वाम गठबन्धन/तालमेल: सार्वजनिक रुपमा 'वामपन्थी' अस्वीकार, भित्रभित्रै सिट लेनदेनको 'पासा' !

लोकसंवाद टिप्पणी

वाम गठबन्धन/तालमेल: सार्वजनिक रुपमा 'वामपन्थी' अस्वीकार, भित्रभित्रै सिट लेनदेनको 'पासा' !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७९

पछिल्लो समयमा देशमा फेरि वाम गठबन्धनको चर्चा ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचन सकिएर प्रदेश र संघीय संसदको निर्वाचनको मिति नजिकिदैं गर्दा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धन निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

यसै सन्दर्भमा तत्कालीन नेकपालाई विभाजन गराउन निर्णायक भूमिका खेलेका दुई नेता शनिबार एउटै मञ्चमा देखिए । जसमा दुवैले आफ्ना केही अहम सहित वाम गठबन्धनको वकालत गरेका छन् । नेपाल–चीन हिमालयन मैत्री समाजको कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र नारायणकाजी श्रेष्ठले एक अर्कालाई कटाक्ष गर्दै फेरि वाम गठबन्धनको वकालत गरे । 

स्मरणीय छ, शुक्रबार भएको उपसभामुखको निर्वाचनपछि संसद भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता तथा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङले एमाले जुनसुकै हालतमा अहिलेको गठबन्धन भत्काउने कोसिसमा रहेको बताएका थिए । यतिबेला एमालेले एकातिर कांग्रेससँगको गठबन्धन सरकारमा सहभागी दलहरुलाई कम्युनिस्ट नै नभएको दाबी गर्ने र अर्कोतिर भित्री रुपमा वाम गठबन्धनका लागि जोडबल गरिरहेको छ ।

एमाले आफ्नो मिसनमा सफल होला या नहोला त्यो समयसँगै निर्धारण होला । तर यतिबेला कम्युनिस्ट शक्तिका नाममा जस्ता खेलहरु भइरहेका छन्, ति भने केही आश्चर्य लाग्दा छन् । एमालेले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई यतिबेला वाम देख्न छाडेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमालेलाई कम्युनिस्ट ठान्दैनन् । त्यसो त यी पार्टीहरूमा कुनै राजनीतिक, सैद्धान्तिक, वैचारिक मतभेद देखिदैन । 

एमाले र एकीकृत समाजवादी दुवै जनताको बहुदलीय जनवाद मान्ने शक्ति हुन् । विगतमा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा जबज र २१ औं शताब्दीको जनवाद नामका दुई पार्टीले प्रयोग गर्ने शब्दावलीलाई थाती राखिएको थियो । तर यी पार्टीबीच त्यसबेला पनि कुनै राजनीतिक, वैचारिक र सैद्धान्तिक मतभेद देखिएको थिएन । जसरी नेपालमा यतिबेला राष्ट्र बैंकको गभर्नर एम अधिकारी को होलान् भन्ने थोरै भ्रम, अलिकति शंका र धेरै अनुमान छ, त्यसैगरी यी कम्युनिस्ट पार्टीबीचको फरक पनि यहि एम अधिकारी र महाप्रसाद अधिकारी बीचको फरक जस्तै हो । धेरैलाई फरक होला जस्तो लाग्ने, तर खास फरक चाहिँ नभएको । 

‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देश घाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौँरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँडिने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस, गल्ती भइहाल्यो छोडि दिऊँ ।’ 

शनिबार भएको कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीलाई घोचपेच गर्दै 'तुम सेर तो हम सवासेर' नभनी वामपन्थी कम्युनिस्ट शक्तिहरुले अबको निर्वाचनमा तालमेल र पार्टी एकता गर्नुपर्ने बताए । 

नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरु बीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्ने भएकाले एकजुट हुनुपर्ने बताए । उनले सबै वामपन्थी नेताहरुले कमी कमजोरी भए आत्मसमीक्षा गर्दै तालमेल गर्नुपर्ने आवश्यकता औल्याए ।

