पहिलो काठमाडौँ यात्रा: जता हेरे पनि जुत्तै जुत्ता, रनभुल्लमा पर्दापर्दै हराएर रुँदाको जात्रा

पहिलो काठमाडौँ यात्रा: जता हेरे पनि जुत्तै जुत्ता, रनभुल्लमा पर्दापर्दै हराएर रुँदाको जात्रा

डा. सदानन्द कडेल  |  साहित्य  |  असार ३१, २०७९

‘मजुवामा मटर आइपुग्यो रे’ भन्ने हल्ला बतास सरी फैलियो गाउँमा । जीवनमा पहिलो पटक मोटर हेर्ने रहरले मन उद्वेलित भयो । ‘किताबको चित्रमा मात्रै देखेको मोटर कसरी कुद्छ होला त सडकमा ? त्यसमाथि चढेर यात्रा गर्दा झन् कस्तो मज्जा आउँछ होला ?’ यस्तै खाले कौतुहलता को बाढी नै उर्लियो मनको मझेरीमा !  

एकदिन मजुवा (हालको मलेखु) झर्ने मौका पनि मिल्यो । गोल महारानी ढाँडमा पुग्दा गाडीको आवाज सुनेपछि त झन् झन् स्फूर्ति बढ्यो बाटोमा हिड्न पनि । मजुवाको थुम्कोबाट बुर्कुसी मार्दै झरियो सडक खनेको ठाउँमा । अनि जिन्दगीमै पहिलो पल्ट देखें भिरालोमा पनि जान सक्ने खालको चेन वाला डोजर (एक्साभेटर) । त्यसका ड्राइभर थिए–छत्रे टोपी लगाएका चाइनिज । म त हेरेको हेर्यै भएँ । उनी जीवनमै मैले देखेको पहिलो बिदेशी थिए ।  

त्यसपछि एउटा ढुंगा बोकेको मोटर आयो । त्यसले त ‘टिईं.... टिईं....आवाज दिने पो रहेछ । त्यसलाई हर्न बजेको भनिन्छ भन्ने कुरो पनि मलाई थाहा थिएन त्यतिबेला ।  

मलेखु खोलामा पुल बनेको थिएन । काठको फड्के हालेर वारीपारी गरिन्थ्यो । मजुवामा केही घर थिए ।  मलेखु बजार नै नजन्मेको हुनाले न्वारन हुने कुरै भएन ।  

गाडी हेर्न पाइने र रमाइलो हुने मनसायले मलाई स्कुल परिवर्तन गर्न मन लाग्यो । मेरा सहपाठी काशी र मैले सल्लाह गर्यौं । आमा बुवालाई पनि बितलव बगैँचाको स्कुल भन्दा रिचोकटारको स्कुलमा राम्रो पढाई होला भन्ने चाहिं लागेको हुनुपर्छ । तथापि गाउँमै बढी सुरक्षित ठान्नुहुन्थ्यो उहाँहरू । त्यसपछि आ-आफ्नो घरमा रोइ कराई गरेर केही बर्ष पछि स्कुल फेर्ने निर्णय गराउन समर्थ भयौं । 

२०२८ सालमा बागेश्वरी प्राथामिक विद्यालय रिचोकटारमा कक्षा ३ मा भर्ना भए पछि भने झन्डै दिनको एक पटक जस्तो मोटर देख्न पाइन्थ्यो । हाम्रा गुरू हुनुहुन्थ्यो–पाटनबाट जानु भएका हरी श्रेष्ठ माट्साव । उहाँ ‘बुढो माट्साव’ वा ‘बुढो मास्टर’ नामले प्रख्यात हुनुहुन्थ्यो ।  

उहाँले एकदिन देशको राजधानीको बारेमा बताउनु भयो, ‘काठमाडौंमा राजाको दरवार छ । टुँडिखेलमा कहिलेकाहीं राजाको सवारी हेर्न पाइन्छ । रिचोकटारमा ३–४ किसिमका मात्र मोटरहरू आइपुगेका छन् । काठमाडौंमा त बस, ट्रक, कार, जीप, ट्याक्सी, रिक्सा, रथ, बग्गी आदि हेर्न र चढ्न पाइन्छ ।’ 

