अनुसन्धान र प्रकाशनका कसीमा नेपाल प्रज्ञा-प्रतिष्ठानकाे आ‍‍.व‍. २०७५/०७६

प्रज्ञा-कर्म

अनुसन्धान र प्रकाशनका कसीमा नेपाल प्रज्ञा-प्रतिष्ठानकाे आ‍‍.व‍. २०७५/०७६

भूपराज खड्का/घनेन्द्र ओझा  |  साहित्य  |  असार २६, २०७९

नेपाल प्रज्ञा-प्रतिष्ठानका नियमित कार्यहरूमध्ये भाषा, साहित्य, दर्शन, समाज र संस्कृतिको खोज, अनुसन्धान र यी सम्बद्ध विषयका पुस्तक, पत्रपत्रिका प्रकाशन पनि हो ।

हरेक वर्ष भाषा, साहित्य, दर्शन, समाजशास्त्र, संस्कृतिका विषयमा विज्ञ व्यक्तित्वहरूलाई खोज, अनुसन्धान गराई गहन र अनुसन्धानमूलक पुस्तकहरू प्रकाशन गर्ने काम प्रतिष्ठानबाट भइरहेको छ ।

यसै क्रममा आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ को असारसम्म प्रतिष्ठानबाट गरिएका खोज, अनुसन्धान र प्रकाशन गरिएका पुस्तक तथा पत्रपत्रिकाहरू यस खण्डमा उल्लेख गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानले आ.व. २०७५/०७६ मा विभिन्न योजनाहरू पूरा गर्ने लक्ष्य लिई कार्यक्रम तथा बजेट निर्माण गरेको थियो । यी कार्यक्रमहरूमध्ये भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रलगायतका विषय क्षेत्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान र अनुवादहरूमा विभिन्न विद्वान्हरू संलग्न हुनुभएको थियो भने गोष्ठी सम्मेलनहरूमध्ये केही प्रज्ञा-प्रतिष्ठान आफैँले र केही स्थानीय सङ्घसंस्थाहरूसँगको सहकार्य एवम् सहभागितामा सम्पन्न भएका थिए ।

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट आ.व.२०७५/०७६ अन्तर्गत २०७५ श्रावण मसान्तदेखि २०७६ आषाढ मासान्तसम्म सम्पन्न अध्ययन, अनुसन्धान, अनुवाद, ग्रन्थलेखन, गोष्ठी, सम्मेलन, कार्यशाला, प्रवचन तथा प्रकाशनका कार्यहरू निम्नानुसार छन् ।

यस आ.व.मा भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग अन्तर्गत गरिएका अध्ययन, अनुसन्धान, अनुवाद, सम्पादन र ग्रन्थ लेखनको कार्य सम्पन्न भएको छ । यस वर्ष ३ वटा अध्ययन, अनुसन्धान कार्य उस विभागबाट सम्पन्न भएका छन् ।

प्रा.डा. बद्रीविशाल भट्टराईले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’का लागि थप शब्दहरू सङ्कलन, व्यवस्थापन, एकरूपता र रुजुको कार्य सम्पन्न गर्नुभएको छ । यसरी नै भीमनारायण रेग्मीले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’का लागि ‘र’ वर्णदेखि ‘ह’ वर्णसम्मबाट सुरु हुने शब्दहरूको सङ्कलन र सम्पादन गर्नुभएको छ भने प्रा.डा. माधवप्रसाद पोखरेल र
डा. अपर्णा पोखरेलले नेपाली वर्ण व्याकरण लेखन एवम् सम्पादन कार्य सम्पन्न गर्नुभएको छ ।

यही आ.व.मा यस विभागबाट ३ वटा पुस्तक प्रकाशन भएका छन् । ‘अर्थशास्त्र शब्दावली’, ‘नेपाली व्याकरणको विकास क्रमिक अनुशीलन’ र ‘किराँत भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन’ गरी ३ वटा पुस्तक लेखन र प्रकाशनको कार्य यस आ.व.मा यस विभागबाट सम्पन्न भएको हो ।
 
