श्रीरामसिंह बस्नेत: पत्रकारिता, साहित्य तथा शिक्षणका संगम

श्रीरामसिंह बस्नेत: पत्रकारिता, साहित्य तथा शिक्षणका संगम

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  असार ३२, २०७९

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको प्रथम सेनापति शिबरामसिंह बस्नेतका छोरा अभिमानसिंह बस्नेतले एकीकरणको समयमा भक्तपुरको साँगाचोक गढीमा वीरगति प्राप्त गर्नुभएको हो । त्यस बेला उहाँका अभिमानसिंह बस्नेत लगायतका छोराहरु पनि सेनामा थिए । 

अभिमानसिंह बस्नेतले नेपाल एकीकरणमा ठूलो योगदान पुर्याएका थिए। इतिहासकारका  अनुसार नेपाल एकीकरणको आधाभन्दा धेरै भूभाग अभिमानसिंह बस्नेतको अग्रसरतामा भएको थियो । यसरी श्रीपाली बस्नेतहरु गोर्खादेखि नै पृथ्वीनारायण शाहसँग एकीकरणको समयमा काठमाण्डौ आएको हो । 

अभिमानसिंह बस्नेतको अहिले पनि स्मारकहरू छन् । असनबाट अलि भित्र पट्टि जाँदाको तिलंगा घर अभिमानसिंह बस्नेतको हो । उहाँको बाजेहरूको जन्म यहीँ असनमा भए पनि उहाँको पिताजीको जन्म भने हाँडीगाउँमा भएको हो ।

उहाँको पिताजी क्याप्टेन मदनबहादुर बस्नेत पनि ३२ वर्ष नेपाली सेनामा काम गरेर अवकाश प्राप्त गर्नु भएको हो । माताजी भने गृहिणी हुनुहुन्थ्यो । उहाँको माताजीको ४६ वर्षको अल्पायुमा नै निधन भएको हो । माताजी बित्दा उहाँ केवल १४ वर्षको हुनुहुन्थ्यो । 

यो १४ वर्षको अर्कै संयोग छ । उहाँको जन्म २०१४ सालमा काठमाण्डौको पुरानो बानेश्वरमा भएको हो । तर, उहाँहरु २०१८ सालमा वनस्थलीमा बसाइँसराइ गर्नुभयो । 

०००

एउटा सम्पन्न र इतिहास बोकेको परिवार भए पनि उहाँको बाल्यकाल भने अप्ठ्यारो अप्ठ्यारोमा नै बित्यो । यसको कारण भने उहाँ ४/५ वर्षको हुँदा पिताजीको जागिरबाट अवकाश भयो । त्यसले गर्दा आयस्रोत एकदमै सीमित भयो । कहिलेकाहीँ त राशन पनि उधारो ल्याउनु पर्ने अवस्थासमेत आयो । 

उहाँले सानोमा धेरै खेलेको भनेर पांग्रा गुडाइ हो । गुच्चामा उहाँको त्यति रुचि रहेन । डन्डीबियो, घ्वाँइकासा पनि उहाँले खेलेको हो । स्कूलमा भने अग्रजहरूले फुटबल पनि खेल्थे । तर, उहाँहरुले भने फुटबल खेल्न नपाए पनि भलिबल अनि ब्याडमिन्टन खेल्न पाउनु भयो । 

उहाँहरु बनस्थली सर्नको कारण भने काठमाण्डौमा त्यति बेला राम्रा स्कुलहरू धेरै थिएनन् । अनि बनस्थली स्कूलको आकर्षणका कारण उहाँहरु वनस्थलीमा सर्नुभएको हो । यसकारण पनि उहाँको सम्पुर्ण स्कुले जीवन पनि वनस्थलीमै बित्यो । 