त्यतिबेला मलाई लागेको थियो- ‘आहा, काठमाडौं जान पाए त कत्ति रमाइलो हुन्थ्यो होला ?’ राजालाई प्रत्यक्ष देख्न पाइने तथा धेरै किसिमका मोटर देख्न पाइने कुराले मौका मिलेमा काठमाडौं नगई नछाड्ने अठोट गरें मनमनै ।  

यही कुराको कल्पना गर्दै स्कुलमा बिदा भएपछि चुनिया धाराको बाटो भएर सिधै घर फर्किएँ । घरको फलैंचा तथा आँगनको पर्खालमा बसेर बुवा, जेठो बुवा, माइलो बुवा र पल्लाभारी काँस्दाइ (कान्छा दाइ) सल्लाह गर्दै हुनु हुँदो रहेछ ।  

खाजा झिक्न भित्र मझेरीमा जानु भएकी आमाले भन्नुभयो, ‘भोली बुवाहरू नेपाल (काठमाडौं) जाँदै हुनुहुन्छ । त्यसैको कुरा हुँदैछ बाहिर ।’ 

‘आमा, म पनि जान्छु नेपाल ।’ मैले पिरेको शैलीमा आमाको पोल्टो खोतल्दै अनुरोध गरें ।  

आमाको पोल्टोमा कहिले काहीँ पिप्ला मेठ, खाजा बिस्कुट, अम्बा, अमला, डुमराई, बयर आदि भेटिने हुँदा खोतल्ने बानी नै परेको थियो ।  

‘सानो मान्छे कसरी जान्छस् नेपाल ? धेरै हिड्न पर्छ रे बाटोमा । ठुलो भए सी जालास् । भो, अब नपिर ।’ आमाले सम्झाउन खोज्दै भन्नुभयो ।  

म रुँदै बाहिर निस्केँ । सबैका सामु अनुरोध गरें, ‘म पनि जान्छु नेपाल । हाम्रो माट्सावले भन्नु भा’को त्यहाँ राजा देख्न पाइन्छ रे । धेरै मटर देख्न पाइन्छ रे !’ 

‘साना भुरालाई लैजान गाह्रो हुन्छ । जिद्धी नगर । तँ नेपाल नजाने भए एकजोर राम्रो जुत्ता किनेर ल्याई दिन्छु । जाने भए केही पनि पाउँदैनस् ।’ बुवाले नजान आग्रह गर्दै भन्नुभयो । 

भर्खरै आँगनमा आइपुगेका म भन्दा केही बर्ष जेठा छिमेकी नानी बाबु दाइले भन्नुभयो, ‘म पनि जाने हो । ठुल्भाइले पनि हिड्न सकिहाल्छ नि ! फुर्तिलो छ नि !’ 

नानी बाबु दाइको भनाइले मेरो आत्मबल बढाइदियो । अनि मैले भनें, ‘मलाई जुत्ता सुत्ता केही पनि चाहिँदैन । म हिड्न पनि सक्छु । म त नगइ छाड्दिन ।’ सानै देखी यात्रा प्रति मेरो बिशेष मोह थियो । 

त्यसपछि नेपाल जानेको सूचीमा मेरो नाम पनि परेपछि मेरो त भुईमा खुट्टा थिएन । रातभरी निन्द्रा नै लागेन । 

भोलीपल्ट विहान सबेरै खानपिन गरेर हाम्रो टोली अमिल्टारबाट प्रस्थान गर्यो । टोलीमा जेठो बुवा भद्रलाल, माइलो बुवा पिताम्बर र उहाँको छोरो ख्यामराज, मेरो बुवा हरीनारायण र म, काँस्दाइ धर्मराज तथा उहाँको छोरो राम र उहाँको दाइको छोरो नानी बाबु समेत गरी ८ जना थियौं ।  