प्रतिष्ठानका ११ वटा विभाग र केन्द्रबाट यसबीचमा निकै गहन र प्रभावकारी अध्ययन, अनुसन्धान र प्रकाशन भएका छन् । संस्कृति विभागबाट पनि यस आ.व.मा ३ वटा महत्त्वपूर्ण अनुसन्धान सम्पन्न भएका छन् । ख्यालमान राईले ‘पहरी जातिको उत्पत्ति, विकास, सांस्कृतिक सामाजिक, आर्थिक, शैक्षिक, भाषिक तथा राजनीतिक अवस्था’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको छ भने शान्ता मानवीले ‘लोपोन्मुख नटुवा समुदायको सांस्कृतिक अध्ययन’ यसै विभाग अन्तर्गत सम्पन्न गर्नुभएको छ ।

यसरी नै यही विभागबाट डा. मीन श्रीस मगरले ‘नेपाली राष्ट्रिय सांस्कृतिक विकासमा मगर पुजारीहरूको भूमिका’ शीर्षकमा गहन अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

संस्कृति विभागले पनि यस आ.व.मा ३ वटा विभिन्न विषयका पुस्तक प्रकाशन गरेको छ । ‘मैथिल लोकसंस्कृति: विविध आयाम’, ‘नैया जाति र सामाजिक अध्ययन’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ जस्ता गहन खोजमूलक पुस्तकको प्रकाशन यस विभागबाट भएको  देखिन्छ ।

यसैगरी दर्शनशास्त्र विभागको पहलमा यस आ.व.मा ४ वटा अनुसन्धानका कार्य सम्पन्न भएका छन् । नारायणप्रसाद आचार्यले ‘द्वन्द्ववाद र पौरस्त्य दर्शन’ विषयक अनुसन्धान कार्य यस विभागबाट सम्पन्न गर्नुभएको छ भने गोपीरमण उपाध्यायले ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’ गर्नुभएको छ ।

यसै आ.व.मा केशवशरण अर्यालले ‘प्रशस्तपादभाष्यको अनुवाद र विवेचन’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको छ भने डा. हरिप्रसाद पोखरेलले ‘नेपालमा योग दर्शन र यसको क्रियात्मक परम्परा’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको पाइन्छ ।

दर्शनशास्त्र विभागबाट यस आ.व.मा १० वटा विभिन्न विषयका पुस्तक प्रकाशन भएका छन् ।

‘न्यायसूत्र र वैशेषिक सूत्रको तुलनात्मक पर्यालोचन’, ‘गोपालनिधि तिवारीका दार्शनिक रचनाहरू’, ‘द्वन्द्वात्मक भौतिकवादी दार्शनिक दृष्टिमा महाभारतकालीन समाज’, ‘देवीद्व्यर्धशतिका’, ‘कर्मदर्शन’, ‘दर्शनावली भाग ५’, ‘कालिकाकुलपञ्चशतक’, ‘दर्शनबोध’, ‘बौद्ध दर्शन: सरल अध्ययन’ र ‘दर्शनावली भाग- ६’ यस आ.व.मा दर्शनशास्त्र विभागबाट प्रकाशन भएका पुस्तकहरू हुन् ।

यस आ.व.मा ‘प्रज्ञा लोकवार्ता विवेचना’, ‘प्रज्ञा बालसाहित्य विवेचना’, ‘बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य’, ‘नेपाली बालनाटक’, ‘लोकवार्ता सिद्धान्त र नेपाली सन्दर्भ’, ‘छाउपडी प्रथा र यसको मनोसामाजिक प्रभाव’, ‘नेपाली प्रतिनिधि बालकविता’, ‘प्रज्ञा नेपाली बालकथा’ र ‘प्रज्ञा नेपाली बालगजल’ गरी ९ वटा पुस्तक प्रकाशन भएका छन्

यसरी नै सामाजिक शास्त्र विभागबाट यस आ.व.मा ५ वटा अनुसन्धानका कार्य सम्पन्न भएका छन् । क्षितिज सुब्बाले ‘लिम्बू याक्थुङ्वा जाति र मौलिक संस्कारहरू’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको छ भने डा. गिरिधारी दाहालले ‘कास्की जिल्लाको राजनीतिक इतिहास’ विषयमा अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

