आधुनिक चेतनाको संवाहक : पत्रकारिता र शिक्षण पेशाको सम्बन्ध नङ र मासुको

फर्कलान् र ती दिनहरु

आधुनिक चेतनाको संवाहक : पत्रकारिता र शिक्षण पेशाको सम्बन्ध नङ र मासुको

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  असार ३२, २०७९

पेशागत जीवनको पनि ठुलो महत्व हुन्छ नै । पेसा भनेपछि आफूले गर्ने कामको इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने भन्ने बुझ्नु पर्ने रहेछ । मेरो पेसाको हकमा त शिक्षण नै हो जुन काम औपचारिकरुपमा २०३१ सालबाट सुरु भएको थियो र आजको मितिसम्म पनि चलिरहेको छ ।

पेशागत जीवन पनि त एकीकृत जीवन नै हो । जिउने आफैँले हो । एउटा पेसासँग अर्को पेसा पनि जब जोडिन्छ, त्यहाँ जटिलता पनि आउँछ, सहजता पनि आउँछ । जटिलता कसरी हुने रहेछ भने आखिर प्रत्येक पेसाले केही कर्तव्य खोजकै हुन्छन् र समयको पनि व्यवस्थापन खोजेकै हुन्छन् । मैले काठमाडौँमा पत्रकारितामा थाहै नपाई प्रवेश गरेको थिएँ ।

कारण थियो, म जनकपुरमा आइ कम पढ्दादेखि नै २०२६सालमा होमनाथ दाहाल दाइले सुरु गर्नु भएको साप्ताहिक राष्ट्रपुकार पढ्ने बानी थियो र लाग्थ्यो त्यो पत्रिका मेरा विचारहरूको प्रतिनिधित्व गर्छ । जनकपुरमा त्यो पत्रिका आउँदा किन्नेहरूको भिड लाग्थ्यो । म नेपाल विद्यार्थी संघको सक्रिय कार्यकर्ता थिएँ र नेपाल विद्यार्थी संघको पहिलो संस्थापक अध्यक्ष विपित कोइराला नातामा मेरा कान्छा सानाबा पर्नुहुन्थ्यो ।

त्यो पत्रिकाले प्रजातन्त्रका पक्षमा निडर भएर लेख्थ्यो जसले हामी जस्तालाई प्रजातन्त्रका बारेमा खुराक दिन्थ्यो । पत्रकारिता भनेको नै प्रजातन्त्रको देन हो किनभने स्वतन्त्र पत्रकारिता भनेको  सही सूचना दिने हो । सही विचार दिने हो । सूचना पत्रकारले तयार गर्ने हो र विचार विचारकले दिने हो । विचारक स्वतन्त्र हुन्छ आफ्ना विचारका लागि तर दिग्भ्रमित पार्ने विचार प्रजातन्त्रका लागि विष घोले सरह हुन्छ । 

राजनीतिमा जब कसैको चासो बढ्छ, अझ सिद्धान्त बुझेर चित्त बुझाएर कोही मानिस सिद्धान्त निष्ठ भयो भने उसको आफ्नो जीवनको बाटोको रुपमा सिद्धान्त प्रतिको मोह बढ्न थाल्छ, नाताभन्दा बढी अपनत्व सिद्धान्त प्रतिको हुने रहेछ । सिद्धान्त एउटा हुने तर विश्वास अर्कै हुने पनि देखिएको छ । मलाई भर्खरै जस्तो एकजना विद्वान प्राज्ञिक व्यक्तित्वले भनेको कुरा याद आउँछ-पञ्चायतको मध्यकालतिर हामी राजनीतिक हिसाबले रातो क्षेत्रका बासिन्दा थियौँ जहाँ पञ्चायतको पनि धारणा प्रजातन्त्र विरोधीकै पक्षमा थियो र आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरू अञ्चलाधीशको र प्रमुख जिल्ला अधिकारीको सहयोगमा युवाहरुलाई प्रजातन्त्रको पक्षमा बोल्न, लेख्न र पढ्न समेत प्रतिबन्ध लगाउँथे ।

