कार्तिकेय घिमिरे: बाल साहित्यका पुस्तक १ सय प्रकाशन, डेढ लाख प्रति उपहार दिने सर्जक

कार्तिकेय घिमिरे: बाल साहित्यका पुस्तक १ सय प्रकाशन, डेढ लाख प्रति उपहार दिने सर्जक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  असार २५, २०७९

उहाँको बुवाआमा खेती,  किसानी गर्नुहुन्थ्यो । आर्थिक अवस्थाका बारेमा भन्नुपर्दा मध्यम वर्गीय परिवार । उहाँको नाम कृष्ण प्रसाद घिमिरे तर साहित्यिक नाम भने कार्तिकेय घिमिरे । उहाँको जन्म २०३३ सालमा हरिवन सर्लाहीको स्कुल टोलमा भएको हो । त्यसबेलाको वडा नं २ अहिलेको वडा नं ८ । 

सर्लाहीको हरिवन उखुका लागि एकदमै परिचित छ । उहाँले पनि बालापनको उटपट्याङ रुपमा सानोमा उखु चोरेर खानुभयो । बाहिर खेलिने खेलहरु उहाँका रूचिका विषय थिए । बाल्यकाल धेरै बाहिर खेलिने खेल खेलेर बित्यो । 

फुटबलको उहाँ एकदम राम्रो खेलाडी हुनुहुन्थ्यो । स्कुलको वीरेन्द्र शिल्ड अनि गाउँमा पनि निकै फुटबल खेल्नुभयो । यस हिसाबले धेरै साथीभाइले उहाँलाई फुटबल खेलाडी हुन्छ पनि भन्थे । उहाँ कराँतेको पनि ब्राउन बेल्ट पाएको खेलाडी हो । उहाँ स्कुलमा सय मिटर दौडमा सधैँ प्रथम हुनुहुन्थ्यो । उहाँले त्यस बेलाका केही पुरस्कार तथा प्रमाणपत्र अहिले पनि जोगाएर राख्नु भएको छ कार्तिकेय घिमिरेले । 

०००

उहाँको प्रारम्भिक शिक्षा महादेव जनता माविमा भएको हो । भिमबहादुर सर, गोविन्द सरहरूबाट उहाँले अक्षर चिन्नुभयो । पढ्नु भयो । उहाँले कालो पाटी तथा कापीमा लेख्दै पढ्नु भएको हो । तर, कापीहरू भने पर्याप्त थिएनन् । कहिलेकाहीँ भित्तामा पनि कविता नलेख्नु भएको होइन । त्यस बेला पाठ्य पुस्तक बाहेकका सामग्री पढ्न मुश्किल नै थियो । पुग्दो गरी पत्रपत्रिका पुगिसकेको समय थिएन । बुवाआमाले कहिलेकाहीँ पत्रपत्रिका तथा अन्य पाठ्य सामग्री लगिदिनुहुन्थ्यो । 

आवासीय विद्यालयको प्रचलन त्यति आइनसकेको हुनाले उहाँको पालामा सरकारी स्कुल नै निकै लोकप्रिय थिए । उहाँ प्राथमिक तहमा पढ्दा पनि एउटा कक्षामा झण्डै ४०/५० जना हुन्थे । महिलाहरुको संख्या भने ८/१० जनामा सीमित थियो । बस्नलाई ठिकै खालका डेस्क बेन्चको व्यवस्था थियो । 

गाउँको राम्रो सरकारी विद्यालय भएका कारण निम्न माध्यमिक तहमा पनि विद्यार्थीको चाप राम्रै थियो । 

माध्यमिक तहमा आइसकेपछि उहाँहरु भट्टीको डगरमा उहाँहरुको दुई समूहबीच मैत्रीपूर्ण कुस्ती चल्थ्यो । असिन, पसिन अनि जिउका घाउ, कोतर कातर र कहिलेकाहीँ त रगत पनि आउँथ्यो । तर, स्कूल आइसकेपछि सबैसँग मित्रता पूर्ण व्यवहार हुन्थ्यो र सँगै खाजा खाने काम हुन्थ्यो । यो उमेर शक्ति प्रदर्शनको उमेर थियो । उहाँले पनि आफ्नो घर पछाडि एउटा बक्सिङ हान्ने किक ब्याग राख्नु भएको थियो जहाँ उहाँ बक्सिङ तथा किक अभ्यास गर्नुहुन्थ्यो । 