यसैगरी डा. शुक्रराज अधिकारीले ‘समाजशास्त्रीय दृष्टिमा स्वस्थानी व्रतकथा र सांस्कृतिक जीवनमा परेको प्रभाव’ विषयमा अनुसन्धान सम्पन्न गर्नुभएको छ । डा. नीलप्रसाद पन्तले ‘बागलुङ मूलपानीका कूर्माञ्चल ब्राह्मण: एक अध्ययन’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको देखिन्छ । यसै आ.व.मा भोज विक्रम बुढामगरले ‘प्युठानका कोटहरू: एक अध्ययन’ शीर्षकको अनुसन्धान गर्नुभएको छ ।

यस आ.व.मा सामाजिक शास्त्र विभागबाट ‘नेपालका जातीय सामाजिक संस्कार’ भाग- ५ र ‘बागलुङ नगरपालिकाका दमाईं जातिको सामाजिक-सांस्कृतिक, आर्थिक र राजनीतिक अवस्थाको अध्ययन’ गरी २ वटा पुस्तक प्रकाशन भएका छन् ।

भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट पनि यस आ.व.मा उल्लेख्य काम भएका देखिन्छ । यस विभागले यस आ.व.मा ४ वटा अनुसन्धानका कार्य सम्पन्न गरेको छ ।

प्रधानसम्पादक प्रा.डा. योगेन्द्रप्रसाद यादव र सम्पादकहरू डा. दुविनन्द ढकाल, डा. बलराम प्रसाईं र डा. तारामणि राईले ‘अपडेटिङ अ क्लासिफाइड बिब्लियोग्राफी अफ नेप्लिज ल्याङ्ग्वेजेज एण्ड लिङ्ग्विस्टिक्स’ नामक ग्रन्थ निर्माण गर्नुभएको पाइन्छ । यसरी नै प्रधानसम्पादक प्रा.डा. योगेन्द्रप्रसाद यादव र भाषा सम्पादक डा. कर्णाखर खतिवडाको समूहले ‘मातृभाषाहरूको रूपरेखा’ विषयक अध्ययन सम्पन्न गरेको देखिन्छ ।

प्रधानसम्पादक प्रा.डा. योगेन्द्रप्रसाद यादव र सम्पादक डा. लवदेव अवस्थीले ‘पर्सपेक्टिभ्स अन इस्युज इन मदर टङ बेस्ड मल्टिलिङ्ग्युअल एजुकेसन इन नेपाल’ विषयक ग्रन्थ निर्माण गर्नुभएको छ भने कृष्णकुमार साहले ‘पर्सपेक्टिभ्स अन इस्युज इन मदर टङ बेस्ड मल्टिलिङ्ग्युअल एजुकेसन’को लिआइपिजिङ स्टाइल सिटअनुसार सम्पादन गर्नुभएको छ ।

भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट यस आ.व.मा ३ वटा पुस्तक प्रकाशन भएका छन् । ‘लोपोन्मुख खुना भाषाः एक अध्यययन’, ‘बोटे भाषाको व्याकरण’ र ‘भुजेल-नेपाली-अङ्ग्रेजी शब्दकोश’ यस आ.व.मा यस विभागबाट प्रकाशन भएका पुस्तक हुन् ।

साहित्य (पद्य) विभागबाट यस आ.व.मा ४ वटा अनुसन्धानका कार्य सम्पन्न भएका देखिन्छ । सम्पादकद्वय प्रा.डा. हेमनाथ पौडेल र डा. अमर गिरीले ‘समकालीन नेपाली कविताको शिल्प’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको छ भने संयोजक प्रा.डा. हेमनाथ पौडेल र सम्पादक डा. सुकुम शर्माले ‘गोविन्द भट्टका कविता सङ्कलन एवं सम्पादन’ गर्नुभएको छ ।

यसरी नै डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले प्रज्ञा प्रतिनिधि नेपाली गजल’ सङ्कलन एवं सम्पादन गर्नुभएको छ । यसरी नै चेतनाथ धमलाले ‘प्रज्ञा हाइकु’ सङ्मलन एवं सम्पादन गर्नुभएको छ ।

