श्रीलंका: राष्ट्रपति र प्रधानमन्त्री निवास जनताको कब्जामा, जनता स्वीमिङ पुलमा,राष्ट्रपतिको भागाभाग

श्रीलंका: राष्ट्रपति र प्रधानमन्त्री निवास जनताको कब्जामा, जनता स्वीमिङ पुलमा,राष्ट्रपतिको भागाभाग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २६, २०७९

देश र जनताप्रतिको उत्तरदायित्व भुलेर नेताहरु भोगविलास, पार्टी र पारिवारिकता, राष्ट्रिय सम्पत्तिमाथि लुटपाट मच्चाउन थाले भने देशको अवस्था कस्तो बन्छ भन्ने उदाहरण बनेको छ, श्रीलंका । 

श्रीलंका यतिबेला स्वतन्त्रतापछिकै सबैभन्दा संकटको अवस्थामा छ । श्रीलंकाको अहिलेको संकटले नेपालको राजनीतिक अवस्थालाई समेत संकेत गरेको छ । नेपालमा जस्तो छुद्र, अपरिपक्व र देश लुट्ने राजनीति चलिरहेको छ, श्रीलंका यही बाटोबाटै अहिलेको संकटको अवस्थामा पुगेको हो । श्रीलंकामा लामो समय चलेको तमिल विद्रोह, त्यसलाई सकाउने नाममा सरकारले मच्चाएको हत्याको शृङ्खला, त्यसको जस लिएर पटक पटक राजापाक्षे परिवारको सत्तारोहण, सत्तामा पुगेर राष्ट्रको ढुकुटीमाथि ब्रम्हलुट जस्ता कारण देश संकटमा पुगेपछि श्रीलंकाली जनता यतिबेला सडकमा उत्रिएका छन् । 

श्रीलंकाको राजधानी कोलम्बोमा हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबाया राजपक्षको सरकारी निवासमा प्रवेश गरेका छन् । जनताले राष्ट्रपति भवनमाथि कब्जा गरेपछि राष्ट्रपति राजापाक्षलाई भने सुरक्षित स्थानमा राखिएको छ । संकट गहिरिदै गएपछि केही समयअघिमात्रै प्रधानमन्त्री रनिल विक्रमासिंघेले देश टाट पल्टिएको र इन्धन किन्ने पैसा समेत नबचेको घोषणा गरेका थिए । नेपालजस्तै श्रीलंका लामो समयदेखि नै पारिवारिक राजनीति र शासनमा चल्दै आएको छ ।

श्रीलंकाको केन्द्रीय बैंकले आधारभूत ब्याजदरमा एक प्रतिशतले वृद्धि गरेका छ । योसँगै त्यहाँ बैंकले दिने ऋणको ब्याजदर १५.५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४.५ प्रतिशत ब्याज निर्धारण गरिएको छ । यो २१ वर्षकै सर्वाधिक ब्याजदर हो । खाद्यपदार्थको मूल्य ८० प्रतिशतसम्म बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ ।

श्रीलंकामा बन्दरानाइके परिवार र राजापाक्ष परिवारको लामो राज चल्यो । तर देश यसरी टाट पल्टिदै गएको छ कि अब ठूलो संख्यामा जनता सडकमा उत्रिसकेका छन् । जनताको दबाब बढ्दै जाँदा सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री रनिल विक्रमासिंघे राजीनामा गर्न सहमत भएको बताएको छ । शनिबारमात्रै प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा समेत प्रवेश गरेर आगजनी समेत गरेका छन् ।
जनआक्रोश किन ?
श्रीलंकाले दशकौंदेखि ठूलो आर्थिक संकट सामना गर्दै आएको थियो । तर त्यसलाई सही ढंगले समाधान गरेर देशलाई संकटबाट बचाउन नसकेकोमा नेताहरु निशानामा पर्न थालेका छन् । आक्रोशित प्रदर्शनकारीको भीड नियन्त्रण गर्न सुरक्षा निकाय समेत असफल भइरहेको छ ।

कोलम्बोको सरकारी क्षेत्र प्रवेश गर्ने क्रममा आन्दोलनकारीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘गोटा गो होम’ नारा लगाएका थिए । कडा सुरक्षासहित बाहिर निस्किएका उनलाई सेनाले सुरक्षा दिइरहेको छ । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौं मानिसहरू कोलम्बो अएका हुन् । सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो ।

प्रदर्शनकारी रोक्न सैनिक परिचालन गरिएका छन् । तर कडा सुरक्षा व्यवस्थालाई छिचोल्दै प्रदर्शनकारी राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेपछि राष्ट्रपति नै भाग्न बाध्य भएका छन् । प्रहरी अवरोध पार गर्दै राष्ट्रपति गोटाबायाको सरकारी निवासमा प्रदर्शनकारीहरू पुगेपछि तनाव उत्पन्न भएको थियो । सो क्रममा प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । राष्ट्रपति भवन प्रवेशका क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । 