उहाँको प्रारम्भिक शिक्षा वनस्थलीमा भए पनि अक्षर पैट्याउने काम भने घर सँगैका खोप ध्वज राना सरले गराउनु भयो । उहाँले अक्षर चिन्दा धुलौटोको चलन भने गइसकेको थियो । त्यसैले सिलोटमा खरीले लेखेर सावाँ अक्षर चिन्ने काम गर्नुभयो उहाँले । पछि स्कूल गइसकेपछि भने कापीमा सिसा कलमले लेख्ने चलन आइसकेको थियो । 

०००
२००७ सालमा प्रजातन्त्र आएपछि राणाहरूको सम्पत्ति धेरै राष्ट्रियकरण भयो । यसै मेसोमा हरिशमशेरले आफ्ना तर्फबाट २००८ सालमा दान दिएको स्कूल हो हालको सिद्धार्थ बनस्थली । जग्गा तथा भवन पनि थियो त्यस बेला । अहिले पुरानो भवन भत्काइसकेको छ स्कूलले । उहाँहरुले पुरानो भवनमा नै बसेर पढ्नु भएको हो । 

गोरखापत्रको शनिवारीय परिशिष्टांकको लागि थियो त्यो आग्रह । वृद्धाश्रम, अनाथालयका बालबालिका तथा औषधि व्यवसायका बारेमा उहाँका त्यसबेला खोज मूलक लेख छापिएका थिए । लेख छापिए वापत झण्डै ५ सय पारिश्रमिक पनि हुन्थ्यो । 

बस्नलाई डेस्क बेन्चको खासै अभाव नभए पनि हालको मन्टेश्वरी भने जस्तो त्यस बेलाको प्रिपेटोरी क्लासमा भने उहाँहरुले सुकुलमा बसेर नै पढ्नु भएको हो । त्यति बेला सिंगो स्कूलमा नै झण्डै १ सय ५० मात्र विद्यार्थी थिए । 

हालको सिद्धार्थ बनस्थली उहाँको पालामा भने बनस्थली विद्याश्रम मात्र थियो । २००८ सालमा स्थापना भएको यस स्कूलको नामाकरणका पनि आफ्नै इतिहास छ । हरि शमशेर राजस्थानमा घुम्न गएका बेला बनस्थली विद्यापीठ नाम भएको स्कूल देख्नुभएछ । 

जंगलको बीचमा भएको त्यस स्कूलबाट प्रभावित भएर हरि शमशेरले यहाँको स्कूलको नामाकरण बनस्थली विद्याश्रम गर्नुभएको रहेछ । त्यस बेला यहाँ पनि रुख जंगल प्रशस्त थिए । अहिले पनि केही भने देख्न सकिन्छ । 

विद्यालय संचालनका लागि उहाँले भौतिक सम्पत्ति सरकारलाई दिएपछि सरकारले भुवन लाल जोशीलाई पहिलो प्रधानाध्यापक बनाएर पठायो । एवं रीतले चल्दै गर्दा २०२८ सालमा नयाँ शिक्षा लागू गर्ने समयमा स्कूलको स्थिति एकदमै खराब थियो । विद्यार्थी पनि कम थिए । शिक्षकलाई तलब दिन मुश्किल थियो । 

त्यसबेला कमल पोखरीमा भाडाको भवनमा चलिरहेको विद्यालय थियो सिद्धार्थ । दुवै स्कूल खराब परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एकीकृत गरेर सिद्धार्थ बनस्थली बन्यो ।

विद्यार्थी तथा शिक्षक सिद्धार्थका राम्रा थिए भने भौतिक संरचना वनस्थलीको । यसरी दुई स्कूल संयुक्त भएर आजको सिद्धार्थ वनस्थलीको इतिहास बनेको हो । पहिले विनय गुरुङ प्रधानाध्यापक हुनुहुन्थ्यो भने पछि लक्ष्मण राजवंशी प्रधानाध्यापक हुनुभयो । अहिले सिद्धार्थ बनस्थली गुठी अन्तर्गत सञ्चालन भइरहेको छ ।