यस विभागबाट ‘समकालीन नेपाली कविताको समाजशास्त्र’, ‘नेपाली प्रगतिवादी कविताको इतिहास’, ‘गोविन्द भट्टका कविता’ र ‘काव्य विमर्श’समेत प्रकाशन भएका छन् यस आ.व.मा ।

साहित्य (अनुवाद) विभागबाट यस आ.व.मा ५ वटा गहन अनुवाद सम्पन्न भएका छन्, जसमा बद्रीप्रसाद घिमिरेले ‘लिओ हिमालिअन/एडमण्ड एल. भोल्पेद्वारा सम्पादित ‘ग्रेट स्टोरिज बाई नोबेल प्राइज विनर्स’ ग्रन्थ नेपाली भाषामा अनुवाद गर्नुभएको छ भने सुरेश हाचेकालीले ‘क्यारोल टिन्जीद्वारा सम्पादित ‘हार्ट बिट अफ नेपालः द पञ्चेबाजा’ पुस्तक नेपाली भाषामा अनुवाद गर्नुभएको छ ।

यसरी नै केशव सिग्देलले ‘नेपालमा बोलिने ११ वटा राष्ट्रिय भाषाका ५० वटा कविताहरूको अङ्ग्रेजी अनुवाद’ गर्नुभएको देखिन्छ भने गोपाल अश्कले ‘प्रज्ञा लोकप्रिय भोजपुरी कथासङ्ग्रह’का १५ वटा कथा नेपाली भाषामा अनुवाद गर्नुभएको छ । प्रा.डा. उषा ठाकुर र प्रा.डा. गोविन्दराज भट्टराईले ‘अनुवाद सिद्धान्त र प्रयोग’ विषयक सन्दर्भ ग्रन्थ पनि यस विभागमार्फत तयार पार्नुभएको देखिन्छ ।

यसका अतिरिक्त यस विभागबाट यस आ.व.मा ‘सुकर्म’, ‘प्रतिनिधि लघु कथायें’, ‘अवधि कथा’, ‘चम्पा’, ‘अनुराधा’, ‘आँधीबेहरी’, ‘सिद्धीचरण की कविताएं’। ‘विश्व नारीका प्रसिद्ध कथाहरू’, ‘कुछ नेपाली कथा भोवपुरी में’ र ‘सोमली र सोहागिन’ गरी १० वटा पुस्तकहरू प्रकाशन भएका छन् ।

यस आ.व.मा साहित्य (गद्य/आख्यान) विभागबाट ५ वटा अनुसन्धान कार्य सम्पन्न भएका छन् । लेखराज खतिवडा र महेन्द्र भण्डारीले ‘आधुनिक नेपाली कथाका उत्तरवर्ती चरणका प्रवृत्ति’ विषयक अनुसन्धान सम्पन्न गर्नभएको छ भने प्रधानसम्पादक माया ठकुरी र सम्पादक ज्ञानु अधिकारीद्वारा ‘प्रज्ञा समकालीन नेपाली कथा विमर्श’ विषयक ग्रन्थ तयार पारिएको पाइन्छ ।

यसरी नै डा. षडानन्द पौड्यालले ‘आधुनिक नेपाली कथामा सामाजिक सम्बन्ध’ विषयमा अनुसन्धान गर्नुभएको छ । प्रा.डा. दयाराम श्रेष्ठले ‘नेपाली लघुकथा र कथाकार’ विषयक अनुसन्धान यसै आ.व.मा सम्पन्न गर्नुभएको देखिन्छ भने डा. धनप्रसाद सुवेदी र विष्णु ज्ञवालीले ‘आधुनिक नेपाली उपन्यास कोश भाग २’ सङ्कलन एवम् सम्पादन गर्नुभएको छ ।

साहित्य (गद्य/आख्यान) विभागबाट यस आ.व.मा ‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’, ‘काजीमान कन्दङ्वा र विष्णु नवीनको कथाकारिता’, ‘प्रज्ञा आधुनिक नेपाली कथा कोश’ र ‘प्रज्ञा आधुनिक नेपाली लघुकथा’ गरी ४ वटा पुस्तक थप प्रकाशन भएका छन् ।

