३ वर्षमा बन्नु पर्ने संघीय संसद् भवन समय सकिदा ४५ प्रतिशत मात्र काम ! मन्त्री चौधरीको निर्देशन 'ढिलाइ नगर्नू'

३ वर्षमा बन्नु पर्ने संघीय संसद् भवन समय सकिदा ४५ प्रतिशत मात्र काम ! मन्त्री चौधरीको निर्देशन 'ढिलाइ नगर्नू'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७९

 काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको मंगलबार बिहान निरिक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् ।  
नयाँ बन्दै गरेको संघीय संसद भवनमा बानेश्वर भन्दा केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञाशामा आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरु, संसद सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी लबी, वातानुकुलित कक्ष रहेका छन् ।’ 

साथै करिब ३५० गाडी अट्ने अण्डरग्राउण्ड पार्किङ र त्यति नै संख्यामा भवन बाहिर पार्किङको व्यवस्था, फोहरासहितको आकर्षक बगैँचा, आधुनिक सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण, भूकम्प प्रतिरोधी, सिभेज ट्रिटमेन्ट प्लान्ट, १२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्याङ्की लगायतका थुप्रै सुविधा राखिएको छ । 

लागत खर्च, समय अवधि र कार्य प्रगतिबारे मन्त्री चौधरीको जिज्ञासामा ठेकेदार कम्पनीका प्रतिनिधि काशीनाथ डोटेलले कोभिडका कारण सामग्री अभाव, एलसी खोल्न शतप्रतिशत मार्जिनको सरकारको नयाँ प्रावधान, अनियन्त्रित मूल्यवृद्धि लगायतका कारण काममा ढिलाइ भएको बताए  । 

२०७६ साल असोजबाट सुरु भएको भवन निर्माणको कुल लागत खर्च ५ अर्ब २ करोड रहेको छ । ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि कोभिडका कारण ६ महिना थप गरिएको हुँदा ०७९ चैत्रसम्म सकिनुपर्ने समयसीमा रहेको छ । आयोजना सुरु भएको ३ वर्ष पुग्नै लाग्दा हालसम्म जम्मा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको टुन्डी शेक कम्पनीले बताएको छ । 

मन्त्रालयका सचिव डा। रमेश सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, उपमहानिर्देशक दिलिप भण्डारी, चक्रवर्ती कण्ड र सचिवालयको टिमसहित भवन निर्माण स्थल पुगेका मन्त्रीले यति लामो अवधिसम्म पनि जम्मा ४५ प्रतिशत मात्र काम भएकोमा असन्तुष्टी व्यक्त गर्दै भने समयसीमाभित्रै तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।