०००

पहिले बनस्थली स्कूल आउँदा कि त स्वयम्भू वा बालाजु भएर घुमेर आउनु पर्थ्यो । चक्रपथ बनिसकेपछि मात्र यो ठाउँ सुगम बनेको हो । उहाँले प्राथमिक तहमा तहमा पढ्दा विद्यार्थीको संख्या २०/२२ जना हुन्थे । महिलाहरु भने ४/५ जना मात्र । निम्न माध्यमिक तहको कुरा गर्दा ८ कक्षामा त उहाँ र अर्को एक जना गरी दुई जना मात्र विद्यार्थी थिए । त्यसैले कक्षा कहिले सरको कोठामा अनि कहिले विद्यार्थी आवासमा हुन्थ्यो । 

स्कूले जीवनमा उहाँ गणितमा कमजोर हुनुहुन्थ्यो । त्यो यद्यपी कायम छँदैछ । उहाँ विद्यार्थी पनि मध्यम खालको हुनुहुन्थ्यो भने बसाइ दोस्रो बेञ्चमा हुने गर्थ्यो । 

उहाँले २०२९ सालमा एसएलसी दिनु भएको हो । उहाँको ब्याजमा त्यस बेला १८ जना थिए एसएलसी दिने तर छात्राहरु भने कोही पनि थिएनन् । पहिलो श्रेणीमा कोही पनि उत्तीर्ण भएनन् । कोही फेल पनि भए । धेरैको दोस्रो श्रेणी आयो उहाँको पनि ।  

उहाँ वनस्थली विद्याश्रमको विद्यार्थी भए पनि उहाँले एसएलसी पास गरेर चारित्रिक प्रमाणपत्र लिँदा भने स्कूल सिद्धार्थ बनस्थली भइसकेको थियो । उहाँ स्कूलमा पनि ‘ट्रान्जिनल फेज’ मा पर्नुभयो । 

सिद्धार्थ र बनस्थली संयुक्त भएपछि मात्र स्कुलले नयाँ रुप लिएको हो । त्यसपछि कक्षाको कति वटा सेक्सन हुन्थ्यो पनि औंला भाँच्नुपर्ने अवस्था आयो । हुनत सिद्धार्थ वनस्थलीका उत्पादन संसारमा छरिएर अनेकौँ नाम भए पनि डा‍. सन्दुक रुइत जसले मेगासेसे पुरस्कार समेत पाउनु भएको छ उहाँ पनि यसै स्कूलको उत्पादन हो । 

०००

एसएलसी उत्तीर्ण भएपछि पढ्नका लागि सरस्वती क्याम्पस, आर आर, टिचिङ तथा सानोठिमी क्याम्पसमा पनि उहाँको नाम निस्किएको थियो । तर, उहाँ बनस्थली बस्ने मान्छे पढ्न भने भक्तपुरको सानोठिमीमा पुग्नुभयो । यसको कारण भने त्यसबेला सानोठिमी क्याम्पसमा शिक्षाशास्त्र पढ्ने विद्यार्थीलाई महिनाको १ सय रुपैयाँ दिने गर्थ्यो । २०२९ सालमा महिनाको १ सय रुपैयाँ भनेको सानो आकर्षण थिएन । 

उक्त कलेज पढ्नुको एउटा फाइदा के भयो भने उहाँलाई प्रमाणपत्र तह पास गर्ने बित्तिकै पढाउनका लागि उहाँलाई निम्न माध्यमिक शिक्षकको नियुक्ति दियो । उहाँलाई शिक्षा विभागले त्यस बेला सिन्धुलीमा खटाएको थियो । उहाँ सिन्धुली जान मानसिक रुपमा तयार समेत हुनुहुन्थ्यो । यो २०३२ सालको कुरा हो । 

तर, त्यसै क्याम्पसबाट पढेका एक जना अग्रजलाई उहाँले यो कुरा भनेपछि कहाँ यहाँको मान्छे सिन्धुली जाने भनेर उहाँको नियुक्ति सीतापाइला, रामकोटको सीताराम माविमा भयो । भएको के थियो भने यहाँ बौद्धबाट एक जना शिक्षक पढाउन आउँथे । उनलाई बौद्धतिर पढाउन मिलाएर उहाँलाई पनि यता मिलाउँदा दुवै जनालाई घर पायक जागिरको स्थिति बन्यो । 

