बाली विज्ञान अध्ययनरत विद्यार्थीले विद्यालयको  चार रोपनीमा धान खेती

बाली विज्ञान अध्ययनरत विद्यार्थीले विद्यालयको  चार रोपनीमा धान खेती

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७९

लमजुङ ।  लमजुङको राइनास नगरपालिका-४ सातविसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धान खेती गरेका छन् ।  कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान अध्ययनरत् विद्यार्थी र शिक्षक कर्मचारीले विद्यालयको चार रोपनीभन्दा बढी जमिनमा सामूहिक धान खेती गरेका हुन् । 

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितीमा शिक्षक र विद्यार्थीले राइनास नगरपालिका-४ को टिमुरेस्थित विद्यालयको जग्गामा उन्नत जातको धान रोपेका हुन् ।

 कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले विद्यालयले गत वर्षबाट असारे धान खेती लगाउन सुरु गरेको विद्यालयका प्रधानाध्यापक दिनानाथ त्रिपाठीले बताए। 


विद्यार्थीले धान खेतीसँगै समय अनुसारको तरकारी खेती पनि गर्दै आएका छन् । परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले विद्यालयले सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै कृषिसँग सम्बन्धित आवश्यक संरचना निर्माणलाई पनि प्राथमिकता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वतन्त्र हमालले बताए  । 

बाली विज्ञानअन्तर्गत गत वर्ष एसईई दिएका ४० जना नजिताको पर्खाइमा छन् भने हाल कक्षा ९ मा ४२ जना र कक्षा १० मा ४३ जना विद्यार्थी अध्ययनरत छन् ।  

२०१२ सालमा प्राविको रुपमा स्थापित विद्यालय २०२५ सालबाट माध्यमिक तह सञ्चालनमा आएसँगै २०७६ सालदेखि कक्षा ९ मा कृषि बाली विज्ञानको पढाइ शुरु भएको हो । विद्यालयले चालु शैक्षिक सत्रबाट ११ कक्षा सञ्चालनको तयारी गरेको छ ।