परिसमाप्तिको अवस्थामा म को हुँ ? के आँखा बन्द गरेर पनि देख्न सकिन्छ ?

परिसमाप्तिको अवस्थामा म को हुँ ? के आँखा बन्द गरेर पनि देख्न सकिन्छ ?

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार २५, २०७९

    लेलिह्यसे ग्रसमानः समन्ता
    ल्लोकान् समग्रान् वदनैज्र्वलद्भिः ।
    तेजोभिरापूर्य जगत् समग्रं
    भास स्तवोग्राः प्रतपन्ति विष्णो ।। ३० ।।

अन्वय र अर्थ – ज्वलद्भििः = देदीप्यमान, बदनैः = मुखहरूद्वारा, समग्रान् =  सम्पूर्ण, लोकान् =  लोकहरूलाई, ग्रसमानः = निल्दै, समन्तात् = सबैतिरबाट, लेलिह्यसे = आस्वादन लिइ रहनु भएको छ,  विष्णो = हे विष्णु ! तव = तपाईका, उग्राः (तीव्राः) = कठोर, भासः = प्रकाश समूह, समग्रं = समस्त, जगत् = जगत्लाई, तेजोभिः = तेजहरूले, आपूर्य (संवाप्य) = व्याप्त गरेर, प्रतपन्ति = सन्तापित गर्दछन् ।

भावार्थ –देदीप्यमान वदन समूहद्वारा समस्त लोकहरूलाई निल्दै, सर्वतोभावले स्वाद ग्रहण गर्नुहुन्छ । हे विष्णो ! तपाईको उग्र प्रकाश समूहले समस्त जगत्लाई तेजसमूहद्वारा परि व्याप्त गरेर सन्तापित गरिरहेको छ ।

विशिष्टार्थ – साधक ! तिमीले आफ्नो साधन जन्य अवस्थालाई यस अवस्थासँग मिलाऊ र शंका शून्य बन । अखण्ड काललाई भूत, भविष्यत् तथा वर्तमान यी तीन खण्डमा बाँधिएको छ केबल परिणाम बुझाउनका लागि । अति सूक्ष्म वर्तमानबाट हट्नाले नै  परिणामहरू को परिणाम अन्त्य हुन्छ अर्थात् अपरिणामी को गर्भमा प्रवेश गर्दछ । त्यो अपरिणामी अवस्था नै विष्णु वा व्याख्यापन अवस्था हो । कालको क्रम अनुसार (क्रिया कालमा) साधक जब अविच्छिन्न रूपले अपरिणामी मा ती परिणामहरूको परिणाम देख्दछ (अर्थात् वर्तमान दृश्य पदार्थ जब भूतको गर्भमा प्रवेश गरेको देख्दछ) तब साधकलाई पनि यसको अनुभव हुन्छ – अहो ! यो जुन परिणामी विश्व संसार छ यो एक अतुल प्रतापवान तेजोमय मुखमा प्रवेश गर्दछ र त्यो विश्व भोक्ता मुख जसले चवाइचवाइकन विश्वको स्वाद लिंदै समस्त विश्वलाई उदरस्थ  गर्दछ ।

    आरख्याहि मे को भवानुग्ररूपो
    नमोऽस्तुते देववर प्रसीद ।

    विज्ञातुमिच्छामि भवन्तमाद्यं
    न हि प्रजानामि तव प्रवृत्तिम् ।। ३१ ।।

अन्वय र अर्थ – उग्ररूपः (अतित्रूmराकारः) = अति डर लाग्दो आकार भएका, भवान् = तपाई, कः = को हुनुहुन्छ ? मे (मह्यं) = मलाई, आरख्याहि = भन्नुहोस्, ते (तुभ्यं) = तपाईलाई, नमः अस्तु = नमस्कार छ, देववर = हे देववर ! प्रसीद = प्रसन्न हुनुहोस्, आद्यं = आदि पुरुष, भवन्तं = तपाईलाई, विज्ञातुं = जान्न, इच्छामि = चाहान्छु, हि = किन कि, तव = तपाईको, प्रवृत्तिं = चेष्टा (कामकाज) लाई, न प्रजानामि = जान्दिन ।

भावार्थ – उग्ररुप भएका तपाई को हुनुहुन्छ ? मलाई भन्नुहोस् । तपाईलाई नमस्कार छ । हे देव वर ! प्रसन्न हुनुहोस् । आदिपुरुष तपाईलाई  म विशेष रूपले जान्न चाहान्छु, किन कि तपाईको प्रवृत्ति (कामकाज) म जान्दिन ।

यिनीहरु मध्ये कुनै पनि बाहिर छैन, सबै त म भित्र नै छ । त्यसैले त सृष्टि स्थिति लयको समस्त क्रिया म भित्र नै हुन्छ, तर पनि न त मैले ती सबैलाई छुन्छु, न म केही गर्छु नै, यस्तो कि ममा केही पनि परिवर्तन भएको देखिदैन ।