आठ जना लर्कन लागेर भारी बोकेर काठमाडौं जाँदै गर्दा निकै उत्सुक भएर हेरिरहेका थिए घरपरिवारका सदस्यहरू तथा छर छिमेकीहरूले । धेरैले केही भनेनन् । कोही कोहीले ‘राम्ररी जानु है’ भने । त्यतिबेला ‘शुभ यात्रा’ भन्ने वा ‘बाइ बाइ’ गर्ने चलन भए जस्तो मानिन मैले ।  

अमिल्टारबाट हुलाक, चेपाङटारी, चाम्बास, काशी छहरा, चालिसे हुँदै हामी गजुरीटार पुग्यौं । त्यसलाई छोटकरीमा ‘गैटार’ भन्ने चलन थियो । सडक र बजारको बिस्तार भएर ‘गजुरी बजार’ नामाकरण भइसके पछि पनि बुढापाकाहरू ‘गैटार’ नै भन्न रूचाउँथे ।  

गजुरीमा एउटा चाइनिज गाडी ‘डम्फर’ भेटियो । गाडी चढ्न पाउँदा दंग परियो । गजुरीमा अवस्थित सेनाको ब्यारेक कटेपछि सडकभन्दा तलका रूखहरू पो कुदे जस्तो लाग्यो मलाई त । यस अघि मोटर त चढेको थिएँ मलेखु खोलाको गन्ध खानी रह निरको बगरमा । तर लामो बाटो यात्रा गरेको चाहीँ यो नै पहिलो हो । भारी बिसाएर हामी थ्याच्चै भुइँमा बसेका थियौं । जिन्दगीमा त्यसरी गाडी चढ्न पाउनु नै ठूलो कुरा थियो ।  

त्यो गाडीले हामीलाई गल्छीको  भल्टारसम्म पुर्याएको सम्झना ताजा छ । डोजरले भल्टारको रातो माटो भस्काउँदै गरेको दृश्य अहिले पनि आँखै आगाडी घुमिरहे झै जस्तो लाग्छ ।    

भल्टार देखि धार्के सम्म कसरी पुगियो भन्ने कुरा चाहिं मेरो स्मृतिबाट बिस्थापित भइसकेछ । पाँच दशक अगाडिको यात्राका सहयात्रीहरू मध्ये ५ जनाको देहावसान भइसकेको छ । उहाँहरू प्रति अहिले स्मरण र सम्मान सहित हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । अन्य एक जनासँग सोध पूछ गर्दा उहाँले पनि कति कुरा बिर्सिसक्नु भएको जानकारी मिल्यो ।  
धार्केमा हामीले एउटा डम्पर चढ्न पायौं । गाडी अगाडी बढ्यो । सबै जना खुसीले गद्गद् भयौं । नानी बाबू दाइ गीत गाउन सिपालु हुनुहुन्थ्यो । गाडी चढ्न पाएको खुसीयालीमा उहाँले गाडीको हुटमा दुवै हातले मादल बजाए झैं गर्दै गीत गाउन थाल्नुभयो ।  

तत्काल घचक्क गाडी रोकियो । हामी लर्खरायौं । ड्राइवरले रिसाएर भने, ‘चढेर हिड्न पाको छैन, किन गाडी रोकेको हँ ?’

फुर्तिला नानीबाबू दाइले जवाफ फर्काउनु भयो, ‘गाडी त तपाईले पो रोक्नु भा’ त ! हाम्ले त मादल बजाको मात्र हो ।’ 

ड्राइवरले खित्का छोडेर हाँस्दै भने, ‘गाडी रोक्नलाई माथी ठोक्ने हो नि बुद्दु ! त्यति पनि थाहा छैन ?’ वास्तवमा हामी कसैलाई पनि त्यो कुरा थाहा रहेनछ त्यतिबेला । बुवाले भन्नुभयो, ‘माफ पाउँ हजुर । हाम्लाई था’थेन यो कुरा ।’   

यो घटना चाहीं पटक पटक उदाहरणको रूपमा आइरहने हुँदा स्मृतिको तरेलीमा सुरक्षित रहन सकेको हो भन्ने लाग्छ मलाई ।  

एकैछिन गाडीमा हुँइकिए पछि राम्रो कालो सडकमा गाडी गुड्न थाल्यो । जेठो बुवाले भन्नुभयो, ‘लौ हेर केटा हो बाइरोडको बाटो !’ 

