आसन सिद्ध साधकबाट स्थिर आसनमा बसेर 'सहज कर्म' गर्दा मात्र उत्पन्न हुने योगका फलको प्राप्ति

आसन सिद्ध साधकबाट स्थिर आसनमा बसेर 'सहज कर्म' गर्दा मात्र उत्पन्न हुने योगका फलको प्राप्ति

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार ३२, २०७९

   तस्मात् त्वमुत्तिष्ठ यशो लभस्व
    जित्वा शत्रून् भुंक्ष्व राज्यं समृद्धम् ।

   मयैवेते निहताः पूर्वमेव
    निमित्तमात्रं भव सव्यसाचिन् ।। ३३ ।।

अन्वय र अर्थ – तस्मात् = त्यसकारण, त्वं = तिमी, उत्तिष्ठ = युद्धका लागि उठ, यशः = अजेय भनिएका भीष्म द्रोणहरूलाई अर्जुनले जिते भन्ने निर्मल कीर्तिलाई, लभस्व = प्राप्त गर, शत्रून् = दुर्योधनादि शत्रुहरूलाई, जित्वा = जितेर, समृद्धं = समृद्धि सम्पन्न, राज्यं = अकण्टक राज्य, भुङ्क्ष्व = भोग गर, एते = यी तिम्रा शत्रुहरू, युद्धात् पूर्व = युद्ध हुनु भन्दा पहिले, एव = नै, मया = मद्वारा, निहताः = प्राण विहीन गरिएका छन्, सव्यसाचिन् = हे सव्यसाचिन् (दुबै हातले धनु चलाउन सक्ने), (त्वं = तिमी), निमित्तमात्रं = कारणमात्र, भव = बन ।

भावार्थ–अतएव् तिमी युद्धका लागि उठ, यश लाभ गर, शत्रुहरूलाई जितेर समृद्ध राज्यको भोग गर, यी सबै तिम्रा शत्रुहरू युद्ध हुनुभन्दा पहिले नै मद्वारा मारि सकिएका छन् । हे सव्य साचिन् ! तिमी यस संहारमा केबल निमित्त मात्र बन ।

विशिष्टार्थ–अतएव् अब तिम्रो शंकाको कुनै विषय नै छैन । चिदाभासादि प्राकृतिक जे छ त्यो सबै नै माया भुक्त अहंकारको धोका हो । जुन दिनदेखि जीवले वास्तविक 'म' लाई बिर्सेर नक्कली  'म' को आश्रय लिएको छ, उसै दिनदेखि नै जीव मर धर्मी बनेको छ । फेरि तिमी विषण्ण (निरुत्साह) हुनुको कारण के हो ? नियतिको वशमा परेर सबैलाई मेरो यो कालरूपी  ग्रासमा पर्नु पर्छ नै । अतएव तिमी युद्धका लागि उठ ।

'उत्तिष्ठ'– युद्धार्थ उठ । युद्धको बेला रथी  रथमाथि वीरासनमा दृढ र संयत भएर बस्नु पर्छ । अर्जुन आत्मीय स्व जनहरूको बधको चिन्ताले कृपा परवश भएर सरका साथै धनुषलाई पनि परित्याग गरेर मेरुलाई शिथिल राखेर, हात जोरेर वीरासन शिथिल गरेर पलेँटी मारेर बसेका थिए । त्यसैले भगवान् भन्नुहुन्छ  'उत्तिष्ठ' अर्थात् युद्ध गर्न उपयुक्त रूपले उठेर बस । साधकको पनि साधन समयमा ठीक त्यस्तै अवस्था हुन्छ, अवसाद (थकान) पछि साधक पनि उठेर बस्नु पर्छ, अर्थात् दुबै गोडालाई उपदेश अनुसार आसन बद्ध गरेर मेरुदण्डलाई सीधा गरेर छाती फुलाएर शरीरलाई संयत (नियन्त्रित) गर्नु पर्दछ र मनलाई पञ्च तत्वको माथि  'प' स्थानमा अर्थात् मस्तक ग्रन्थिको माथि स्थापन गर्नु पर्दछ । यसरी  नै उठ् वस् गर्नु पर्दछ । यस श्लोकमा  'उत्तिष्ठ' शब्दद्वारा यही उपदेश दिइएको छ ।

