संघीयता अनुकुल साँस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता

संघीयता अनुकुल साँस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७९

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

जनकपुरधाममा नेपाल विद्या पति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्या पति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न समयानुकुल साँस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताउनुभयो । भाषिक र सांस्कृतिक विविधता सहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । 

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्या पति पुरस्कार २०७८ बाट पाँच जना स्रष्टाहरूलाई पुरस्कृत गर्नुभयो । नेपाल विद्या पति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेश रञ्जन झा, नेपाल विद्या पति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सुर्य प्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत हुनुभएको छ । 
चौधौं शताब्दीका प्रसिद्ध कवि विद्या पतिको नाममा नेकपा९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालको प्रधानमन्त्रित्वकालमा कोष स्थापना भइ मैथिली भाषाका स्रष्टाहरूलाई सम्मान गर्न सुरु गरिएको थियो । यो कदम नेपालमा दोस्रो सवैभन्दा बढी बोलिने मैथिली भाषा प्रतिको सम्मान भएको मन्त्री श्रेष्ठले बताउनुभयो । विद्या पतिद्वारा रचित गीतहरु अहिले पनि मिथिलाबासीको  जनजिब्रोमा झुण्डिएको छ भने बंगाल, उडिसा, असम र काठमाडौंका मन्दिरहरुमा भजनका रुपमा गुञ्जिदै आएको छ । विद्यापतिका गीत र रचनाहरु नेपाली अभिलेखालयमा सुरक्षित रहनु गौरवको बिषय भएको मन्त्री श्रेष्ठको भनाइ छ ।