‘आहा, नेपालसम्म यही मटरमा यसरी नै फिलिलि जान पाए कत्ति मज्जा हुन्थ्यो होला ?’ भन्ने लाग्यो मलाई ।  

जीवनमै पहिलो पटक देखेको पिच गरेको चिल्लो सडक थियो त्यो । एकैछिनमा गाडी रोकेर ड्राइभर बाहिर निस्किए । उनले भनें, ‘यहीं सम्म हो । सबैजना ओर्ल ।’ त्यो ठाउँ खानीखोला रहेछ ।   

खाजा सामल तथा ओढ्ने ओच्छ्याउने सहितको भारी ४ वटा थियो । त्यसमाथि पल्लाघ रे काँस्दाइले एउटा खड्करो बेच्न लैजानु भएको थियो । माइलो बुवाले एक टिन घिउ बोक्नु भएको थियो बेच्नको लागि ।  

हामी भारी, पोका पुन्तुरो बोकेर गाडी कुरी रहेका थियौं । टिई.... टिई गर्दै अर्को मोटर आयो । बुवाले भन्नुभयो, ‘लौ हेर भुरा हो बस आयो ।’

लामो, रंगीचंगी भएको, सिसाको झ्यालै झ्याल भएको क्या गज्जबको बस ! जिन्दगीमा पहिलो पल्ट देखेको । त्यस्तो राम्रो बस चढ्न पाए कत्ति मज्जा आउँछ होला ? यस्तो कौतुहलता ले छटपटी बनायो ।  

तीन जनाले हात ठड्याउँदा पनि बसले वास्तै गरेन । रोक्दै रोकेन । कस्तो छुच्चो बस रहेछ भन्ने लाग्यो मलाई । मनै खिन्न बनाइदियो त्यसले ।  

अलिबेर पछि एउटा अजंगको ठूलो मोटर आयो । त्यो चाहीँ ट्रक रहेछ । त्यसले रोक्यो तर भाडा धेरै माग्यो अरे ! कुरो मिलेन । अरू दुईवटा ट्रकले पनि हामीलाई लगेन ।  

त्यसपछि हिडेर जाने र बाटोमै रोकेर चढ्ने निर्णय अनुसार हामी अघि बढ्यौं । बाटोमा हिँड्दै गर्दा आएका मोटरले रोक्दै रोकेन । हामी धेरै जना थियौं । भारी पनि बढी नै थियो । त्यतिबेला गाडी पनि कमै चल्थे । 

बाटोमा एउटा धारोको छेउमा गएर हामीले खाजा खान थाल्यौं । खाजाको परिकार थिए– कुरौनी, सेलरोटी, बाबर, कसार, बदाम, भटमास, मकै, खट्टे, तिलको छोप, घिउ, सखर, आदि । खुब मिठो भयो खाजा । धारामा सिधै मुख थापेर टन्न पानी पिउने काम गरियो ।  

हिँड्दा हिँड्दै सडक छोडेर हामी उकालो लाग्यौं । उकालोमा हिड्न गाह्रो त भयो । तर आफूले हिड्न सक्छु भनेर जिद्दी गरेकोले कसैसँग गुनासो गर्ने कुरो भएन । अहिले सम्झेर विचार गर्दा सुरुङमार्गमा बनाउन लागेको ठाउँ नजिकैको बस्ति भएको स्थानको उकालो रहेछ त्यो ।  

नागढुंगा भन्ज्याङमा पुगेपछि धादिङ तिरै फर्किएर एकछिन आराम गर्यौं । पिप्लाको मोडमा गाडी दुर्घटना भएकोले क्रेनले तानेको दृश्य देखियो । मलाई अचम्म लागेको थियो त्यतिबेला । म अचेल पनि पिप्ला मोड पुग्दा २०२८ सालको त्यो दृश्य झल्झली सम्झिने गर्छु ।  