त्यसपछि भगवान् भन्नुहुन्छ– 'यशो लभश्य यश लाभ गर । यश केलाई भन्दछन् ? सत्कर्मको फलले सबै माथि स्वभावतः आत्म प्रभाव विस्तार हुनु नै यश हो । साधनामा सिद्धि लाभ हुनुभन्दा पहिले प्राकृतिक प्रभाव नै बलवान् हुन्छ, आत्म प्रभाव दाविएको हुन्छ । सिद्धि लाभ भएपछि प्राकृतिक प्रभाव निस्तेज हुन्छ अनि आत्म प्रभाव सतेज हुन्छ, यही यश हो, यो नै कैवल्यको सूचना हो, अर्थात् समस्तलाई त्यागेर एक्लो  'म' बन्नु–संकोचतालाई नाश गरेर विस्तार हुनु अवस्था हो ।

'जित्वा शत्रून् भुक्ष्व राज्यं समृद्धं' – शत्रु पक्षलाई अर्थात् दुर्योधन प्रभृति कामा दि रिपुगणलाई जितेर निष्कण्टक राज्य भोग गर, अर्थात् जीवन मुक्त भएर शरीरान्त नहुँदासम्म, जस्तो आकाश निर्लिप्त ताका कारण प्रबल वायुको ताडनको बोध गर्दैन, त्यस्तै तिमी पनि निर्लिप्त भएर माया र मायावीहरूको भोग गर्दै जाऊ ।

अन्तमा भगवान् भन्नुहुन्छ – 'हे सव्यसाची !' मैले यी सबैलाई पहिले नै मारिसकेको छु, यसमा तिमी केवल निमित्त मात्र बन । भगवान्को यस वचनले एक महान् जटिल समस्याको मीमांसा (अनुसन्धान) भएको छ । संसारमा मनुष्य म गर्छु म गर्छु इत्यादि भनेर वैषयिक अहंकारले मात्तिएर आत्महारा बनिरहेको छ । वास्तवमा कर्ता के मनुष्य हो ? हैन, मनुष्य कर्ता कहिल्यै हुन सक्दैन, ऊ त केवल निमित्तमात्र हो, कर्मको फल संयोजनका लागि अलग्गै अरू कुनै एक अद्वितीय विधाता छ ।

अतः मनुष्यलाई कर्म मात्रमा अधिकार छ, फलमा उसको अधिकार छैन । मनुष्य निमित्त भएर कुनै एक कर्म प्रारम्भ गर्न सक्छ, दुई वा दुई भन्दा अधिक वस्तुलाई एकै ठाउंमा मिलाउन सक्छ । यो मिलाउने क्रिया मनुष्यको अधीनमा छ जस्तो अक्सिजन दुई अंश  र हाइड्रोजन एक अंश मिलाउनुले पानी बन्छ परन्तु यसलाई कसैले व्यतिक्रम गर्न सक्दैन । यो सबै विधान सृष्टि भन्दा पहिलेदेखि नै भएको छ ।

अतएव जब त्यसरी कर्मको अनुष्ठान हुन्छ तब फल पनि त्यसै प्रकारको हुन्छ । जगत्को प्रत्येक व्यापारमा नै कर्म र कर्मफल विधानको सम्बन्धमा सदैव एउटै नियम अटल छ – मनुष्य निमित्त मात्र हो, फल विधाता उही 'म' रूपी अद्वितीय अचिन्त्य पुरुष हो । अव यो जुन (महाभारतको समर उपस्थित भएको छ या योग साधनाको) यसमा पनि उही एउटै विधान वर्तमान छ ।

