पाँचथर स्थित चिलिङदिनका कृषकलाई जडीबुटी खेती विस्तार विरुवा वितरण

पाँचथर स्थित चिलिङदिनका कृषकलाई जडीबुटी खेती विस्तार विरुवा वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७९

पाँचथर। जडीबुटि खेती विस्तार  कार्यक्रम अन्तर्गत पाँचथरको फाल्गुनन्द ४ चिलिङदिनका कृषकलाई जडिबुटीका विरुवा वितरण गरेको छ । तीनचुले जडीबुटी कृषि सहकारीले विभिन्न प्रकारका जडीबुटीका विरुवा वितरण गरेको हो ।

१ नम्बर प्रदेश सरकार बन मन्त्रालयबाट आर्थिक सहयोग १० लाख रुपैंया र सहकारीको उपभोक्ता समिति तर्फबाट ५ लाख गरी जम्मा १५ लाख रुपैंयामा मनसुनको समयलाई मध्यनजर गर्दै  संस्थाको कार्यालय पुरानो पञ्चमी बजारबाट किसान तथा शेयर सदस्यलाई विरुवा वितरण गरिएको छ ।

जडीबुटी नर्सरी उत्पादन,विरुवा खरिद वितरण गरि औषधिको कच्चापदार्थ तथा घरेलु जडीबुटी उत्पादन गर्ने लक्ष्यसहित जेठको पहिलो हप्तादेखि कार्यक्रम संचालन भएको संस्थाका सचिव याम नेम्बाङले जानकारी दिनुभयो ।

यस कार्यक्रम मार्फत आस्वगन्ध,सर्पगन्ध,हर्रोबर्रो,तेजपत्ता,कुरिलो,अमला,टिमुर लगायतका जडीबुटीका विरुवा बाँडिएको संस्थाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।अगुवा कृषकलाई जडीबुटी सम्बन्धी जनचेतना,विरुवा रोपण,जडीबुटीको उपयोग तथा प्राविधिक सहयोगका लागि पालिकाको आयुर्वेदिक औषधालयका वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीद्वारा प्रशिक्षण हुँदै आएको छ ।

सव वन डिभिजन कार्यालय,राँकेले अनुगमन गर्ने उक्त कार्यक्रमलाई डिभिजन वन कार्यालय पाँचथरले कार्यान्वयन गर्ने जनाइएको छ ।

३४ जना शेयर रहेको संस्थाका सदस्यहरुको निजी जमिन र ७ नम्बर फारममा रहेको यस वडाको लगभग दुई सय ५० रोपनी जग्गामा चिराइतो,सतुवा,घ्यूकुमारी, पाखनवेत,टिमुर,लौठसल्ला,बुढी ओखती,खानक्पा आदि जातका बोटविरुवा लगाइएको शेर्पाले बताउनु भयो  ।