स्कुलमा वादविवाद, कविता तथा अन्य साहित्यिक कार्यक्रम हुन्थ्यो । उहाँ यस्ता प्रतियोगितामा भाग लिने तथा पुरस्कार पनि जित्नुहुन्थ्यो । रेडक्रस जिल्लास्तरीय प्रतियोगितामा उहाँले प्रथम पुरस्कार जित्नु भएको थियो । निर्णायक भने साहित्यकार प्रेमा शाह हुनुहुन्थ्यो । नायिका जल शाहले पनि त्यस बेला सान्त्वना पुरस्कार जित्नु भएको थियो 

पुरस्कार जितेपछि उहाँहरुलाई हरिपुरको महावीर जनता माविमा वृक्षरोपण गर्न लगाइएको थियो । उहाँहरु आफूले रोपेको बिरुवामा पानी हाल्न तथा संरक्षण गर्न पछिसम्म पनि वृक्षरोपण गरेको ठाउँमा उभिइरहनुहुन्थ्यो । उहाँ विद्यार्थीका रुपमा पनि राम्रै विद्यार्थी हुनुहुन्थ्यो । तर, बसाई भने तेस्रो बेन्चतिर हुन्थ्यो । 

उहाँले २०४९ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा ४०/५० जना विद्यार्थी थिए । जसमा ४/५ जना बाहेक सबै पास भए । उहाँको २० नम्बर जति कम भयो फस्र्ट डिभिजनका लागि । 

०००

एसएलसी दिएपछि उहाँ दिदी कहाँ नेपालगञ्ज घुम्न जानुभयो । भान्जीलाई पढाउँदै गर्दा अरु छिमेकीले पनि आफ्ना छोराछोरीलाई पढाइदिन भनेपछि उहाँसँग ट्युसन पढ्ने झण्डै ३०/४० जना पुगे । झण्डै दुई महिना पढाउनुभयो । सबै गरेर झण्डै १०/२० हजार रुपैयाँ भएको थियो । 

फर्केर आएपछि उहाँ हरिवन बाट झण्डै ५/७ किमि टाढा रहेको सुके पोखरीको चतुर्भुज जनता माविमा दश जोड दुई पढ्न थाल्नुभयो । उहाँ चतुर्भुज जनता माविको दश जोड दुईको पहिलो ब्याचको विद्यार्थी हुनुहुन्छ । 

दश जोड दुईमा अंग्रेजीमा 'लिट इंग्लिस'  भन्ने विषय थियो । तर, कक्षामा साथीहरुसँग पढ्ने वातावरण नबेन् । उहाँले साथीहरुलाई मनाउने कोशिश पनि गर्नुभयो । तर, नमानेपछि एकदिन उहाँ आफैँ सरको पछि लागेर कोठा पत्ता लगाउनुभयो । सरले कलेज दिएको क्वार्टरमा बस्नुहुने रहेछ । अनि आफ्नो भागमा छुट्टयाएको अम्बाको बोटको अम्बा बोकेर सर कहाँ जानुभयो पढाइ माग्न । 

यस्तो कार्यक्रम चलेको ४/५ वर्ष भयो । बीचको समयमा कोभिडका कारण केही समय कार्यक्रम बन्द पनि भयो । उहाँहरुले करिब एक/डेढ लाख पुस्तक उपहार दिइसक्नु भएको छ । 

साथीहरुले उडाउ लान भनेर उहाँले यो कुरो भन्नु भएको पनि थिएन । पछि साथीहरु सबैको उक्त 'लिट इंग्लिस' विषय लाग्यो । पास हुने एक्लो मा उहाँ पर्नुभयो । यदि त्यो वर्ष उहाँ एकजना पास नहुनु भएको भए कलेजले पाउँदै आएको सरकारी शिक्षण कोटा नै  काटिने थियो । त्यसपछि उहाँले आफूले  शुल्क  पनि फिर्ता पाउनु भयो । 