यी दुबै सैन्यको मध्यभागमा खडा हुनुभन्दा पहिले नै यस युद्ध घटित जति कर्महरूको अनुष्ठान भैसकेका छन्–यम नियमादि जुन सबै योगाङ्ग साधनद्वारा सव्य साची अवस्था लाभ गरियो त्यसको अवश्यम्भावी फल–अनिवार्य विधान यो हो कि अव प्राणाया मरूपी शर चालन गर्नाले नै भीष्म, द्रोणादिका साथ दुर्योधनादि वृत्ति समूह निश्चय नै लय प्राप्त हुन्छ, आफै हुन्छ किन कि ती सबै पहिलेदेखि नै मयैव निहताः भैसकेका छन् अर्थात् 'म' रूपी विधाताको कर्मफल विधानको विधाले सबै नै तयार छ, यसको विपरीत उनीहरूका लागि अरू केही हुनै सक्दैन ।

प्राणायाम गर्नु केवल निमित्त मात्र हो । साधक सव्यसाची भएर अव जुन अवस्थामा उपस्थित भएका छन्, त्यसमा इच्छाले होस् या अनिच्छाले, अवश्य साधक यस निमित्तको नामी बन्नु नै पर्छ, कुनै प्रकारले पनि साधक यस निमित्तबाट बच्न सक्दैन । किन कि  'स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात्' यस वाक्य  अनुसार  साधकलाई फेरि  पार्थिव अंशमा  विशेष लपेटिनु  पर्दैन,  तत्पश्चात्  'पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोऽपि सः' यस वाक्य अनुसार साधकलाई अवश भएर  ब्रम्ह मुखी हुनु नै पर्नेछ , यसपछि,  'कर्तुं नेच्छसि यन्मोहात् करिष्यस्यवशोऽपि तत्' यही वाक्य अनुसार साधक कर्मफलको वशमा परेर इच्छा नहुँदा नहुँदै पनि बाध्य भएर कर्म गर्नु नै पर्ने हुन्छ ।

भगवान्ले अर्जुनलाई सव्य साची भनेर सम्बोधन गरी, अर्जुन जो निमित्त कारण हुनुका उपयुक्त पात्र भएका छन्, सोही विषयको लक्ष्य गराइदिनु भएको छ । जसका दुबै हातमा अव्यर्थ सन्धान रहन्छ उसैलाई सव्य साची भन्दछन् । साधकको पनि जब ठीक सुषुम्ना भित्र वायु चालन हुन्छ, तव श्वास–प्रश्वासयुगपत् दुबै नासिकामा सरल भावले चलिरहन्छन् र वायुको आकर्षण र विकर्षणको गति पनि समान हुन्छ

यसकारण साधकले कर्मबाट छुटकारा पाउँदैन । जुन कर्म गरिसकिएको छन् तिनको फलले साधकलाई अवश्य निमित्त हुनु नै पर्नेछ । अतएव आफ्नो इच्छाले यदि साधक निमित्त हुँदैनन् भने प्रकृतिमाथि निज आत्म प्रभाव विस्तार रूप यशो लाभ गर्न सक्दैनन्– 'असपत्नं ऋद्धं राज्यं' को भोग हुन सक्दैन, चिरा कांक्षित जीवन मुक्ति पनि पाउन सक्दैनन् । तिनीहरूलाई निरर्थक लीन हुनु पर्छ अनि त्यो अपूर्ण आकांक्षा को लागि उनीहरूमा संसार वीज रहिरहन्छ, अतः काल वशले साधकलाई  फेरि संसार मार्गमा  आउनु  नै पर्छ । (किनभने आकांक्षा गर्नुको यही गुण हो – कुनै न कुनै बेला कालान्तरमा त्यसको फल प्राप्त भएरै छोड्छ), भोग नगरिकन त्यसको क्षय हुँदैन । जुन अभिलाषाको पूरण गर्न कुनै कर्मको अनुष्ठान गरिन्छ, सोही सचेष्ट अभिलाषा नै वास्तविक आकांक्षा हो र त्यही बन्धन हो, भोग विना त्यसको क्षय हुँदैन ।