थानकोटमा पुग्दा झम्के साँझ भयो । भाग्यवस एउटा ट्रकले हामीलाई कालीमाटीसम्म पुर्याइदियो । कालीमाटीमा त अगाडी र पछाडी उस्तै उस्तै जस्तो देखिने भुरा मोटर कुद्दो रहेछ । त्यसलाई ट्याक्सी भन्दा रहेछन् । 

आफ्नो माट्सावले भन्नुभएको जस्तै किसिम किसिमका गाडी देखेर म रोमाञ्चित भएँ । कलिलै उमेरमा काठमाडौं नगई नछाड्ने भोक जगाई दिनु भएकोमा म माट्साव प्रति धन्य छु । 

घिउ र खड्करा कुन ठाउँको पसलमा बेचियो त्यो मैले स्मरण गर्न सकिन । समान बेचे पछि भारी हल्का भएको कुरो चाहीँ स्मरणमा छ । पहिलो रात बास बसेको ठाउँ चाहिं भद्रकाली रहेछ ।   

त्यतिबेला काठमाडौंमा हाम्रो कोही आफन्त तथा इष्ट मित्रहरू थिएनन् । लजमा गएर बास बस्ने हैसियत पनि नभएको र चलन पनि नभएको जस्तो लाग्यो । बुवाहरूले होटेलमा पकाएको दाल भात खानु हुन्नथ्यो त्यतिबेला । रोटी, तरकारी, हलुवा तथा जेरी स्वारी चाहीँ चल्थ्यो ।   

दोस्रो दिन नयाँ सडक तिर जान लाग्दा टुँडिखेल छेउमा धेरै मान्छेहरूले धमाधम कपाल खौरिरहेका थिए । त्यो काम गरि रहेकाहरूले बुवाहरूलाई पनि कपाल खौरिन लगाए । २०२८ साल माघ १७ गते राजा महेन्द्रको ५१ बर्षको उमेरमा असामयिक निधन भएपछि देश नै शोकमा डुबेको थियो । त्यसैले नै शोक मनाउनुको लागि कपाल खौरिन लगाएको भन्नुहुन्थ्यो उहाँहरूले ।  

शिव रात्रीको दिन परेकोले दिउँसो राजाको सवारी हुन्छ भन्ने सुनेर हामी टुँडिखेल छेउमै पर्खी रह्यौं । कति बजे सवारी हुन्छ भन्ने थाहा थिएन । हाम्रो टोलीमा कसैको पनि घडी थिएन । 

पूर्वतिर अलिक अगाडी बढेपछि त अचम्मको दृश्य देखियो । जता हेरे पनि जुत्तै जुत्ता, मेरी बास्सै ! जिन्दगीमा त्यति धेरै जुत्ता त देखेकै थिइन मैले । म त रनभुल्ल मा परें । सडकको दुबै पट्टी लहरै जुत्ताको पसल । आफैलाई ठिक्क हुने खालका रंगीचंगी जुत्ता देखेपछि त जुत्ता लगाउने रहरको बाढी उर्लेर आयो मनमा । बर्खा मासमा आउने मलेखु खोलाको बाढी जस्तै गरी ।  

न्यूरोड तिरबाट बाजा बजाउँदै, कवाज खेल्दै आएका सेनाका टोलीहरूलाई देख्दा निकै रमाइलो लाग्यो ।  कालो बुट लगाएका सेनाको टुकडीले एकै चोटी ‘लेफ्ट राइट’ गरेर बुट बजार्दा बिछट्टै मज्जा आयो ।  

अरूले नदेख्ने गरी मैले पनि बुट बजारे जस्तो गरें । बाटा चप्पल थियो मेरो । के बजारिन्थ्यो र ? सेनाको बुटले गर्दा आफुले त्याग गरिसकेको जुत्ता मोहलाई फेरी बल्झाई दियो । तर आफूले जुत्ता नलगाउने बाचा कबुल गरिसकेकोले रहर व्यक्त गर्न सक्ने कुरै थिएन । मनमनै दबाएर राख्न विवश भएँ ।  