श्रीलंकामा हाल खाद्यान्न, इन्धन र औषधिको चरम संकट छ । आर्थिक संकट र इन्धन अभावबीच राष्ट्रपति गोटाबाया र प्रधानमन्त्री विक्रमसिंगेविरूद्ध प्रदर्शन चर्किएका छन् । 
सरकारविरुद्ध आह्वान गरिएको ठूलो प्रदर्शनमा विपक्षी दलहरू, ट्रेड युनियनहरू, विद्यार्थी र कृषि संगठनका प्रतिनिधिहरू समेत सहभागी थिए । शनिबारको प्रदर्शनका लागि शुक्रवारदेखि नै देशभरबाट मानिसहरु कोलम्बो आएका थिए । 

कोरोना भाइरसको महामारी, बढ्दो ऊर्जा मूल्य, लोकप्रियतावादी कर छुट आदि कारणले श्रीलंकाको अर्थतन्त्र संकटमा पुगेको छ । विदेशी मुद्राको निरन्तर अभाव तथा अकासिदो महँगीले औषधि, इन्धन तथा अत्यावश्यक वस्तुहरूको चरम अभाव छ ।

सात दशकभन्दा लामो अवधिमा देखा परेको सबैभन्दा नराम्रो आर्थिक संकट समाधान गर्न सरकारले चालेका प्रयासहरु सफल हुन सकेको छैन । राष्ट्रपति गोटाबायाले भारत र चीनसँग आर्थिक सहयोग लिएर इन्धन, विद्युत्, खाद्यान्न र अन्य अत्यावश्यक सामान आयात गर्ने प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेको छैन । इन्धन जोगाउने उद्देश्यले सरकारले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गर्न रोक लगाएको छ ।

त्यहाँका उर्जा मन्त्रीका अनुसार नियमित माग अनुसार इन्धन बिक्री गर्ने हो भने एक दिन पनि धान्न नसक्ने अवस्था छ । डलर सञ्चिति सकिदा श्रीलंकाले इन्धन आपूर्ति गर्न सकेको छैन । गत मे महिनामा ऋण तिर्न पाएको एक महिना खेर गएको थियो । श्रीलंकाको आर्थिक संकट हल गर्नका लागि श्रीलंका सरकार र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफबीच तीन अर्ब पाउन्ड सहयोगका विषयमा वार्ता चलिरहेको छ । 

श्रीलंकाको केन्द्रीय बैंकले आधारभूत ब्याजदरमा एक प्रतिशतले वृद्धि गरेका छ । योसँगै त्यहाँ बैंकले दिने ऋणको ब्याजदर १५.५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४.५ प्रतिशत ब्याज निर्धारण गरिएको छ । यो २१ वर्षकै सर्वाधिक ब्याजदर हो । खाद्यपदार्थको मूल्य ८० प्रतिशतसम्म बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ ।

निशानामा राजापाक्षे परिवार

श्रीलंकामा अहिलेको चरम संकट आउनुमा राजापाक्षे परिवार जिम्मेवार भएको आरोप लाग्दै आएको छ । गत वर्षको निर्बाचनबाट गोटाबाया देशको राष्ट्रपतिमा निर्वाचित भएपछि उनले आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए । उनले आर्थिक संकटबीच प्रदर्शन बढ्दै गएपछि गत महिना नै राजीनामा दिइसकेका छन् । गोटाबायाले भने राजीनामा दिन अस्वीकार गर्दै आएका छन् ।

तमिल विद्रोहीविरुद्धको नरसंहारबाट श्रीलंकाको राजनीतिमा पटक जमाएका महिन्दा राजापाक्षेले देशको अर्थतन्त्र सुधारमा भने उल्लेख्य काम गर्न सकेनन् । तमिल विद्रोह दबाउन राजापाक्षे र उनका भाइ तथा वर्तमान राष्ट्रपति गोटाबायाको प्रमुख भूमिका थियो । गोटाबाया त्यसबेला सेनामा कार्यरत थिए । तिनै गोटाबाया गत वर्ष राष्ट्रपति बनेका हुन् । उनले देश आर्थिक संकटमा गएपछि गत मे महिनामा दाजु महिन्दाको स्थानमा रनिल विक्रमासिंगेलाई प्रधानमन्त्री बनाएका थिए । तर उनले पनि देशलाई आर्थिक संकटबाट पार लगाउन ठोस कदम नचाल्दै राजीनामा दिने र सर्वदलीय सरकार बनाउने सहमति भएको छ । एकपछि अर्को सरकार ट्रायल भइरहे पनि आर्थिक संकट हल हुने दिशातिर भने गइरहेको छैन ।