तलव भत्ता सङ्खुवासभाकाे मङ्गलादेवी माविबाट, हाजिर भने ललितपुरको लुभु महालक्ष्मी माविमा !

तलव भत्ता सङ्खुवासभाकाे मङ्गलादेवी माविबाट, हाजिर भने ललितपुरको लुभु महालक्ष्मी माविमा !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण ३, २०७९

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले पहुँचका आधारमा काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

पहुँच आधारमा विद्यालय शिक्षकले काज सरुवा गरेर विद्यालयलाई दोहोरो आर्थिक भार बनाएको भन्दै स्थानीयले आपत्ती जनाएका हुन् । सामान्यतया असम्भव मानिने विद्यालय शिक्षकको सरुवा खाँदबारी –७ स्थित मंगलादेवी माध्यमिक विद्यालयकी शिक्षिकाको काज सरुवा गरिएको  हो । 

सरुवा भइ जाने र सरुवा दिने विद्यालय दुवै ब्यवस्थापन समितिको स्वीकृती, सम्बन्धित स्थानिय तहहरुको स्वीकृती र शिक्षा समन्वय इकाइको लिखित सहमतिमा मात्र सरुवा गरिने विद्यालय शिक्षकको सरुवा प्रणाली रहेकोमा यहाँको शिक्षिका उमा गौतम घिमिरेले सबै बाधा पार गरेर राजधानीको विद्यालयमा आफ्नो जागिर सरुवा गरेर राजधानी बसाई लम्बाईको विषयमा  विरोध जनाएका हुन् ।

शिक्षिका गौतम सरुवा भइ गएको ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–८ लुभु महालक्ष्मी माध्यमिक विद्यालयले 'पदाधिकार रहको विद्यालयबाट नै तलव भत्ता खाने गरीु भन्ने शर्तमा काज सरुवाको स्वीकृति दिएकाले निज शिक्षिकाको पदाधिकार रहेको मंगलादेवी माध्यमिक विद्यालयले नै तलब भत्ता भुक्तानी गर्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाई ललितपुरले २०७८ पुष १२ गते महालक्ष्मी माध्यमिक विद्यालयमा खटाएको थियो ।

शिक्षिका गौतमको सरुवामा खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दिपकमणि घिमिरेको मुख्य भूमिका रहेको बताइन्छ । मंगलादेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षा शाखा प्रमुख घिमिरे की श्रीमती उमा गौतम घिमिरेलाई पहुँचका आधारमा काज सरुवा दिएको भन्दै चौतर्फी विरोध भएको छ । शिक्षक सरुवा भएपछि विद्यालयको शैक्षिक क्रियाकलाप प्रभावित हुने हुँदा विद्यालयलाई सट्टा शिक्षक नियुक्ति गर्न ३ लाख रुपैयाँ दिने आश्वासन दिएकाले विद्यालय व्यवस्थापनले शिक्षिकलाई काज सरुवा हुन सहमति दिने निर्णय गरेको खुल्न आएको छ ।

विद्यालय व्यवस्थापन र नगरपालिकाको शिक्षा शाखा प्रमुख बीचको सोही सहमति अनुसार विद्यालयले विज्ञापन खुलाएर ६ महिनाका लागि संगीता राईलाई सट्टा शिक्षकको रुपमा राखेको छ । नगरले दिएको बजेट अनुसार नियुक्ती पाएकी शिक्षिका संगीता राईको असार १३ गते करार अवधी सकिएको मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र श्रेष्ठले बताए । य

स प्रकरणको वास्तविकताका बारेमा कुराकानी गर्दा मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र श्रेष्ठले भने– ‘विशेष परिस्थितिले गर्दा बाध्य भएर काज सरुवाको सहमति दिएका हो ।’ ब्यवहारिक र मानवीय संवेदनाका हिसावले काज सरुवा दिएको र विद्यालयको शैक्षिक क्रियाकलापलाई असर नपर्ने गरी स्रोत व्यवस्थापनको सहमति भएपछि काज सरुवाको सहमति दिएको प्रअ श्रेष्ठले बताए ।

शिक्षिका गौतमले पारिवारिक समस्या देखाउँदै गत पुषमा तीन महिनाका लागि काज सरुवाको सहमति माग गर्दै निवेदन दिएको प्रअ श्रेष्ठले बताए । सोही अनुरुप विद्यालयले पहिलो पटक तीन महिनाको काज सरुवा दिएको थियो । ब्यवस्थापन समितीले शिक्षिका गौतमलाई बढीमा ६ महिनाका लागि काजका लागि अनुमति दिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आले मगरले बताए । नीतिगत हिसाबमा काज नपाउने भएपनि ब्यवहारिक हिसाव काज सरुवा दिएको अध्यक्ष आलेले बताए । 

तर तीन महिना पछि पनि विद्यालय नफर्किए पछि पुन तीन महिना काज थप गरेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा काज सरुवा गरेको समितिका सदस्यहरुको गुनासो छ  । ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आले मगर, प्रअ योगेन्द्र श्रेष्ठ र तत्कालिन वडाध्यक्ष मौसम आले मगरले समितिलाई जानकारी नै नदिइ काज सरुवाको सहमति दिएको समितिका सदस्यहरुको आरोप छ ।

विद्यालयलाई घाटा हुने गरी काज सरुवा दिन नहुने विद्यालय ब्यवस्थापन समितिका सदस्य टंक चौहानले बताए ।  सदस्य चौहानले भने काज सरुवा दिने निर्णयमा आफ्नो असहमति रहेको छ । नगरको बजेट एउटा ब्यक्तिको स्वार्थका लागि खर्च गरिन नहुने सदस्य चौहानले बताए । 

उता खाँदबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपकमणि घिमिरेले नीति नियम अनुसारनै काज सरुवा दिएको बताए । सरकारले आफ्ना कर्मचारी जुनसुकै बेला जतासुकै खटाउन सक्ने शिक्षा शाखा प्रमुख घिमिरेले बताए । विद्यालय ब्यवस्थापन समितिको निर्णय र सहमति अनुसार नै काजमा खटाइएको शिक्षा शाखा प्रमुख घिमिरेले दावी गरे ।