एक्कासी धेरै मान्छेहरू टुँडिखेलको बार तिर हानिए । हामी पनि झटपट त्यतैतिर गयौं । ‘लौ हेर राजा रानीलाई, भन्दै बुवाले काँधमा बोक्नु भयो । राजा महेन्द्रको देहावसान पछि राजा बनेका विरेन्द्र र रानी ऐश्वर्य शाही सैनिक मन्च टुँडिखेल उक्लँदै गरेको दृश्य देखियो ।  

टाढाबाट हेर्दा मान्छे चिन्न सक्ने त कुरै भएन । तथापि राजा रानीलाई देख्न पाएकोमा म त दंग परें ।  अब गाउँ फर्के पछि स्कुलमा गएर ‘आफ्नो कक्षाका साथीहरूलाई राजा रानीलाई आफ्नै आँखाले देख्ने को को छौ ?’ भनेर प्रश्न सोध्ने अठोट मनमनै गरें मैले ।  

राजाको फिर्ती सवारी पश्चात ठूलो बुवाले भन्नुभयो, ‘तिमीहरूले राजा रानी देखिहाल्यौ । अव राजाको दरवार पनि हेर्न हिँड । बाटोमा वीर अस्पताल, रानीपोखरी र घण्टाघर पनि देखिन्छ ।’  

काठमाडौंको सडक पेटीमा हिँड्दा बुवाहरूको घरेलु काँचो छालाको जुत्ताहरूले चुईँ... चुईँ... आवाज निकाल्थे । मेरो चप्पलले चाहिं पिट...पिट ...आवाज दिन्थ्यो । हामी हेर्दै हेर्दै नारायणहिटी राजदरबार अगाडी पुग्यौं । दरबारमार्गमा सेता छाला र खैरो कपाल भएका अग्ला अग्ला बिदेशीहरू देखापरे । बिदेशी पर्यटकहरूलाई देख्ने पहिलो अवसर थियो त्यो ।   

राजाको घर ठूलो होला जस्तो लागेको थियो मलाई । तर सानो पो रहेछ । मूल ढोकामा बस्ने सिपाही तर्फ मेरो ध्यान मोडियो । सुगठित शरीर भएका सिपाही अग्ला र बलिया थिए । सैनिक पोशाकमा सजिएका उनको बुट आकर्षक थियो । टोप पनि गज्जबको लाग्यो ।  

दोस्रो रात सत्तलमा सुतेको बेला लामखुट्टेले टोकेकोले त्यति निन्द्रा परेन । भोलीपल्ट बिहान उज्यालो भएपछि लामखुट्टे भाग्यो । घरबाट ल्याएको काम्लो (राडी) ओछ्याएर, चिउराको झोला सिरानी हालेर च्यादर र बर्को ओढेर बिहान ढिलासम्म मस्तीले सुतियो ।   

सुन्धारामा गएर हात मुख धुने काम गरियो । सुन्धाराको दक्षिण पट्टी अहिले भएका होटेलहरू त्यतिबेला केही पनि थिएन । त्यहाँ त झाडी जस्तो पो थियो । लगन जाने बाटोमा एक लाइन घरहरू मात्र थिए ।  

 तेस्रो दिनको मूख्य काम किनमेल थियो । हामी सुन्धाराबाट नयाँ सडक पीपलबोट हुँदै वसन्तपुर गयौं ।  ठूलो बुवाले वसन्तपुर दरवार देखाउँदै भन्नुभयो, ‘उ त्यहाँ हेर त  म सानै छँदा बुवा र फुपू दिदीसँग यहाँ आएको थिएँ इन्द्रजात्राको दिन । तल मान्छेहरूको घइँचो थियो । तीन सरकार (राणा प्रधानमन्त्री) ले माथिबाट मोहर फाले । फुपूले मजेत्रो फिँजाइन् । उनको मजेत्रोमा चार वटा मोहर पर्यो ।’