अब उहाँ बि एड पढ्न रात्रि बस चढेर काठमाडौँको शिक्षा क्याम्पसमा आउनु भयो । बसमा त्यस बेला उहाँले एक/डेढ सय रुपैया तिरेजस्तो लाग्छ । ठ्याक्कै भने सम्झना छैन । हुनत एकपटक भात ख्वाईमा उहाँ काठमाडौँ आउनु भएको थियो रे !  अब त्यो सम्झनामा रहने कुरा भएन । शिक्षा क्याम्पसमा पढ्दा उहाँ साहित्य समाजको सभापतिसमेत हुनुहुन्थ्यो । 

उहाँ काठमाडौँ आएर पुरानो बसपार्कमा झर्नुभयो । त्यस बेला काठमाडौँ र गाउँमा धेरै फरक थियो । अहिले समय परिवर्तन भएको छ । काठमाडौँका घर तथा बाटो हेर्दा धेरै ठूलो लाग्थ्यो । बाटो पनि अल्मलिने हुन्थ्यो । एक प्रकारको अलि के हो के हो भन्ने जस्तो अनुभव थियो । 

उहाँ सुरुमा टंगालस्थित ठूलो बाको घरमा बस्नुभयो । उहाँ पशुपतिको सत्तलमा पनि करिब ६/७ महिना बस्नुभयो । काठमाडौँ आउने बित्तिकै ट्युसन पढाउने माहौल नबनेको हुनाले पनि केही समय उहाँलाई दुःख भयो । करिब ८/९ महिनापछि भने उहाँले ट्युसन पढाउन थाल्नुभयो । 

पहिले उहाँ पशुपति सत्तलमा बस्दा कालिमाटी गएर ट्युसन पढाउनुहुन्थ्यो । पछि अभिभावकले टाढा भयो, कहाँ बस्ने के भनेर सोध्न थालेपछि उहाँ बल्खु सर्नुभयो । उहाँले ज्वाला स्कुलमा पनि करिब ४/५ वर्ष पढाउनु भयो ।

उहाँहरु ३/४ जना साथी मिलेर पछि कालिमाटी एरियामा ट्युसन सेन्टर पनि खोल्नुभयो । कसैले पुतलीसडक एरियामा पोष्टर टाँस्यौ भने विद्यार्थी आउँछन् भनेर उहाँहरु राति ९ बजे कलेज छुट्टी भएपछि पोष्टर टाँस्न पनि जानुहुन्थ्यो । त्यस क्रममा पुलिसले सोधपुछ पनि गर्थ्यो । तर परिचय पत्र देखाएपछि फेरि बल्खुसम्म लगेर छोडि पनि दिन्थ्यो । 
पोष्टर टाँसेपछि विद्यार्थी पनि आए पढ्न । त्यसले थप खुशी पनि दियो । 

शिक्षा क्याम्पसबाट बि एड गरेपछि उहाँले 'कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन' बाट एमए गर्नुभयो । एमए आफ्नो रूचिको विषय पनि भएको हुनाले उहाँको नम्बर पनि राम्रो आएको छ । अब पिएचडी को लागि बालबालिका तथा पत्रकारितामा पिएचडी गर्नका लागि उहाँ एमफिल गर्दै हुनुहुन्छ । 

०००

२०४७ सालमा जिल्ला व्यापी रेडक्रस कविता प्रतियोगितामा उहाँ प्रथम हुनुभयो । त्यसभन्दा अगाडि पनि उहाँ कविता लेख्नुहुन्थ्यो । तर, चर्चा भएर पुरस्कार भने पाउनु भएको थिएन । पुरस्कार पाएपछि भने ए मान्छेहरुले राम्रो मान्दा रहेछन् भन्ने लागेपछि उहाँ अलि खुलेर साहित्यमा आउनु भयो । 

२०५७ सालमा उहाँले पढ्ने पढाउने क्रमलाई थाँती राखेर बालमन्दिरको बालक पत्रिकामा कान्छो सम्पादक भएर काम पनि गर्नुभयो । त्यसपछि भने उहाँको बाल साहित्य तर्फको यात्राको गति एकदमै बढ्यो । करिब ५ वर्ष उहाँले सम्पादक भएर काम गर्नुभयो । 