अरु त अरु म जस्तो प्राज्ञिक हुन चाहने पेसामा समर्पित हुन चाहने सम्मले  विद्यावारिधि गर्न विकसित देशमा नपुगुन्जेल सम्म प्रजातन्त्रका बारेमा खासै थाहा थिएन जबकि केही शास्त्रीय माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद, माओवाद र पञ्चायतको बहुदलीय व्यवस्थाको विरुद्धका धारणाहरू सिकाइन्थ्यो, कुराचाहिँ भूमिगत रुपमा गरिएको भनिन्थ्यो तर त्यहाँ सरकारी कर्मचारीहरु  प्रशस्त हुन्थे र भनिएको थियो कि उहाँहरुको भूमिगत नाम अर्कै छ ।

कतै देख्दा तपाईँहरुले चिनेको जस्तो नगर्नु होला । जब मैले विकसित देशमा गएर पढ्न थालेँ, विद्यावारिधिको तयारीमा लाग्दा प्रजातन्त्र, शिक्षा, राजनीति र सामाजिक न्यायका बारेमा जान्न थालेँ , बल्ल मैले नेपालको प्रजातन्त्रको इतिहास पढ्न थालेँ । त्यसैले मान्नुस् , मेरो पुरानो अभिमुखी करणको धारणा साम्यवादी या समाजवादी नै थियो तर जब बीपीको जीवनी पढेँ, गणेशमानजीको जीवनी पढेँ, अब्राहम लिङ्कन पढ्न थालेँ , र कार्ल माक्र्सको असली उत्तराधिकारीको रुपमा मानवीय आवश्यकता पूरा गर्न स्क्यान्डेनेभियन देशहरुको बारेमा जानकारी पाउन थालेँ, अनि लाग्यो खासमा समाजवादको लक्ष्य पूरा गर्ने भनेको त आजको प्रजातान्त्रिक व्यवस्थाले पो रहेछ । 

कम्तीमा पनि एउटा पत्रकारलाई के ठिक, के बेठिक थाहा हुन्छ तर पापी पेटले गर्दा सिद्धान्तभन्दा व्यवहारवादी हुनेहरुको संख्या धेरै भएको छ ।  पत्रकारितामा जोखिम हुन्छ र सत्य उद्घाटन गर्दा आमाले बच्चा पाएजस्तो खुसी पनि हुन्छ, जोखिम पनि हुन्छ ।  पत्रकारिताले जोखिम उठाएर गरेको खोजीले प्राप्त परिणामले यदि सामान्य भुइँ मानिसको हित भयो भने, राष्ट्रको हित भयो भने हुने खुसीको कुनै मापन हुँदैन ।

ती मैले पनि मान्नुपर्ने विद्वानको यो आफ्नो जीवनको उत्तरार्द्धको स्पष्टीकरण आफैँलाई थियो र एउटा प्रसङ्गमा उहाँले आफनो जीवनको नयाँ धारणा र सिद्धान्त प्रतिको नयाँ पुनर्व्याख्याको जानकारी गराउनु भएको थियो । उहाँ पूर्वाञ्चलको पनि पहाडी जिल्लाको हुनुहुन्छ तर अहिले जीवनको  प्रारम्भिक अवस्थालाई, अझ स्नातकोत्तरसम्मको आफ्नो बुझाइप्रति अहिले आएर पुनरावलोकन गर्न थाल्नु भएको रहेछ ।

उहाँको विचारमा ती दिनहरु अब फर्कँदैनन् तर ती दिनहरुमा बाँडिएको भ्रम झन अहिले जसरी घाम लागेपछि अन्धकार आफैँ निमिट्यान्न हुन्छ, त्यस्तै लाग्न थालेको छ । उहाँलाई शिक्षा वैज्ञानिक भन्दा पनि हुने प्राज्ञिक हुनुहुन्छ तर आफूलाई शिक्षा, प्रजातन्त्र, सामाजिक न्याय र राजनीतिको नयाँ  विद्यार्थी भएजस्तो लाग्न थालेको छ रे ! विद्यावारिधिका शरणार्थीहरु देखिएको जीवन, जगत ,प्रजातन्त्र र सामाजिक न्याय प्रतिको भ्रमित धारणा देखेर कहिले दिक्क, कहिले वाक्क र कहिले कसरी भावी पुस्तालाई शिक्षित बनाउने होला भन्ने चिन्ता लाग्न थालेको बताउनु भएको थियो । मलाई यस्तो चित्त बुझेको थियो कि त्यो प्रसङ्गलाई यहाँ व्यक्त गर्न चाहेको हुँ । 

