनाको विषयमा आधुनिक विज्ञानले अध्ययन गर्न नसकेको उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय चेतनाको विषयमा विश्वका वैज्ञानिकहरूले अध्ययन र अनुसन्धान थालेकाले यो विषय सकारात्मक भएको विचार व्यक्त गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागका सल्लाहकार तथा कार्यक्रमका सभाध्यक्ष प्रा. शिवहरि मरहट्टाले चिकित्सा विज्ञानले पनि आफ्नो विधाभन्दा माथि गएर तन्त्र विज्ञानको अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ' आधुनिक भौतिक विज्ञानका उपासकले पनि तन्त्र शास्त्रको विषयमा अनुसन्धान गर्नुपर्दछ ।

लौकिक उपायबाट भएका उपचारले दुःख वा रोग निको हुन्छ, फेरि बल्झिँदैन भन्ने ग्यारेन्टी हुँदैन । आध्यात्मिक र आत्मिक ज्ञानबाट मात्र दुःख वा रोग हट्छ । पूर्वीय दर्शनको मूल उद्देश्य संसार प्रतिको आशक्तिलाई कम गर्नु हो । त्यसलाई हामी सबैले अनुसरण गर्नुपर्दछ ।'

योगगुरु स्वामी कल्याण मित्रले नेपाल प्रज्ञा–प्रतिष्ठानले तन्त्र र विज्ञानलाई जोडि दियोस् भन्ने अपेक्षा रहेको र आज त्यो पूरा भएको बताउनुभयो । धर्म र विज्ञानको अनन्य सम्बन्ध रहेको भन्दै दुवैबाट समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । ब्रह्‍मविद्या वा आत्मविद्या सम्पूर्ण विद्या भएको भन्दै उहाँले ध्यान, योग र साधना ज्ञानसम्म पुग्ने बाटो तथा तन्त्र विद्या पनि मोक्ष, खुसी वा सुख प्राप्तिको साधन भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।