अनि जुन अभिलाषा अनुष्ठान विहीन कल्पना मात्र छ, त्यो वास्तविक आकांक्षा हैन, त्यसकारण त्यो बन्धन हैन र त्यसको फल पनि प्राप्त हुँदैन, परन्तु त्यसले चित्तविक्षेप उत्पन्न गरेर कर्मानुष्ठानमा बाधा पुर्‍याउँछ ।) यदि आकांक्षा गरिएन भने अरू कुनै समस्या रहँदैन, परन्तु यो असम्भव छ, किन भने कार्य प्रवृत्तिको जड आकांक्षा नै हो, त्यसकारण आकांक्षाको फल भोग नगरिकन कदापि निराकाङ्क्ष भइँदैन–ध्रुवको राज्य भोग नै यसको ज्वलन्त उदाहरण हो । यदि  साधक अव पनि आफ्नो इच्छाले 'निमित्त' हुन्छ भने सर्वत्र उसको आत्म प्रभाव विस्तार भएर प्रकृतिबासी रूप यशोलाभ हुनेछ, जीवन मुक्त अवस्था प्राप्तिले सबै आकांक्षाको परितृप्त भएर वासना वीज नष्ट हुनेछ, अनि यसबाट फेरि संसारमा जन्म हुँदैन । यसकारण भगवान् भन्नुहुन्छ–कर्मफलको विधानद्वारा मैले पहिले नै यी सबैको निधन गरिसकेको छु अर्थात् के हुन्छ अथवा के हुँदैन यी सबैलाई मैले पहिले देखि नै ठीक गरेर राखेको छु, तिमी केवल निमित्त भएर, भोगद्वारा प्रारब्ध क्षय गरेर निर्बीज समाधि लाभ गर ।

आसन सिद्ध साधकले केबल स्थिर आसनमा बसेर 'सहज कर्म'को अनुष्ठान गर्नाले नै उसको स्वतः सबै क्रिया हुन्छन्, योगका सबै प्रकारका फलहरू उत्पन्न हुन्छन् । जस्तो शय्यामा पल्टिरहेको अवस्थामा निद्राले आक्रमण गर्दा पूर्व कृत कर्मफलका लागि स्वप्नमा विविध अवस्थाका भोगहरू र अनेक प्रकारका दर्शन श्रवण आदि हुन्छन्, परन्तु त्यो सबै मिथ्या (अलिक) हो । त्यसरी नै स्थिरासनमा बसेर गुरू उपदेश अनुसार क्रिया गरि रह नाले स्वतः योग निद्राको आविर्भावले 'प्रबोध समय' को उदय हुन्छ, त्यसबेला प्रबुद्ध भएर अद्वय आत्मा (आत्मानमेवाद्वयं) को साक्षात्कार लाभ हुन्छ, यो सबै सत्य र अ भ्रान्त हो । शय्यामा सुतिरहेको जस्तै साधक स्थिरासनमा बसेर कर्ममा लागि रहनुको नाम नै निमित्त हुनु हो । त्यसरी निमित्त हुनुको अवश्यम्भावी चिरन्तन फल हो–आत्मभावद्वारा संसार वासना र तदनु कूल वृत्ति समूह सबै लय हुन्छन्, पुनरुद्भवको फेरि संभावना नै रहँदैन ।

भगवान्ले अर्जुनलाई सव्य साची भनेर सम्बोधन गरी, अर्जुन जो निमित्त कारण हुनुका उपयुक्त पात्र भएका छन्, सोही विषयको लक्ष्य गराइदिनु भएको छ । जसका दुबै हातमा अव्यर्थ सन्धान रहन्छ उसैलाई सव्य साची भन्दछन् । साधकको पनि जब ठीक सुषुम्ना भित्र वायु चालन हुन्छ, तव श्वास–प्रश्वासयुगपत् दुबै नासिकामा सरल भावले चलिरहन्छन् र वायुको आकर्षण र विकर्षणको गति पनि समान हुन्छ, अनि दशांगुलि प्रवेश तथा द्वादशांगुलि निर्गमन पनि मेटिन्छ, त्यस समयमा विषमता रहँदै रहन्न । जुन साधक यस्तो अवस्था पन्न छन् उनैलाई सव्यसाची भन्दछन् ।

यस अवस्थामा साधकलाई निर्लिप्तताले व्याप्त गरिरहेको हुन्छ । तर पनि असाधक व्यक्तिहरू निमित्त दोष लगाउँछन् । त्यसैले भगवान्ले भन्नु भएको छ–तिमी निमित्त मात्र बन ।