सम्पादकपछि उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न अन्तर्राष्टिय दातृ निकायमा तालिम प्रशिक्षक भएर काम गर्नुभयो । त्यो क्रम अहिले पनि छ । भित्ते लेखन, प्रशिक्षक कसरी बन्ने तालिम, लेखन, कथा वाचनको तालिम दिन थाल्नुभयो । 

उहाँले केही समय कथा वाचनको काम करिब ४५ जिल्लामा गर्नुभयो । बालबालिकालाई त्यस सम्बन्धमा तालिम पनि दिनुभएको छ । 

२०६२ सालमा सम्पादकको काम छोडेपछि १२ वटा स्कुलको प्राचार्य र उहाँ भएर गार्डेन भन्ने अंग्रेजी पत्रिका पनि चलाउनु भयो ।  उहाँहरुले २०६४ सालमा बाल साहित्य प्रतिष्ठान पनि खोल्नुभयो । पहिले उहाँ सदस्यको भूमिकामा हुनुहुन्थ्यो । अहिले भने अध्यक्ष हुनुभएको छ । 

उहाँका डेढ दुई सय बालकथा अंग्रेजीमा अनुवाद भएका छन् । बाल साहित्यमा उहाँको झण्डै १ सय वटा पुस्तक प्रकाशन भएका छन् । त्यसमा २०/२२ वटा पुस्तक अंग्रेजीमा अनुवाद भएर पनि प्रकाशन भएका छन् । 

उहाँको पहिलो बाल साहित्यिक पुस्तकका रुपमा ‘बुद्धिमान छोरी’ २०५३ सालमा प्रकाशन भएको हो । २०५४ मा मेरी सानी राधा प्रकाशन भयो । यसरी उहाँका झण्डै १ सय पुस्तक प्रकाशन भएका छन् । 

अहिले पनि उहाँ वर्षमा २०/२५ वटा पुस्तक अनुवाद तथा सम्पादनमा व्यस्त हुनुहुन्छ । पछिल्लो समयमा उहाँ पूरै बाल साहित्यमा लागिरहनु भएको छ । 

मुर्दालाई दुख्दैन भन्ने उहाँको ठूला पाठकका लागि कविता संग्रह प्रकाशन भएको छ । उहाँको अहिले उद्देश्य भनेको बालबालिकामा पठन संस्कृति विकास गर्नका आवश्यक काम गर्ने रहेको छ । 

उहाँहरु किताब किन्न नसक्ने बालबालिकाका लागि निःशुल्क किताब वितरण गर्ने गर्नुहुन्छ । यस वर्ष नै १ हजार जना बालबालिकालाई किताब बाँड्ने तयारीमा हुनुहुन्छ । ज्याला, मजदुरी  तथा अन्य कामका क्रममा काठमाडौँ छिरेका अभिभावकको बालबालिका धेरै सुविधाबाट वञ्चित छन् । यस कुरालाई मध्यनजर गरेर पनि उहाँहरुले किताब बाँड्ने सोच बनाउनु भएको हो । त्यस्ता करिब ४२ जिल्लाका बच्चाहरुलाई एक सेट किताब वितरण गर्दै हुनुहुन्छ । एक सेटमा करिब ४०/४५ वटा किताब हुन्छन् । बालबालिकाले पुस्तक पढेर समीक्षा पनि लेख्छन् । त्यो समीक्षा उहाँहरु विभिन्न पत्रिकामा छपाउनुका लागि पठाउनुहुन्छ । 

यस्तो कार्यक्रम चलेको ४/५ वर्ष भयो । बीचको समयमा कोभिडका कारण केही समय कार्यक्रम बन्द पनि भयो । उहाँहरुले करिब एक/डेढ लाख पुस्तक उपहार दिइसक्नु भएको छ । 

उहाँका थुप्रै पुरस्कार तथा सम्मान पनि प्राप्त  गरिसक्नु भएको छ ।