'प्रत्येक पालिकामा १५ बेड सम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ, योजना छ'

'प्रत्येक पालिकामा १५ बेड सम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ, योजना छ'

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २१, २०७९

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्यको क्षेत्रमा अहिलेको सरकार धेरै संवेदनशील भएको बताउनु भएको छ । सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनु भएको हो ।

सरकारको योजनामा प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढिरहेको बताउनु भयो । सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताउनु भयो  ।

मन्त्री खापुङले भन्नुभयो , ‘स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ। सरकारको महत्त्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ। अहिले हामी संघीयताको अभ्यासमा छौँ। प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ। प्रत्येक पालिकामा १५ बेड सम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ, योजना छ। त्यो योजना अनुसार नै सरकार अघि बढिरहेको छ। स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ। यसैगरी एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ।’

उहाँले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवर्द्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको भन्दै वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।