भानु जयन्तीका अवसरमा साझा प्रकाशनद्वारा  ‘गरिमा’ को पुनः प्रकाशन शुरु

भानु जयन्तीका अवसरमा साझा प्रकाशनद्वारा  ‘गरिमा’ को पुनः प्रकाशन शुरु

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ३०, २०७९

ललितपुर । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनद्वारा मंगलवार पुल्चाेकस्थित कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन शुरु भएको छ । 

कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक तथा कवि प्रल्हाद पोखरेलले रामायणको सुन्दर काण्डबाट विषय प्रवेश गर्दै साझा प्रकाशनमा १० वर्षदेखि नभएको लेखा परिक्षण सकिन लागेको तथा साझाले टेको लगाएर बस्नु परेको अवस्था रहेको बताउनुभयो । उहाँले कार्यक्रममा अहिलेको अवस्था भनेको आफूहरुलाई हात खुट्टा बाँधेर आफूहरुलाई दौडमा भाग लिनु पर्दाको पीडा जस्तो भएको पनि बताउनु भयो । 

सरस्वती र भानुभक्तको प्रतिमामा माल्यार्पण गर्दै प्रमुख अतिथि ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्यले आमा समूह र अन्य दुई चार सदस्य भएको संस्थाको समेत आफ्नै भवन भएकोमा साझा जस्तो संस्थाको किताब सुरक्षित गर्नका लागि समेत भवन नभएकोमा दुःख प्रकट गर्नुभयो । 

ललितपुर महानगरपालिकाले साझा प्रकाशनको भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने पनि उहाँले बताउनुभयो । 

भानु जयन्तीका अवसरमा विभिन्न कविहरुले कविता वाचन समेत गरेको उक्त समारोहमा साझा प्रकाशनका अध्यक्ष माननीय विजय सुब्बाले बुद्धपछि सबै नेपालीको सम्माननीय व्यक्तित्व भानुभक्त भएको बताउनु भयो ।