अपर सोलु हाइड्रो : आइपीओका लागि ३ गुणा बढी आवेदन

अपर सोलु हाइड्रो : आइपीओका लागि ३ गुणा बढी आवेदन

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २१, २०७९

काठमाडौँ । अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलब ९० गुणा बढी आवेदन हो । 
 
कम्पनीले सोमबार ९असार २० गतेबाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्  ।

२३ असारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको  आइपीओलाई मध्यम जोखिम आधार जनाउने  ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।