मैले सोधें, ‘काला भैरव चाहिं कता छ नि ?’ आमाले ‘काला भैरव हेर्ने बेला नडराउनु है ?’ भन्नुभएको थियो । आमाले मोही पारेपछि बुवाले घुप हाल्ने बेलामा अन्य देवी देउताको नामसँगै ‘काला भैरव’ पनि भन्नुहुन्थ्यो । त्यसैले मेरो उत्सुकता जागेको थियो ।    

‘पख पख, हामी त्यतै जाँदैछौं । ऊ, लौ हेर ठूलो दमाहा !’ बुवाले भन्नुभयो । दमाहा बडेमानको ठूलो थियो ।  

अलि अगाडी बढेपछि काला भैरव देखियो । डर लाग्ला कि भन्ने ठानेर मैले सुरूमा त दाह्रा किटेर हेरें ।  त्यसै अत्याएका रहेछन् । फिटिक्कै डर लागेन । परेवाका हुल भुर्र भुर्र उडेको दृश्य रमाइलो लाग्यो मलाई ।   

इन्द्रचोकमा ६ वटा बाटो एकै ठाउँमा मिसिएको देखेर ज्यादै नै रमाइलो लाग्यो । इन्द्रचोकबाट भेडासिङ जाँदा केही घर छोडेपछि एउटा कपडा पसल रहेछ । हजुरबुवा र बुवाको बर्सौं  देखिको कपडा किन्ने नागेश्वरी साहुको कपडा दोकान रहेछ त्यो ।  

ठूलो बुवा र बुवाले घिउ र सखर उपहार दिनुभयो नागेश्वरी साहुलाई । साहु निकै नै खुसी हुनुभयो ।  उहाँले भन्नुभयो, ‘किन यहीं बास बस्ने गरी नआएको त ? आज चाहिं यहीं नै बस ।’ 

‘धेरै जनाको टोली भएकोले साहु जीलाई दुख नदेको नि !’ बुवाले अन्तै बस्नुको कारण स्पष्ट पार्नुभयो ।  

परिवारलाई अत्यावस्यक भएका लत्ता कपडा किनेर सबै सामान त्यहीं राखेर हाम्रो टोली थप किनमेलको लागि अगाडी बढ्यो । खास गरेर मर मसला तथा अन्य सामान किन्ने योजना रहेछ ।  

छ वटा सडक एकै ठाउँमा मिसिएको अर्को गज्जबको ठाउँ रहेछ । जताततै गुजमुज्ज घरै घर । लडेर चेप्ला कि जस्तो डर लाग्ने । त्यो ठाउँ चाहिं असन रहेछ । मानिसहरूको दोहोरी लत्ता भिडभाड । बाटोमा हिँड्दा पनि अरूसँग ठोकिएला कि जस्तो लाग्ने । दोबाटो, चौबाटो त थाहा थियो । तर एकै ठाउँमा छ बाटो चाहिं पहिलो पल्ट दुई ठाउँमा देखेर छक्क परें म ।  

पूर्वतिर अलिक अगाडी बढेपछि त अचम्मको दृश्य देखियो । जता हेरे पनि जुत्तै जुत्ता, मेरी बास्सै ! जिन्दगीमा त्यति धेरै जुत्ता त देखेकै थिइन मैले । म त रनभुल्ल मा परें । सडकको दुबै पट्टी लहरै जुत्ताको पसल । आफैलाई ठिक्क हुने खालका रंगीचंगी जुत्ता देखेपछि त जुत्ता लगाउने रहरको बाढी उर्लेर आयो मनमा । बर्खा मासमा आउने मलेखु खोलाको बाढी जस्तै गरी ।  

आफ्नो चाहना व्यक्त गर्ने दुस्साहस गर्न सकिन । किनकी जुत्ता नकिन्ने शर्तमा मैले काठमाडौं जान पाउने निर्णय गराएको थिएँ । पसलको जुत्ता हेरेर आफ्नो खुट्टाको चप्पल हेरें । सिपाहीको बुट जुत्ताको आवाज सम्झे । आफूले रंगीचंगी जुत्ता लगाएको कल्पना गरेर भुईमा सिपाहीले जस्तै बुट बजार्न खोज्दा चप्पल पड्कियो । म त झसंग भएँ । यताउता हेर्दा आफन्त कोही त्यहाँ थिएनन् । म त छलिए छु भन्ने पक्का भयो । छाँगाबाट खसे जस्तै अनुभूति भयो ।  