उहाँले शिक्षकको रुपमा महिनाको ३ सय २५ रुपैयाँ तलब पाउनु हुन्थ्यो । यो नै उहाँको पहिलो तलब थियो । तलब ल्याएर उहाँले पिताजीलाई बुझाउनु भयो । त्यसबाट ५० रुपैयाँ उहाँलाई दिएर त्योे पैसा पिताजीले राशन आदिमा खर्च गर्नुभयो । उहाँले त्यो ५० रुपैयाँ पनि नोट बुक, किताब तथा कापीमा खर्च गर्नुभयो ।

उहाँले सीताराम स्कूलमा १२ वर्ष पढाउनु भयो । १२ वर्ष पढाउँदा अस्थायी निम्न माध्यमिक शिक्षक भएर गएको मान्छे त्यहीँ स्कूलमा स्थायी तथा माध्यमिक शिक्षक हुनुभयो ।

माध्यमिक शिक्षक हुनका लागि उहाँले बेलुका कक्षा लिएर त्रिचन्द्र कलेजबाट राजनीति शास्त्रमा स्नातक गर्नुभयो । त्यही बीचमा उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पनि गर्नुभयो । 

गोरखापत्र तथा राससमा पनि उहाँले जागिरको लागि आवेदन दिनु भएको थियो । गोरखापत्रमा लिखितमा  मात्र नाम निस्क्यो भने राससमा भने लिखित तथा अन्तर्वार्ता पनि नाम निस्कियो । यो २०४४ सालको कुरा हो । 

०००
उहाँ स्कुलमा पढ्दा बेलादेखि नै लेखनमा रुचि राख्नुहुन्थ्यो । उहाँ साहित्यिक तथा फुटकर पत्रपत्रिकामा पनि लेखिरहनुहुन्थ्यो । लेख्नमा रुचि भएका कारण राससमा जागिर नगर्दै त्यस बेलाका सम्पादक बालमुकुन्ददेव पाण्डेले उहाँलाई खोज मूलक लेख लेख्नका लागि चिठी लेखेरै काम लगाउनु भएको थियो । गोरखापत्रको शनिवारीय परिशिष्टांकको लागि थियो त्यो आग्रह । वृद्धाश्रम, अनाथालयका बालबालिका तथा औषधि व्यवसायका बारेमा उहाँका त्यसबेला खोज मूलक लेख छापिएका थिए । लेख छापिए वापत झण्डै ५ सय पारिश्रमिक पनि हुन्थ्यो । 

दाहाल यज्ञ निधिले चलाउने रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रममा पनि उहाँ लेख रचना पठाइरहनु हुन्थ्यो । 

उहाँले एम ए पास गरेर स्कूल पढाउँदै गर्दा नेपाल प्रेस इन्स्टिच्युटको तालिममा सहभागी हुनुभयो । उहाँ इन्स्टिच्युटको दोस्रो ब्याचको विद्यार्थी हो । त्यस बेला तीर्थ कोइराला पनि सँगै हुनुहुन्थ्यो । १० महिनाको तालिममा २ महिना इन्टर्नसिप जानुपर्थ्यो । त्यो बेला उहाँ समीक्षा साप्ताहिकमा जानु भयो । समीक्षामा पनि उहाँले करिब ७ वर्ष काम गर्नुभयो । 
उहाँले कान्तिपुर दैनिक प्रारम्भताकाको प्रकाशनमा पनि काम गर्नु भएको छ । झण्डै ५ वर्ष उहाँले कान्तिपुरमा पनि काम गर्नुभयो । 

राससमा छैठौं तहमा प्रवेश गरेपछि उहाँ महाप्रबन्धक समेत हुनुभयो । उहाँले एघारौं तहबाट अवकाश प्राप्त गर्नु भएको हो । उहाँले राससमा भैरव रिसालसँग भने काम गर्न पाउनु भएन । तर, रामकृष्ण रेग्मीसँग भने काम गर्नुभयो । रेग्मी चिफ रिपोर्टर हुँदा उहाँ रिपोर्टरको रुपमा काम गर्नुहुन्थ्यो । 