विशिष्टार्थ – त्यस्तो अद्भुत अवस्थामा परेर साधकको मनमा एकाएक उत्साहका साथ तमोपारमा के छ भन्ने कुरा जान्न अत्यन्त उत्सुकता हुन्छ । साधकलाई थाहा छ, सबै भूतहरूमध्ये सूक्ष्म त आकाश हो, फेरि यो के हो ? चर्म चक्षुको दृष्टिले अत्यन्त टाढा भएको कारण आकाशको रूप भ्रम वश नीलिमाकारको प्रकाश देखिन्छ । परन्तु अब मैले आँखाहरू बन्द गरेको छु, अब आकाशभन्दा पनि अति सूक्ष्म अपरूप रूपको लीला देख्दैछु, फेरि त्यस सूक्ष्म लाई पनि ग्रास गरेर पेटभित्र जसले भरिरहेको छ, त्यो सूक्ष्मातिसूक्ष्म को हो ? 'आरख्याहि मे'– मलाई भन्नुहोस्, 'को भवानु ग्ररूपः' – यस्तो प्रखर मूर्ति भएका तपाई को हुनुहुन्छ ? मानव भन्दा आकाश वासी देवता गण श्रेष्ठ छन्, परन्तु तपाईँ ती सबैभन्दा श्रेष्ठ हुनुहुन्छ । अतएव हे देव वर !  'नमोस्तु ते', हे श्रेष्ठहरूमा पनि श्रेष्ठ, तपाईलाई नमस्कार छ, 'प्रसीद'– प्रसन्न हुनुहोस्, दया गर्नुहोस् । 'विज्ञातुमिच्छामि'– विशेष गरेर म तपाईलाई जान्न चाहान्छु, तपाईको आदि, अन्त, मध्य, प्रवृत्ति र चेष्टा म बुझ्न सक्दिन ।

श्रीभगवानुवाच –

    कालोऽस्मि लोकक्षयकृत् प्रवृद्धो
    लोकान् समाहर्तुमिह प्रवृत्तः ।

  ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे
 ये ऽवस्थिताः प्रत्यनीकेषु योधाः ।। ३२ ।।

अन्वय र अर्थ – श्री भगवानुवाच = श्री भगवान्ले भन्नुभयो – लोकक्षय कृत = लोकहरूलाई नाश गर्ने, प्रवृद्धः = अत्यन्त शक्तिशाली, कालः = काल, अस्मि = हुँ, लोकान् = समस्त लोकहरूलाई, समाहर्तुं = संहार गर्नका  लागि, इह = यस  समयमा,  प्रवृत्तः = लागेको छु, (अतः), त्वां ऋते अपि = तिमी विना पनि अर्थात् तिमीले युद्ध नगरे पनि, सर्वे = सम्पूर्ण, योधाः = भीष्म, द्रोण, कर्ण प्रभृति योद्धाहरू, ये = जो, प्रत्यनीकेषु = दुबै सैन्यदलमा, अवस्थिताः = लड्नलाई तयार भएर रहेका छन्, न भविष्यन्ति = जीवित रहने छैनन् ।

भावार्थ– श्री भगवान् भन्नुहुन्छ – म लोक क्षय गर्ने अत्युत्कट काल हुँ, यस लोक समूहलाई संहार गर्नका लागि म प्रवृत्त भएको हुँ, अतएव तिमी विना अर्थात् तिमीले युद्ध नगरे पनि समस्त योद्धागण जो दुबै सैन्यदलमा अवस्थित छन् तिनीहरू मध्ये कोही पनि जीवित रहने छैन ।

विशिष्टार्थ – प्रकृतिस्थ आत्महारा साधकले पहिले पहिले जे जे देखेर आएका छन्, निजबोध ज्ञान अनुसार तिनको विचार भीमांसा गर्दछन् । यही कुरा  'श्री भगवानुवाच'  वाक्यद्वारा व्यक्त हुन्छ ।

साधकले विचार गर्छ, मैले जे  देखिरहेको छु तिनीहरूलाई त मैले आँखा बन्द गरेर पनि देख्छु । के आँखा बन्द गरेर पनि देख्न सकिन्छ ? खुला आँखाले आफ्नो  शरीरदेखि पृथक अन्य पदार्थहरूलाई बाहिर जे देख्छ त्यसैलाई देख्नु भन्दछन् । फेरि यो कस्तो देख्नु हो ! यिनीहरु मध्ये कुनै पनि बाहिर छैन, सबै त म भित्र नै छ । त्यसैले त सृष्टि स्थिति लयको समस्त क्रिया म भित्र नै हुन्छ, तर पनि न त मैले ती सबैलाई छुन्छु, न म केही गर्छु नै, यस्तो कि ममा केही पनि परिवर्तन भएको देखिदैन ।

त्यसैले त कर्म मात्रको परि समाप्तिको स्थान म नै म हुँ । ओहो ! यो  म को हुँ ? जसको कर्म नै खाद्य छ, सोही  कर्म भुक् म हुँ ? यो म के सम्झन्छु ? यो म को हुँ ?' कालोऽस्मि लोक क्षय कृत् प्रवृद्धः'– अति महान् असीम लोक क्षय गर्ने काल नै म हुँ ! यस समय म ती लोक मात्रको संहरण (संहार) मा प्रवृत्त भएको छु । हे अर्जुन ! यी जुन दुबै पक्षमा युद्ध गर्नका लागि जो सबै आएका देखिन्छन्, भविष्यमा तिमी वाहेक तिनीहरू मध्ये कोही पनि जीवित रहने छैन । (किन कि–साधकले देख्दछन्– उनै परमात्मामा सबैको परिणाम हुन्छ, परन्तु उहाँ आफू अपरिणामी हुनुहुन्छ ) ।

    तस्मात् त्वमुत्तिष्ठ यशो लभस्व
    जित्वा शत्रून् भुंक्ष्व राज्यं समृद्धम् ।

    मयैवेते निहताः पूर्वमेव
    निमित्तमात्रं भव सव्यसाचिन् ।। ३३ ।।

क्रमशः