छलिएको ठाउँ (भोटाहिटी) बाट फेरी असन तिर आएँ । ६ वटा बाटोमा कता जाने कता ? केही मेलो मेसो पाउन सकिन । सबै बाटो उस्तै, सबै घरहरू उस्तै जस्तो लाग्यो । यता दौडिए । उता दौडिए ।  केही सिप लागेन । बुवाहरूको अत्तोपत्तो केही नलागेपछि म कंकला शब्दमा रुन कराउन थालें ।   

थानकोट पुग्न सकेमा चाहिं एक्लै घर पुग्न सक्छु जस्तो लाग्यो । तर शहरमा पूर्व पश्चिम छुट्याउन पनि सकिन मैले । नागेश्वरी साहुको घर पनि पत्ता लगाउन सकिन । शहरमा हराउँदा त्यही ठाउँमा बसिरहनु पर्ने कुरो थाहा थिएन । म त लखरलखर हिडि रहेँ गन्तव्य बिहीन भएर ।  

रुँदै रूँदै ‘मेरो बुवालाई देख्नु भो ?’ भनेर कत्तिलाई सोधें । ‘देखें’ भन्ने कोही भएन । हतास मनस्थितिमा भौंतारिंदै एकतमासले हिडिरहें । झन्डै दुई घण्टा रूँदै हिँडे पछि पछाडिबाट कसैले च्याप्पै समात्यो र अँगालो हाल्यो ।  

बुवाले समात्नु भएको रहेछ । उहाँको आँखाबाट आँशु झरिरहेको देखें । यस अघि मैले कहिल्यै त्यस्तो देखेको थिइन ।  

धेरैले एकै स्वरमा सोधे, ‘कसरी छलियो त ?’ 

सुँक्क सुँक्क गर्दै मैले भनें ‘जुत्ता ....जुत्ता .....’ 

मैले पूर्ण वाक्य बोल्न सकिन । जुत्ता किनिदिनु भन्ने आशय थिएन मेरो । धेरै जुत्ता देखेर के के सोच्दा सोच्दै भुलिए छु भन्न खोजेको थिएँ मैले । हिक्क ...हिक्क...भएकोले स्वर पुर्याएर पूर्ण वाक्य बोल्न सकिन ।  

‘नागेश्वरी साहुले माइकमा भन्न लगाएर खोज्नुपर्छ भनेका थिए । तै पनी अन्तिम एक पटक खोज्दा भेटिन्छ कि भनेर आएको, भेटियो ।’ खुसी हुँदै बुवाले भेडासिङबाट भोटाहिटीको जुत्ता पसल तिर डोर्याएर लैजानु भयो ।    

एक जोर मन परेको जुत्ता रोज्न लगाउनु भयो । मैले रोजे । घनघोर कालो बादल मडारिएको मनको आकाशमा झलमल्ल घाम लागे जस्तो भयो । जुत्ता लगाएर एकपटक सिपाहीले झैँ फुर्ती साथ ‘लेफ्ट राइट’ गरें । सबै गलल्ल हाँसे ।  

शब्दले आभारी तथा धन्यबाद भन्नुको सट्टा बुवाको कम्मरमा अँगालो हाल्न पुगे छु । राजाको गाउँमा आएर जिन्दगीकै पहिलो जोर जुत्ता लगाउन पाएकोमा भावविभोर भएर हर्षको आँशु झरिरहेको थियो ।  

काठमाडौं पनि आउन पाइयो । जुत्ता पनि लगाउन पाइयो । दुबै हातमा लड्डू भएकोले संसार जिते जस्तो लाग्यो मलाई ।  

अन्तिम रात नागेश्वरी साहुको छिँडीको कोठामा बास बसेर भोलिपल्ट बिहानै प्रस्थान गर्यौं घर तिर । नयाँ जुत्ता ढल्काउन पाउँदा मनै गद्गद् भइरहेको थियो ।