शिक्षण र पत्रकारिता गरेर उहाँको पेशागत अवधि झण्डै ४० वर्ष लामो हुन्छ । स्कूल, कलेज सबै जोड्दा उहाँले करिब ३२ वर्ष पढाउने काम गर्नुभयो । सीताराम स्कूलमा १२ वर्ष, हिरालाल बहुमुखी क्याम्पसमा झण्डै ५ वर्ष राजनीतिशास्त्र पढाउनु भयो । समय २०४६ सालको आन्दोलनको थियो । तर, उहाँले पञ्चायतको संविधान पढाउनु पर्थ्यो । विद्यार्थीहरु अब यो जान लागेको संविधान के पढ्नु भन्थे ! उहाँ जाँचमा प्रश्न त यसैबाट आउँछ नपढेर के गर्ने भन्नुहुन्थ्यो । कान्तिपुर सिटी कलेजमा पनि उहाँले झण्डै १५ वर्ष पत्रकारिता पनि पढाउनुभयो । 

साथीहरुसँग मिलेर उहाँले मिडिया प्वाइन्ट भन्ने एउटा पत्रकारिताको तालिम संस्था पनि चलाउनु भयो । यशोदा तिम्सिना, दीपक रिजाल तथा टंक उप्रेतीहरुलाई पनि उहाँले मिडिया प्वाइन्टमा तालिम दिनुभयो । 

उहाँले सिटी कलेजमा पढाएको तथा मिडिया प्वाइन्टमा पढाएकोमा साथीहरुले अख्तियारमा उजुरी पनि हालेका थिए । 

अहिले अवकाशपछि भने सोझै उहाँ पत्रकारितामा संलग्न हुनुहुन्न । यसो कतै फुटकर लेख लेख्ने, कार्यक्रममा सहभागी हुने अहिले पनि चलिरहेको छ । 

०००

उहाँको पहिलो कथा २०३२ सालमा नयाँ सन्देश पत्रिकामा प्रकाशन भएको हो । त्यसपछि अन्त पनि थुप्रै फुटकर रचना प्रकाशित भए भने रेडियोमा पनि प्रसारण भएका छन् । उहाँका पत्रकारिताका आयाम, त्रिवेणीका लहरहरू, यौनका सुखदुःख आदि गरी ८ वटा पुस्तक प्रकाशन भएका छन् । उहाँ कविता संग्रह प्रकाशित गर्ने तयारीमा हुनुहुन्छ । उहाँ आफूले गरेका अन्तर्वार्ता तथा लेखको संग्रह पनि निकाल्ने सोचमा हुनुहुन्छ । 

त्रिवेणीका लहरहरू भन्ने पुस्तकमा नेपालका संगीत क्षेत्रका गायक, गीतकार तथा संगीतकार गरी ५१ जना स्रष्टाहरूको अन्तर्वार्ता रहेको छ । जुन प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन भएको हो । 

उहाँले राससबाट थुप्रै पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसका अलावा गोरखा दक्षिण बाहु भुषण पत्रकारिता पुरस्कार तथा अन्य थुप्रै पुरस्कार रहेका छन् । 

उहाँले देश तथा विदेशमा गरेर पत्रकारिताका पनि थुप्रै तालिमहरु लिनुभएको छ । उहाँले सन् १९९० मा फ्रान्समा गएर एएफपीको दुई महिने तालिम पनि लिनुभयो । त्यस्तै इण्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेशन दिल्लीमा १७ देशका ३० जना पत्रकार सम्मिलित ६ महिने तालिम लिने अवसर पाउनु भयो । बैंकक, हवाइ तथा मनिलामा पनि उहाँले तालिम लिनु भएको छ भने इण्डोनेशियामा गएर प्रकोप पत्रकारिता तालिम दिनु समेत भएको छ ।