स्वास्थ्य राज्य मन्त्री हीराचन्द्र केसी सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

स्वास्थ्य राज्य मन्त्री हीराचन्द्र केसी सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २४, २०७९

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गरेका छन् ।

शुक्रवार मन्त्री केसीले खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा राज्य मन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए । उनले भने, ‘अस्पतालले आम नागरिकलाई सहज तरीकाले सेवा उपलब्ध गराएको छ । यो विषय राम्रो पक्ष हो । अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापनका लागि पहल थाल्छु ।’

सो अवसरमा अस्पताल प्रशासनले राज्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गरिएको छ । अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापन आवश्यक भएको, अस्पताललाई आवश्यक मेशिनरी औजारहरूको लागि उचित बजेट व्यवस्थापन गर्न माग गरीएको अस्पतालका कार्यकारी निर्देशक डा।कृष्णप्रसाद आचार्यले जानकारी दिए । मन्त्रीपरिषद् विधेयक समितिको २०७३ चैत ३ गतेको बैठकबाट सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७३ स्वीकृत भएको हो ।