उनले भने, ‘नेपालमा देशभक्त अगुवा शक्ति वामपन्थी शक्ति हो भन्ने कुरा कसैबाट छिपेको छैन । अहिले पनि देशमा वामपन्थी शक्तिहरु दुई तिहाइभन्दा बढी छन् । एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने स्थितिमा त गइराखेका छैनौं ? वामपन्थी आन्दोलन सिध्याउने र, आफू सबै विसर्जित हुने ? त्यसबाट बच्नु पर्‍यो । नेपालमा वामपन्थी आन्दोलन सिद्धियो भने राष्ट्रियता कमजोर हुन्छ र देशको अस्तित्व संकटमा पर्छ । त्यसका लागि वामपन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यकता छ । तर त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ । अरु नेताहरु बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु–'तुम सेर तो, हम सवा सेर छोडि दिऊँ । गम्भीर आत्मसमीक्षा गरौं । सबै मिलौँ ।’

वामपन्थी शक्तिबीच एकताको कुरा उठेपछि केपी ओलीले त्यसको जवाफ दिइहाले । उनले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन अन्य दलहरुलाई आग्रह गरे । ओलीको यो भनाई वामपन्थी शक्तिलाई साँच्चै एकठाउँमा ल्याउने भन्दा पनि अहिलेको सत्ता गठबन्धन भत्काउन पनि त्यहाँ भित्रको वाम शक्तिलाई बाहिर ल्याउनुपर्छ भन्ने मनसायले ग्रसित देखिन्थ्यो । 

उनले भने, ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देश घाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौँरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँडिने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस, गल्ती भइहाल्यो छोडि दिऊँ ।’ 

ओलीले सो कार्यक्रममा आफूलाई सबैभन्दा बढी राष्ट्रवादी रुपमा चित्रित गरे । ‘हाम्रो देशभक्ति बनावटी कुरा होइन । बनावटी कुराले राष्ट्र हितको संरक्षण र सम्बद्र्धन गर्न सकिदैन । बनावटी कुरा गर्‍यो भने अहिलेको सरकारको हालत हुन्छ । यो गठबन्धन सरकारले जति राष्ट्रियताको, स्वाभिमानको, हाम्रो भौगोलिक अखण्डताको, हाम्रो स्वतन्त्रताको, हाम्रो सार्वभौमसत्ताको अपमान र हुर्मत कहिल्यै पनि भएको थिएन ।’

रुपमा वामपन्थी एकताको कुरा गरे पनि सारमा ओलीको अभिव्यक्ति कसरी अन्य दललाई खसाल्ने भन्नेमा नै केन्द्रित देखिन्थ्यो । अहिले जसरी यी नेताले कम्युनिस्ट पार्टी एक बनाउने र विगतको एकता नजोगाएकोमा पश्चाताप गरिरहेका छन्, पार्टी एक हुँदा पार्टी विभाजन गराउन त्यति नै भूमिका खेलेका छन् । तत्कालीन नेकपाका पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठले कतिपय सन्दर्भमा आफूखुसी अभिव्यक्ति दिने पार्टीभित्रको सन्तुलन बिगार्न भूमिका खेलेका थिए ।

५ पुस, २०७७ मा केपी ओलीले संसद विघटन गरेपछि त दुई नेताबीच घोचपेच मात्रै चलेन कारबाही गरा गर पनि भएको थियो । ओलीलाई पार्टीबाट कारबाही गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठ सामेल थिए भने ओलीले नारायणकाजीलाई पार्टी प्रवक्ताबाट एकलौटी रुपमा हटाएर प्रदिप ज्ञवालीलाई प्रवक्ता बनाएका थिए । अहिले यी नै दुई नेता कम्युनिस्ट एकताका लागि एकै मञ्चबाट आव्हान गरिरहेका छन् । उनीहरुको आव्हान गलत होइन, तर कम्युनिस्ट एकता विचार, सिद्धान्त, योजना र कार्यक्रमसहित देश विकास र निकासका लागि हुने कि विगतमा जस्तै ‘काले काले मिलेर खाउँ भाले’ भन्ने दिशा तिरबाट हो भन्ने विस्तारै खुल्दै जाला । 

वाम गठबन्धन वा बाम एकता एकले अर्काेलाई सार्वजनिक रुपमा 'वामपन्थी' नै  नदेख्ने तर भित्र भित्र भने सत्ता गठबन्धन तोड्ने मिसन नै सही वाम गठबन्धन/तालमेलको लागि निर्वाचन क्षेत्रको तहमा सिट बाँडफाँड र लेनदेनको तहसम्म  एमालेले पासा फालि रहेको छ । तर वाम गठबन्धन/तालमेलको कुरा गर्ने आफू बाहेक अन्य नेतालाई 'वामपन्थी नै नदेख्ने 'ओली प्रवृति' र अहङ्कार नै  बाधक आएको छ ।