मुगुको मष्टा आधारभुत विद्यालय: कोठा एक, कक्षा चार

मुगुको मष्टा आधारभुत विद्यालय: कोठा एक, कक्षा चार

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार २३, २०७९

मुगु । सोरु गाउँपालिका–९ तलिकालै स्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ । स्थापनाको एक दशक बितिसक्दा पनि भौतिक संरचना अभावमा यो विद्यालयले यसरी नचाहँदा नचाहँदै पनि कलिला बालबालिकालाई कष्ट दिइरहेको छ ।  

०६८ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाई हुन्छ । विद्यालयमा छात्रा ४८ र छात्र ५० गरी ९८ जना अध्ययनरत छन् । सयको हाराहारीमा विद्यार्थी भए पनि उनीहरूलाई एउटै कोठामा बसाएर पठनपाठन गर्नु परेको विद्यालयले जानकारी दिएको छ । 

विशेषगरी यस विद्यालयमा विपन्न, अपाङ्गता भएका विद्यार्थीहरू अध्ययनरत छन् । अपाङ्गता–मैत्री विद्यालय संरचना नहुँदा बालबालिका यसै पनि समस्या भोगिरहेका छन् । कोठा अभाव हुँदा ईसिडी र कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई एउटै कोठामा बसाएर पठनपाठन गराइरहेको मष्टा आधारभुत विद्यालय कालैका प्रधानाध्यापक रत्नप्रसाद चौलागाईले बताए ।  

प्रधानाध्यापक चौलागाईले भने, ‘विद्यालयमा कक्षा कोठा छैनन् भन्ने यहाँका स्थानीय सरकार जानकार छ । तर, कुनै सुनुवाई हुँदैन ।’ यसरी स्थानीय सरकार, सरोकारवाला निकायले संरचाना निर्माणमा बेवास्ता गर्नु विद्यार्थीको भविष्यमाथि खेलबाड हो । 

‘एउटै कोठामा पढ्दा डिस्ट्रप हुन्छ, पढ्नै मन लाग्दैन, जानेको कुरा पनि बिर्सिन्छ, परीक्षामा लेख्नै सक्दैनौं,’ कक्षा ४ मा अध्यनरत जनकराजले भने । जनकराज जस्तै अरु विद्यार्थीले पनि सहज वातावरणमा पढ्न नपाएको बताए ।  

खड्क सुनार/न्युज कारखाना