साहित्य (समालोचना र निबन्ध) विभागबाट पनि यस आ.व.मा ४ वटा विभिन्न विषयमा अध्ययन, अनुसन्धान सम्पन्न भएका छन् । यस विभागबाट डा. बालाकृष्ण अधिकारीले ‘नेपाली साहित्येतिहास लेखनमा तत्त्वविधान’ विषयमा अध्ययन गर्नुभएको देखिन्छ भने सम्पादकद्वय प्रा.डा. गोपीन्द्र पौडेल र डा. धनप्रसाद सुवेदीले ‘प्रज्ञा समकालीन नेपाली समालोचना’ विषयक अनुसन्धानात्मक ग्रन्थ तयार गर्नुभएको छ ।

यसरी नै वन्दना ढकालले ‘प्रतिनिधिमूलक नियात्रा’ सङ्कलन तथा सम्पादन गर्नुभएको छ भने विष्णु प्रभात र सुदर्शन श्रेष्ठले ‘साहित्यकार गोविन्द भट्टका अप्रकाशित र विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित फुटकर निबन्धहरू’ सङ्कलन एवम् सम्पादन कार्य सम्पन्न गर्नुभएको पाइन्छ ।

साहित्य (समालोचना र निबन्ध) विभागले यस आ.व.मा विभिन्न विषयका ६ वटा थप पुस्तक प्रकाशन गरेको छ । ‘प्रज्ञा नेपाली समालोचक कोश’, ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’, ‘कृतिविश्लेषणका पौरस्त्य दार्शनिक मानदण्डहरू’, ‘नारी-पुरुष अन्तरअस्तित्व र साहित्यमा यसको उपस्थिति’, ‘समकालीन पाश्चात्य समालोचना सिद्धान्तका प्रणेताहरू’ र ‘प्रज्ञा निबन्धसङ्ग्रह (खण्ड २)’ यस आ.व.मा साहित्य (समालोचना र निबन्ध) विभागद्वारा प्रकाशित पुस्तकहरू हुन् ।

साहित्य (मातृभाषा साहित्य) विभागबाट पनि यस आ.व.मा ७ वटा अध्ययन, अनुसन्धान सम्पन्न भएका छन्, जसमा प्रा. गणेशकुमार कुमालले ‘कुमाल समाजमा पाइने मिथक, किंवदन्ती र लोककथाहरू: विश्लेषणात्मक अध्ययन’, मुक्तिनाथ घिमिरेले ‘दुरा जातिका लोककथाको सङ्कलन र सम्पादन’, भोगीराज चाम्लिङले ‘मौखिक साहित्य मुन्धुम: सङ्कलन तथा विश्लेषण’ सम्पन्न गर्नुभएको छ ।

यसरी नै आनन्दकुमार गुप्ताले ‘भोजपुरी कवि ब्रह्मदेव राय यादवको व्यक्तित्व र कृतित्व’ विषयक अनुसन्धान गर्नुभएको देखिन्छ भने राजेन्द्र महर्जनले ‘नेवारी लोकगीत परम्परामा बाखं-म्ये (कथात्मक गीत सिलु तीर्थ)’बारे अध्ययन सम्पन्न गर्नुभएको छ ।

वीरबहादुर महतोले ‘मगही लोककथा’ विषयक अनुसन्धान यसै आ.व.मा सम्पन्न गर्नुभएको पाइन्छ भने प्रदीपकुमार राई (व्याकुल माइला)ले ‘वाम्बुले मातृभाषा काव्यसाहित्यको एक सिंहावलोकन’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

यसैगरी साहित्य (लोकवार्ता र बालसाहित्य) विभागबाट यस आ.व.मा ६ वटा अध्ययन, अनुसन्धान कार्य सम्पन्न भएका छन्, जसमा डा. कान्छी मर्जनले ‘नेवारी समुदायमा प्रचलित लोकगीतः एक अध्ययन’, डा. पुष्करराज भट्टले ‘सुदूरपश्चिम प्रदेशका लोककथा’, कालीबहादुर शाहीले ‘कर्णाली प्रदेशका लोककथा: सङ्कलन र विश्लेषण’ विषयक अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