सरसर्ती हेर्दा र अवलोकन गर्दा पनि के देखिन्छ भने सिद्धान्त प्रतिको नाता यति गाढा हुने रहेछ कि रगतको नातालाई पनि त्यसले जित्ने रहेछ । तर नजिकको नाताको मानिस नै सिद्धान्त प्रतिको समर्थन गर्ने पर्दा चाहिँ झन सुनमा सुगन्ध हुने रहेछ । अहिले धेरै कुरा बुझ्दा पनि र व्यवहार वादको बारेमा जानकारी परेर थाहा पाउँदा पनि पहिले छाप परेको सिद्धान्तको घेराले छोड्दैन र छोडेको छैन ।

मानिसहरुले त्यही अमूर्त सिद्धान्तप्रति आफूलाई जीवनभर समर्पण गरेका छन् । वचनको पक्का भनेजस्तै विचार प्रतिको पक्का देखिनु पनि नैतिकता मानिन्छ । अझ भनौँ अहिले नेपालको राजनीतिमा आया राम गया राम हुन थालेको बेलामा पनि जीवनको पहिलो खुड्किलोमा विश्वास जमेका सिद्धान्त हो भने कहिल्यै मेटिँदैन जस्तो कि भन्छन् नि, पहिलो प्रेम सफल वा असफल जे भए पनि भोक्ताले बिर्सँदैन रे ! सुरुमा परेको छाप यसरी बस्छ कि त्यो मेटिँदैन तर जब पहिलेको छाप गलत रहेछ भन्ने र गलत तथ्याङ्कद्वारा भनिएको रहेछ भने फेरि यति घृणा बढ्छ कि कुनै सीमा हुँदैन । 

एकपटक मलाई डेमो फिनल्यान्ड भन्ने संस्थाका तत्कालीन नेपाली प्रमुख जस्तो नै भन्ने मानिस, वासु गौतम जीले (केही वर्ष पहिले नै) युवाहरुलाई नेपालका युवाहरुको प्रतिनिधिमूलक समूहलाई मूलधारका दलहरुको सञ्चार नीतिका बारेमा अन्तरक्रियाका लागि बोलाउनु भएको थियो स्रोतव्यक्तिको रुपमा । त्यो दिनको अन्तिम सत्रका रुपमा मेरो श्रोत कक्षा थियो र कम्तीमा पनि त्यो बेलामा मुख्य पाँच दलको सञ्चार नीति र सरकारको सञ्चार नीतिका बारेमा छलफल गरिएको थियो ।

सञ्चार नीतिको कुरा गर्दा अभिव्यक्ति स्वतन्त्रताको बारेमा कुरा  उठ्ने नै भयो । प्रसङ्गमा नेपालको सूचना स्वतन्त्रताको कुरा उठ्ने नै भयो र अभिव्यक्ति स्वतन्त्रताको कुरा उठ्दा विश्वव्यापी मानव अधिकारको घोषणापत्र र त्यसको धारा १९ अर्थात् आर्टिकल उन्नाइसको प्रसङ्ग उठ्यो । अनि नेपाली राजनीतिको आधुनिक चेतनाको संवाहक हक मोड भनेको २००७ सालको जनक्रान्तिको कुरा आयो र त्यसपछिको सरकार, अनि सरकारको गठन, २०१५सालको नेपाली कांग्रेसको सरकार गठन, सरकारको १८ महिनामै हत्या भएको अनि प्रजातन्त्र पुनस्र्थापना, पञ्चायतको सञ्चार नीति र हालको अवस्थाको विकासक्रमका बारेमा खुलेर छलफल सुरु भयो ।

२घण्टापछि धुलिखेलबाट फर्कने मेरो  योजना करिब ५ घण्टासम्म छलफल भएकाले र रात्रिभोजसम्म पनि अनि रातको विश्राममा पनि त्यही बारेमा छलफल भयो । अचम्म त के लाग्यो भने नेपाल विद्यार्थी संघ, तरुण दल, अनेरास्ववियु(एमाले), युवा संघ(एमाले) र राप्रपा, राष्ट्रिय जनमोर्चाका युवाहरुलाई नेपालको इतिहासका बारेमा जानकारी रहेछ तर त्योबेलामा भर्खर भूमिगत जीवनबाट बाहिर आएका अखिल क्रान्तिकारी र योङ् कम्युनिस्ट लिगका त्यहाँ प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुलाई भने नेपाली कांग्रेसको प्रतिबुद्धता र इतिहासको जानकारी नै रहेनछ ।

