नेपाली दिलमा धड्किने कवि

नेपाली दिलमा धड्किने कवि

डा. सदानन्द कडेल  |  साहित्य  |  असार २९, २०७९

ढपक्क ढाक्ने त्यो बिर्के टोपी थपक्क शिरमा 
टपक्क टिप्यौ घन्किने भाका वन पाखा भिरमा 
जनताको बोली लिपिमा घोली पस्किने कलम 
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।

गरेर उल्था रामायण ठेली नेपाली भाषामा 
छरेर ज्योति ज्ञानको खेती सपार्ने आशामा 
सुरुका स्रष्टा भविष्य द्रष्टा सशक्त कलम
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।

महान शिक्षा लिएर हरदम ‘दरिद्र’ घाँसीको 
रैथाने ज्ञान फैलाउने ध्यान सम्मान गाउँ बासीको 
तिम्रा ति सरल शब्दमा शक्ति दुःखीको मलम 
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।

सम्झायौ तिम्ले दुनियाँलाई ‘विद्या नै गहना’ 
हुन्छन् जो खुसी तिनै हुन् धनी थ्यो तिम्रो भावना 
तरबारको सामु झुकेन कहिल्यै त्यो तिम्रो कलम 
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।