यसरी नै प्रभाती किरण र रूपक अलङ्कारले ‘प्रज्ञा नेपाली प्रतिनिधि बालगजलहरू’को सङ्कलन र सम्पादन गर्नुभएको पाइन्छ भने मेघप्रसाद खरेलले ‘डङ्गौरा थारू जातिको रामविहग्रा (लोकरामायण)’ सङ्कलन एवम् नेपाली भावानुवाद तथा रामदेव पाण्डेले ‘नेपाली प्रतिनिधि बालकथाहरू: सङ्कलन र सम्पादन’ सम्पन्न गर्नुभएको देखिन्छ ।

यस विभागद्वारा यस आ.व.मा ‘प्रज्ञा लोकवार्ता विवेचना’, ‘प्रज्ञा बालसाहित्य विवेचना’, ‘बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य’, ‘नेपाली बालनाटक’, ‘लोकवार्ता सिद्धान्त र नेपाली सन्दर्भ’, ‘छाउपडी प्रथा र यसको मनोसामाजिक प्रभाव’, ‘नेपाली प्रतिनिधि बालकविता’, ‘प्रज्ञा नेपाली बालकथा’ र ‘प्रज्ञा नेपाली बालगजल’ गरी ९ वटा पुस्तक प्रकाशन भएका छन् ।

यसका अतिरिक्त आ.व. २०७५/०७६ मा केन्द्रीय विभागबाट १३ वटा पुस्तक प्रकाशन भएका छन् । ‘तुफुका केही कविता (दोस्रो संस्करण)’, ‘नेपालको इतिहास र संस्कृतिका केही पक्ष’ (दोस्रो संस्करण), ‘नेपालमा बुद्ध धर्म’ (दोस्रो संस्करण), ‘द भ्वाइस अफ नेपाल’, ‘ती अधुरा संस्मरणहरू’ (अनुवाद), ‘पाकिस्तानी महिला लेखन’ (अनुवाद), ‘महर्षियाज्ञवल्क्यः’ (नेपालीबाट संस्कृत भाषामा अनुवाद), ‘भारतीय दर्शनमा के जीवित र के मृत छ ?’ (अनुवाद), ‘नेपाली बृहत् शब्दकोश’ (संशोधित र परिवर्धित) दशौँ संस्करण, २०७५, ‘अन्तरदेशीय नेपाली कथाहरू’, ‘रामायण रहस्य’, ‘नेपाल प्रज्ञा-प्रतिष्ठान परिचय’ (पुस्तिका) २०७६/‘नेपाल एकेडेमी’ (प्रोफाइल), २०१९ र ‘प्रज्ञा तामाङ-नेपाली-अङ्ग्रेजी शब्दकोश’ यस आ.व.मा केन्द्रीय विभागबाट प्रकाशित पुस्तकहरू हुन् ।

यसरी नै यस आ.व.मा प्रतिष्ठानबाट विभिन्न १२ वटा नियमित पत्रिका प्रकाशन भएका पाइन्छ, जसमा अनुसन्धानमूलक पत्रिका ‘प्रज्ञा विज्ञसमीक्षित जर्नल’ (अर्धवार्षिक), गद्यप्रधान पत्रिका ‘समकालीन साहित्य’ (त्रैमासिक), कविताप्रधान पत्रिका ‘कविता’ (चौमासिक), बहुभाषिक पत्रिका ‘सयपत्री’ (अर्धवार्षिक), अनुसन्धानमूलक अङ्ग्रेजी पत्रिका ‘जर्नल अफ नेप्लिज स्टडिज’, नेवारी भाषाको साहित्यिक पत्रिका ‘थाय्भु’ वार्षिक, मैथिली भाषाको साहित्यिक पत्रिका ‘आङन’ (वार्षिक), लिम्बू भाषाको साहित्यिक पत्रिका ‘फक्ताङ्लुङ’ (वार्षिक), भोजपुरी भाषाको साहित्यिक पत्रिका ‘महुआ’ (वार्षिक), नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अनुवादमूलक पत्रिका ‘रूपान्तरण’ (वार्षिक), प्रज्ञा-प्रतिष्ठानको समाचारमूलक पत्रिका ‘प्रज्ञा गतिविधि’ (त्रैमासिक) र बालसाहित्यिक पत्रिका ‘बालप्रज्ञा’ (अर्धवार्षिक) छन् ।

(प्रकाशोन्मुख पुस्तक 'प्रज्ञा-कर्म'बाट)