अनौपचारिकरुपमा उनीहरुले स्वीकार गरे- हामीले त नेपाली कांग्रेसका बारेमा पढेकै छैन । खालि प्रतिक्रियावादी शक्ति हो, पुँजीपति वर्गको विकृत रुप हो र राजाको पक्षधर पार्टी हो मात्रै भन्ने जानकारी थियो । कुनै स्वतन्त्र साहित्य र जानकारी पढेकै थिएनौँ । अनि मसँग सोधे-तपाईँले भनेको सत्य हो कि नेपाली कांग्रेसले नै नेपालमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अभियान चलाएको ? अनि नेपाली कांग्रेसले नै हो जातपात नमान्ने, सबै बराबरी भनेर सैनिक विद्रोह, सैनिक आन्दोलन गरेको सात सालमा ? समावेशीको नारा अनुसार दलितको पनि समावेशी संस्था बनाएको हो ? कसरी विश्वास गर्ने ?

मैले भने, मैले पनि इतिहास पढेर जानेको हो र संगत त २०३३ साल पछिमात्र नेपालमा बीपी आएपछि हुन थालेको हो । त्यो इतिहासको बारेमा जानकारी पाएकाहरुलाई छलफलकै क्रममा भने-नेपालको प्रजातन्त्रको शंखनाद गर्ने नेपाल प्रजा परिषद् भए पनि त्यसलाई जनस्तरमा क्रान्ति गरेर राणाशासनको अन्त्य गर्ने त नेपाली कांग्रेस नै थियो र अनवरत पञ्चायतसँग संघर्ष गरेर प्रजातन्त्र पुनर्स्थपना गर्ने नेतृत्व पनि नेपाली कांग्रेसले गरेको थियो । यसलाई कसरी व्याख्या गर्ने हो भने नेपालको इतिहास निष्पक्षसँग लेखिएको छैन ।  

बीपीको जीव नक्रमको सूचना यदि स्व. गणेशराज शर्मा जीले प्रयास गरेर बीपीकै आवाजमा शब्दहरु रेकर्ड गरेर आत्मबृतान्त प्रकाशन नगर्नु भएको भए बीपी नै नेपाली इतिहासमा लेफ्ट ह्यान्डेल क्रिटिकको भरमा बाँच्नुपर्ने थियो । बीपीले साहित्यिक पत्रकार संघको बीपीको जीवनमा पहिलो र अन्तिम साहित्यिक अभिनन्दन समारोह आयोजना गरिएको थियो २०३८सालको श्रीपञ्चमीका दिन डिल्लीबजारको नेपाल सांस्कृतिक संघको सभाकक्षमा ।

उहाँको गुनासो विद्वान र इतिहासकारसँग थियो, म लेफ्टह्यान्डेड क्रिकेटको मारमा परेको छु । अर्थात् उहाँको लाक्षणिक तात्पर्य थियो ,समर्थकहरु देवत्व करण गर्छन्, मलाई एकदम ठुलो मान्छन् मैले जे लेखे पनि, जे गरे पनि प्रशंसा गर्छन् र विरोधीहरु छन् जे गरे पनि विरोध गर्छन् , जे लेखे पनि त्यहाँबाट रौँको पनि छाला बाहिर ल्याउन खोज्छन् । त्यसैले मेरो बारेमा सही मूल्याङ्कन भएको छैन भन्ने आशयको भनाइ थियो । र आफू ठुलो साहित्यकार नभएको, बालकृष्ण सम, लेखनाथ पौडेल, महाकवि देवकोटा, जस्ता थुप्रै व्यक्तित्वहरु नेपाली साहित्यमा रहेको बताउनु भयो । 

साँच्चै नै जब नेपाली इतिहासको बारेमा अध्ययन गर्न मन लाग्छ, खासमा सही इतिहासको जानकारी पाउन धेरै पुस्तक पढ्नु पर्छ र हामीले भोगेको बेलाका बारेमा समेत सही जानकारी पाइँदैन । एकपटक मेरा मित्र शिक्षक नेता तथा सचेत प्रजातन्त्रवादी नेता केशवप्रसाद भट्टराई जीले भन्नुभएको थियो, हरिजी नेपालको इतिहास लेख्नुस् तर निष्पक्ष भएर ।

मैले भनेँ, केशव जी एक त सामग्री पाउन पनि विदेशीको आधार लिनुपर्छ, अर्कोतिर प्राप्त सामग्रीहरु कति सत्य, कति काल्पनिक थाहा पाउन धेरै अनुसन्धानको जरुरत छ र हामी एकतर्फी भनेर मान्नेहरूले हाम्रो लेखाइलाई निष्पक्ष मान्दैनन् जस्तो कि हामीले अरुको मान्दैनौँ । केशवदजीले केही त लेख्दै  हुनुहुन्छ होला तर नेपालको इतिहास नै लेख्ने काम गर्नु भएको छ कि छैन थाहा छैन तर धैर्यता पूर्वक सामग्री केलाउने मेरो पुस्ताका लेखकहरूमा उहाँ साँच्चै अब्बल हुनुहुन्छ ।

उहाँले लेखेको कतिपय सत्य र तथ्यपरक कुराहरु नेपाली समाजमा नपचाउने पनि छन् र पनि उहाँले लेख्नु नै धर्म हो भनेर लेखिरहनु भएको छ । एउटा समीक्षकको लेखाइ मन पर्नु या नपुर्नसँग खासै सरोकार हुँदैन तर उहाँको भित्री मनले नेपालको बारेमा लेखेको चिन्ता र इतिहासलाई साक्षी राख्ने कामको म जहिले पनि प्रशंसा गर्छु । अर्थात् सत्यको खोजी साह्रै मुस्किल काम हो र त्यो पुस्तौँ पुस्ता पनि लाग्नसक्छ । 

मेरो शिक्षण पेसाको जीवनमा पत्रकारिताले मद्दत नै गरेको पाएँ । त्यस्ता अन्तरक्रिया र प्रशिक्षणका भाग लिँदा मलाई आफ्नो पत्रकारिता पेसाले पनि साथ दिएको हुन्छ किनभने पत्रकारिताले सत्यको निकट पुग्न सहज हुने रहेछ भने शिक्षणले सत्य प्रकट गर्न सहज बाटो पहिल्याउँदो रहेछ । पत्रकारिताको कुरा गर्दा मैले थाहा नै नपाई लेख्ने काम गर्न थालेँ जुन कुरा पत्रिकामा लेख्दा र लोकप्रिय भाषामा लेख्नुले  पत्रकारिताको काम गरेको हुँदो रहेछ जहाँ सत्यको उद्घाटन पनि हुन्छ र आफ्नो धारणाको पुष्टि गर्नका लागि खोजी गर्नु अनिवार्य हुँदो रहेछ ।

कम्तीमा पनि एउटा पत्रकारलाई के ठिक, के बेठिक थाहा हुन्छ तर पापी पेटले गर्दा सिद्धान्तभन्दा व्यवहारवादी हुनेहरुको संख्या धेरै भएको छ ।  पत्रकारितामा जोखिम हुन्छ र सत्य उद्घाटन गर्दा आमाले बच्चा पाएजस्तो खुसी पनि हुन्छ, जोखिम पनि हुन्छ ।  पत्रकारिताले जोखिम उठाएर गरेको खोजीले प्राप्त परिणामले यदि सामान्य भुइँ मानिसको हित भयो भने, राष्ट्रको हित भयो भने हुने खुसीको कुनै मापन हुँदैन । सायद सूचनाको हकको प्रयोगका लागि अभियन्ताहरुले गरेको दुःखको परिणाम नै आजको प्रजातान्त्रिक सूचनाको हकको आधार बनेको छ र आम जनताको जीवनस्तर उठाउने काम गर्न सक्नेछ भन्ने लागेको छ । अनि मैले जीवनमा कुनै अतिको पक्षमा लाग्न सकिन तर सहिको पक्षमा लाग्दा पाउने दुःख चाहिँ भोगे कै छु जुन कुरा आगामी लेखमा लेख्ने नै छु । क्रमशः